कान्ति राजमार्गमा बाढीले क्षति गरेको १५ महिनापछि बल्ल काम सुरु

पहिरो रोकथामसहित ७९ किमिको ठेक्का, आगामी वर्षभित्र काम सक्नुपर्ने सर्त

पुस ७, २०८२

विमल खतिवडा

Work finally begins on Kanti Highway 15 months after flood damage

What you should know

काठमाडौँ — असोज २०८१ मा आएको बाढीले हेटौंडा–काठमाडौं जोड्ने कान्ति राजमार्गका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सवारी आवागमन ठप्प बन्न पुग्यो । ललितपुर–मकवानपुर जोड्ने बगुवास्थित बागमती नदीको पुलसमेत बाढीले बगाउँदा दुई जिल्लाबीचको सम्पर्क टुट्यो ।

बाढीले क्षति गरेको १५ महिना पुग्दा बल्ल ठेक्का भएर काम सुरु हुँदै छ । कामको गति भने सुस्त छ । जसले गर्दा आउने बर्खामा पनि गत वर्षको जस्तै जोखिम निम्तिने खतरा उत्तिकै छ । आगामी आर्थिक वर्षमा सकिने गरी काम भइरहेको कान्ति राजमार्ग सडक योजना कार्यालयका इन्जिनियर राजन पाण्डेको दाबी छ ।

‘सबै सडक दुई लेनको बन्छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा सकिने गरी सबै खण्डको ठेक्का गरिएको छ ।’ अहिले सडक सुधारको काम भइरहेको छ । ललितपुरको टीकाभैवरदेखि बगुवासम्म २९ किलोमिटर दूरीमा ठेक्का भएर काम भइरहेको छ । यो खण्डको समग्र ठेक्का रकम १ अर्ब ३३ करोड रुपैयाँ छ । 

कन्काई–ब्राइट मल्टी–दिव्य ज्योति जेभीले ९१ करोड रुपैयाँमा बगुवा–टाखुर्चे र तीनपाने–टीकाभैरव खण्डको ठेक्का लिएको हो । तीनपाने–टाखुर्चे खण्डको ठेक्का भने मार्सेली–रेड अर्थ–प्रकाश तारा जेभीले १८ करोड रुपैयाँमा लिएका हुन् । केही खण्डमा भने छुट्टै पहिरो नियन्त्रणका लागि ठेक्का गरेर काम भइरहेको इन्जिनियर पाण्डे बताउँछन् । ‘सडक निर्माण र पहिरो नियन्त्रणको ठेक्का छुट्टाछुट्टै गरिएको छ,’ उनले भने, ‘ठेक्का लागेका दुवै खण्डमा काम भइरहेको छ ।’ 

बगुवादेखि हेटौंडा बुद्धचोकसम्म ५० किमिमा पनि ठेक्का भएर काम भइरहेको इन्जिनियर पाण्डेले जनाए । यस खण्डको पहिरो व्यवस्थापनसहितको ठेक्का रकम ७४ करोड रुपैयाँ छ, जहाँ चुच्चेखोला–ठिंगन सडक खण्डको ठेक्का पाण्डे–कान्तिपथ–डीसीसीपीएल जेभीले २८ करोड रुपैयाँमा लिएका हुन् । ठिंगनदेखि महादेवटार खण्डको ठेक्का सर्वशक्ति–पञ्चकन्या–सनस्टार जेभीले ७ करोड रुपैयाँमा लिएका छन् ।

‘हेटौंडा बजारमा फुटपाथ निर्माणको काम सकिएको छ,’ इन्जिनियर पाण्डेले भने, ‘यो खण्ड भएर दिनहुँ पाँच सयभन्दा बढी चारपांग्रे सवारी ओहोरदोहोर गर्छन् ।’ यो सडक पूर्वी तराई जाने सवारीका लागि उपयुक्त बन्दै आएको छ । 

‘आउने बर्खामा सास्ती खेप्नु पर्दैन,’ उनले भने, ‘अहिले स्ट्रक्चर र ढलानको काम हुँदै छ ।’ मकवानपुरतर्फ बगुवा–ठिगन खण्डमा ९ सय मिटर सडक ढलान गरिएको इन्जिनियर पाण्डेको भनाइ छ । ‘चालु आर्थिक वर्षमा सात किमि सडक ओभरले, दुई किमि नयाँ कालोपत्र र तीन किमि ढलान गरेर सडक निर्माण गर्ने लक्ष्य छ,’ उनले भने, ‘बगुवामा पुल निर्माणको काम पनि भइरहेको छ ।’ यो खण्ड भएर मालवाहक, यात्रुवाहक र निजी सवारीसाधन ओहोरदोहोर गर्छन् । 

दुग्ध पदार्थ बोकेका ट्यांकर, कुखुरा र तरकारी बोकेका गाडी पनि यही मार्ग हुँदै राजधानी भित्रिन्छन् । यो दुई लेनको सडक हो । पहाड कटिङ गर्न नसकेको खण्डसहित करिब दुई किलोमिटर सडक अहिले पनि एक लेन नै छ । यस खण्डमा पनि नयाँ ठेक्काअनुसार सडक सुधारको काम गरिने पाण्डेले जनाए । अहिले चालु रहेको पुलभन्दा तीन मिटर तल पक्की पुल बन्दै छ, जसको ठेक्का केएम इन्जिनियर्स बिल्डर्सले १८ करोड रुपैयाँमा असार २०८३ मा सक्ने गरी लिएको पाण्डेले बताए । 

मुख्य पहिरोको काम आउने बर्खाअघि नै नियन्त्रण गरिसकिने सडक विभागका महानिर्देशक विजय जैसीको भनाइ छ । ‘धेरै ठाउँमा पहिरोको समस्या छ,’ उनले भने, ‘त्यसैले बर्खाअघि सक्ने गरी पहिरो नियन्त्रणमा विशेष ध्यान दिएका छौं, सडक सुधारको काम पनि भइरहेको छ ।’ नेपाली सेनाको अगुवाइमा २०१३ सालमा सुरु गरी २०१६ सालमा उक्त राजमार्गको पहिलो पटक ट्र्याक खोलिएको थियो । यस राजमार्गले संघीय राजधानी काठमाडौं र बागमती प्रदेश राजधानी हेटौंडा जोडेको छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully