३४ देशसँगको व्यापार नाफामा, ११४ देशसँग घाटामा

नेपालले भारत, चीन, अर्जेन्टिना, युएई, इन्डोनेसिया, थाइल्यान्ड, ब्राजिल, मलेसिया, अष्ट्रेलिया, कतार, क्यानडा, जापानलगायत मुलुकसँग घाटाको व्यापार गरिरहेको छ ।

पुस ७, २०८२

सीमा तामाङ

Trade with 34 countries in profit, with 114 countries in loss

What you should know

काठमाडौँ — नेपालले १४८ भन्दा बढी देशसँग व्यापार गर्दै आएपनि के सबै देशसँगको व्यापार नाफामा छ त ? भन्सार विभागको तथ्याकंले भन्छ, नेपालले ३४ मुलुकसँग नाफाको व्यापार गर्छ भने ११४ मुलुकसँग घाटाको व्यापार ।

भन्सार विभागका अनुसार डेनमार्क, रोमानिया, स्वीडेन, नाइजर, इराक, सामोवा, आइसल्यान्ड, सेसल्स, न्यू क्यालोडोनिया, फिजी, लेबनान, नर्वे, कोलम्बियालगायत मुलुकसँग नाफाको व्यापार गर्दै आएको छ । 

डेनमार्कबाट ६ करोड ९७ लाख ३५ हजार रुपैयाँको वस्तु आयात गर्दा नेपालले ४५ करोड ३३ लाख ४ हजार रुपैयाँको निर्यात गरेको छ । रोमानियासँग ६ करोड ३४ लाख ६९ हजार रुपैयाँले नाफाको व्यापार गरेको छ । रोमानियाबाट १ करोड ७८ लाख ३० हजार रुपैयाँको वस्तु आयात गर्दा नेपालले ८ करोड १२ लाख ९९ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

भारत, चीन, अर्जेन्टिना, युएई, इन्डोनेसिया, थाइल्यान्ड, ब्राजिल, मलेसिया, अष्ट्रेलिया, कतार, क्यानडा,जापानलगायत मुलुकसँग घाटाको व्यापार गरिरहेको छ ।

विभागका अनुसार भारतबाट ४ खर्ब ३४ अर्ब रुपैयाँको वस्तु ल्याउँदा नेपालले ९५ अर्ब ४ करोड २० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । चीनबाट १ खर्ब ६३ अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालले ४६ करोड ६८ लाख रुपैयाँको निर्यात गरेको छ । विभागले १ लाख रुपैयाँभन्दा कम व्यापार गर्ने मुलुकको तथ्यांक मुलुकअनुसार छुट्टै सार्वजनिक गर्दैन । 

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully