जटिल भौगोलिक बनावटले गर्दा मालवाहक सवारीसाधन सञ्चालनमा सधैं समस्या, बाढीले ल्हेन्दे खोलाको पक्की पुल बगाएपछि गत २४ असारबाट रसुवागढी नाका ठप्प
काठमाडौँ — चीन सरकारको अनुदानमा स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नति गर्ने गरी दुई देशका अधिकारीबीच सन् २०१९ मा कार्यान्वयन सम्झौता भएको थियो । तर, अहिलेसम्म स्तरोन्नतिको काम सुरु हुन सकेको छैन । स्याफ्रुबेंसी–रसुवागढीसम्मको दूरी १५ दशमलव ५ किलोमिटर छ । चीनसँग जोड्ने यो सडक दुई लेनमा स्तरोन्नति गर्नुपर्ने हो । बल्ल अहिले स्तरोन्नतिको सुरसार गरिँदै छ ।
गत असारमा आएको बाढी र पहिरोले गर्दा सडकको विभिन्न खण्डमा क्षति पुगेको छ । भोटेकोशीले तलबाट कटान गरिरहँदा तत्काल सडक सञ्चालन गर्न समस्या भएको थियो । अहिले जसोतसो सडक सञ्चालनमा ल्याइएको छ । जटिल भौगोलिक बनावटले गर्दा मालवाहक सवारीसाधन सञ्चालनमा भने समस्या हुने गरेको छ । बाढीले ल्हेन्दे खोलाको पक्की पुल बगाएपछि गत २४ असारबाट रसुवागढी नाका ठप्प छ ।
ल्हेन्दे खोलामा चीनले अस्थायी बेलिब्रिज निर्माणको काम सकिसकेको छ । पुल सञ्चालनमा भने अझै आएको छैन । नाका सञ्चालनमा आएपछि भने साँघुरो सडकका कारण सवारी आवागमनमा समस्या हुने देखिएको छ । नाका चल्दा यो सडक भएर दैनिक एक सय हाराहारी मालवाहक सवारीसाधन ओहोरदोहोर गर्छन् । चिनियाँ कम्पनीले फेब्रुअरीबाट निर्माणको काम थाल्दै छ, जसको निर्माण अवधि ३९ महिनाको हुनेछ ।
चीन सरकारको अनुदानमा २०१९ बाट यसको काम सुरु गर्ने भनिए पनि बीचमा कोभिडले गर्दा ३ वर्ष काम हुन नसकेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘काम थाल्दै गर्दा कोभिड देखा पर्यो, त्यसपछि चिनियाँ टोली नेपाल आएन,’ उनले भने, ‘अहिले निर्माणका लागि आवश्यक क्याम्प बनाउँदै छन् ।’ बस्ने जग्गा नेपाल सरकारले नै उपलब्ध गराएको उनको भनाइ छ । ‘फेरि अर्को समस्याले गर्दा पनि काममा ढिलाइ भयो, त्यहाँ निर्माण सामग्रीको कर छुट गर्नुपर्ने रहेछ,’ उनले भने, ‘यो स्वीकृत गराउन अर्थ मन्त्रालयबाट ६ महिना लाग्यो ।’
विभागका अनुसार ढुंगा, गिट्टी, बालुवामा कर छुट गराइएको हो । अहिले फेरि विद्युत्का पोल हटाउने समस्या थपिएको छ । ‘तर, पहिला सडक नबनाएर राम्रै भए छ,’ उनले भने, ‘नत्र असारको बाढीले भत्काउने रहेछ । भौगोलिक रूपमा अप्ठ्यारो खण्ड छ, त्यसैले बाढीले सडक भत्काएपछि अस्थायी रूपमा सञ्चालनमा ल्याउन पनि धेरै समय लाग्यो ।’ बाढीले सडक भत्काएपछि २०१९ को डिजाइन परिवर्तन गरेर काम गर्न लागिएको जैसीले जनाए । उक्त सडकको ठेक्का चिनियाँ कम्पनी सिचाङ थियान्लु कम्पनीले साढे ६ अर्ब रुपैयाँमा लिएको हो ।
यस सडकको निर्माण थाल्ने तयारी भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी– रसुवागढी सडक योजना कार्यालय विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले बताए । ‘नाका नखुल्दा समस्या भएको छ, नाका खुलेपछि मात्र चीनबाट मेसिन, निर्माण सामग्री आउने हो,’ उनले भने, ‘फेब्रुअरीबाट भने निर्माणकै काम सुरु हुन्छ ।’ चिनियाँ कम्पनीले महिनामा १५ दिन पूरै सवारी आवागमन रोकेर काम गर्न दिनुपर्ने माग गरेको उनले सुनाए ।
‘सवारी आवागमन नरोके सडक बनाउन कठिन छ, अप्ठ्यारो खण्ड बढी पर्छ, पहाड नखनी सडक बनाउन सक्ने अवस्था छैन,’ ओझाले भने, ‘पहाड खन्दाखन्दै सवारीसाधन चलाए दुर्घटनाको जोखिम हुन्छ । त्यसैले सवारी आवागमन रोकेर काम गर्नुपर्ने जानकारी जिल्ला प्रशासन कार्यालय, रसुवालाई गराइसकेका छौं ।’ बाढीले ल्हेन्दे खोलाको पुल बगाएपछि काम गर्न केही समय ढिलाइ भएको उनको भनाइ छ । ‘चिनियाँ पक्ष अहिले काम गर्न आतुर देखिन्छन्,’ उनले भने, ‘अब फेरि रूख काट्न समस्या हुने देखिएको छ ।’ वन र लाङटाङ राष्ट्रिय निकुञ्जले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरे पनि रूख काट्न नदिएको योजना कार्यालयको भनाइ छ ।
‘हाम्रो स्वीकृतिबिना रूख हटाउन पाइँदैन भनेर वन र निकुञ्जबाट चिठी आइरहेको छ,’ ओझाले भने, ‘सडक निर्माणमा कति रूख पर्छन् भनेर योजना कार्यालय, निकुञ्ज र निर्माण कम्पनीले संयुक्त रूपमा रुजु गर्ने तयारी भइरहेको छ ।’ फेरि ईआईए गर्नुपरे निर्माणमा ढिलाइ हुने उनले सुनाए । ‘पहिलाकै स्वीकृत ईआईएअनुसार भए छिटो काम हुने थियो,’ उनले भने, ‘तत्काल रूख नपर्ने ठाउँमा काम हुँदै गर्छ । फेरि यस खण्डमा धेरै रूख पनि पर्दैनन् ।’ यता गल्छी–मैलुङ–स्याफ्रुबेंसी सडकको स्तरोन्नतिमा पनि ढिलाइ भइरहेको छ । उक्त सडकको कुल दूरी ६५ किमि छ, जसलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको हो ।
समग्रमा यस खण्डको प्रगति ८२ प्रतिशत मात्र छ । पहिलो खण्ड हो, गल्छी–मैलुङ । यस खण्डको दूरी ४६ किमि छ । दोस्रो हो, मैलुङ–स्याफ्रुबेंसी । यस खण्डको दूरी १९ किमि छ । ‘दोस्रो खण्डमा काम नभएपछि दुई वर्षअघि ठेक्का तोड्यौं,’ ओझाले भने, ‘पहिरोपछि पहिलाको डिजाइनमा पुनर्विचार (रिभ्यु) गर्न लगाएका छौं, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल हुँदै छ, यो आएपछि ठेक्का गर्छौं ।’ विदुर र वेत्रावतीमा घर टहरा भत्काउन भने अझै समस्या रहेको उनले सुनाए । उक्त सडक दुई लेन र बजार क्षेत्रमा चार लेनको बन्ने छ ।
रसुवागढी नाका अझै सञ्चालनमा आएन
ल्हेन्दे खोलामा आएको बाढीले पक्की पुल बगाएसँगै रसुवागढी नाका २४ असारदेखि ठप्प छ । यस नाकाबाट तयारी वस्तु, स्याउलगायत फलफूल आयात हुन्थ्यो । दिनको करिब एक सय कन्टेनर ओहोरदोहोर गर्थे । धेरैजसो विद्युतीय सवारीसाधन यही नाका हुँदै भित्रिन्थे । तर अहिले आयात बन्द छ । ल्हेन्दे खोलामा बेलिब्रिज जडान गरिसकेको भए पनि नाका खोल्ने सुरसार नदेखिएको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले बताए ।
मंगलवार बेलिब्रिजममा अन्तिम लोड परीक्षण गरेर त्यसपछि दुई देशका अधिकारीहरूको उपस्थितिमा बैठक राखी नाका खोल्ने मिति तय गर्नेबारे चिनियाँ पक्षबाट जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए ।
‘यसबारे आधिकारिक रूपमा चिठी आइसकेको छैन । चीनतर्फ पनि बाढीले क्षति गरेको सडकको काम भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्मको कुराअनुसार डिसेम्बरभित्र नाका खुल्छ ।’ लामो समय नाका बन्द हुँदा स्थानीयको रोजीरोटीसमेत गुमेको भन्सार कार्यालयले जनाएको छ । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ४० अर्ब १६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । नाका ठप्प रहेकाले नयाँ आर्थिक वर्ष सुरु भएयता राजस्व संकलन हुन सकेको छैन ।
