‘बैंकमा थुप्रिएको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदासम्म अर्थतन्त्रमा सुधार हुँदैन’

नेपाल राष्ट्र बैंकले बुधबार आयोजना गरेको ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रियामा अर्थविद्हरूले उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताएका हुन् ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

'The economy will not improve until the money piled up in banks is invested in productive sectors'

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा थुप्रिएको पैसा (अधिक तरलता) उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दासम्म अर्थतन्त्रमा सुधार हुन नसक्ने अर्थविद्हरूले औंल्याएका छन् । ब्याजदर हालसम्मकै न्यून र बाह्य क्षेत्र निकै सबल भएपनि अहिले उत्पादनमूलक क्षेत्रमा लगानी नबढेकाले अर्थतन्त्र सुधार हुन नसकेको उनीहरूको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले बुधबार आयोजना गरेको ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रियामा अर्थविद्हरूले उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थविद् पृथ्वीराज लिगलले कुल राष्ट्रिय बचत बढ्दै जाँदा लगानीको अनुपातचाहिँ कमजोर रहेको बताए । ‘बाह्य क्षेत्रको स्थिति सबल देखिए तापनि अर्थतन्त्रका अन्य परिसूचकहरू निकै कमजोर छ,’ उनले भने, ‘अहिलेको अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी नबढाउँदासम्म अर्थतन्त्र सुधार हुँदैन ।’ अर्थविद् गोविन्द नेपालले विदेशी विनिमय सञ्चितिलाई उत्पादनमूलक र पूर्वाधार विकासको क्षेत्रमा परिचालनका निम्ति सरकारले प्रयास गर्नुपर्ने धारणा राखे ।

‘ब्याजदर निरन्तर घट्दै जाँदा त्यसले पुँजी पलायनलाई प्रश्रय मिल्न सक्छ । यसकारण उपलब्ध वित्तीय स्रोतलाई पूर्वाधार परियोजनामा लगानी बढाउनुपर्ने आवश्यकता छ,’ अर्थशास्त्री कल्पना खनालले भनिन् ।

राष्ट्रिय आयोगका पूर्वसदस्य एवं सह–प्राध्यापक रमेशचन्द्र पौडेलले मुलुकको अर्थतन्त्र शिथिल रहेको उल्लेख गर्दै वैदेशिक लगानी परिचालन र उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका निम्ति वित्त नीति सबल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गभर्नर विश्वनाथ पौडेलले मुलुकमा पूर्वाधार विकासको स्थिति कमजोर रहेको उल्लेख गर्दै पूर्वाधार संरचना विस्तारको निम्ति संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । ‘पूर्वाधार विकासमा वैदेशिक लगानी परिचालनका निम्ति नीतिगत र संरचनागत वातावरण सहज हुनुपर्छ,’ उनले भने ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशालाई समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा खरेलले समष्टिगत अर्थतन्त्रको पृष्ठभूमि, अर्थतन्त्र र वित्तीय क्षेत्रको स्थिति, विद्यमान चुनौती र त्यसलाई सम्बोधन गर्न सरकार र राष्ट्र बैंकबाट भएका नीतिगत प्रयास र दीर्घकालीन सुधारको मार्गचित्रबारे चर्चा गरेका थिए ।

उक्त अवसरमा बैंकका प्रवक्ता एवम् मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वित्तीय क्षेत्रलाई सुदृढ र गतिशील बनाउनका निम्ति राष्ट्र बैंकबाट भइरहेका प्रयासबारे जानकारी दिए ।

कान्तिपुर

Link copied successfully