पैसा धेरै भएपछि १६ दिनका लागि २५ अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Nepal Rastra Bank withdraws 25 billion for 16 days due to excess money

काठमाडौँ — वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज बुधबार राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ झिक्न लागेको छ ।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । तर आज भने निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १६ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ ।

कान्तिपुर

Link copied successfully