कम्पनीद्वारा निष्कासित आईपीओको सबैभन्दा ठूलो हिस्सा (आम–सर्वसाधारणतर्फ) को आवेदन अवधि पुस ७ देखि ११ गतेसम्म तोकिएको छ ।
What you should know
काठमाडौँ — रिलायन्स स्पिनिङ मिल्सले जारी गरेको प्राथमिक सेयर निष्कासन(आईपीओ) मा सर्वसाधारणले सोमबारमात्र करिब ५४ लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि ९ लाख २४ हजार ७ सय ६८ कित्ता सेयर निष्कासन खुला गरेको छ ।
यसमा पहिलो दिन (सोमबार) १ लाख ९ सय १७ आवेदकबाट ५३ लाख ९८ हजार १ सय कित्ता सेयरका लागि आवेदन परेको सीडीएससीको तथ्यांकमा उल्लेख छ । ‘आवेदकबाट ४ अर्ब ४३ करोड ७ लाख ६० हजार ४ सय ८० रुपैयाँ जम्मा भएको छ,’ सीडीएससीले भनेको छ ।
यसअघि वैदेशिक रोजगारी र म्युचुअल फन्डतर्फ १७ गुणा बढी आवेदन परेको कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको थियो ।
कम्पनीले जारी पुँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गरेको छ ।
बुक विल्डिङ विधिबाट प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताको लागि बाँडफाँट भइसकेको छ । सर्वसाधारण समूहमा निष्कासन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम–सर्वसाधारणका लागि खुलेको हो ।
कम्पनीद्वारा निष्कासित आईपीओको सबैभन्दा ठूलो हिस्सा (आम–सर्वसाधारणतर्फ) को आवेदन अवधि पुस ७ देखि ११ गतेसम्म तोकिएको कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
![Reliance IPO receives nearly 5.4 million shares on first day [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/relience-mills-2-27102025124326-1000x0.jpg&w=1001&h=0)