नारायणगढ–हेटौंडा र मुग्लिन–आँबुखैरेनी सडक स्तरोन्नति ठेक्का फागुनमा

स्तरोन्नति गर्न लागिएका सडकखण्डमा नयाँ टहरा नबनाउन आयोजना निर्देशनालयको आग्रह

पुस ६, २०८२

विमल खतिवडा

Narayangadh-Hetauda and Muglin-Ambukhaireni road upgrade contract to be awarded in Falgun

What you should know

काठमाडौँ — नारायणगढ–हेटौंडा र मुग्लिन–आँबुखैरेनी सडक स्तरोन्नतिका लागि फागुन दोस्रो साताभित्र ठेक्का आह्वान गरिने भएको छ । त्यसका लागि नारायणगढ–हेटौंडा सडक खण्डको डिजाइन फाइनल हुने चरणमा छ ।

यही खण्डको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) माथि पनि वन तथा वातावरण मन्त्रालयबाट अन्तिम टुंगो लगाइँदै छ । दुई साताभित्र त्यसमाथि छलफल गरेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइने आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए ।

‘डिजाइन स्वीकृतिका लागि आउँदो बुधबार सडक विभागसँग छलफल गर्दै छौं,’ उनले भने, ‘डिजाइन स्वीकृत भएपछि बढीमा फागुन दोस्रो साताभित्र ठेक्का आह्वान गर्ने तयारी छ ।’ यसअघि एसियाली विकास बैंकसँग पुस अन्तिम र माघ पहिलो साताभित्र ऋण सम्झौताबारे छलफल भएर टुंगो लाग्ने ढकालको भनाइ छ । आयोजना कार्यालयले सडक स्तरोन्नति गर्ने खण्डमा नयाँ संरचना नबनाउन सार्वजनिक सूचना निकालेर अनुरोध गरेको जनाएको छ । 

‘अहिले भइरहेकै संरचना सडक स्तरोन्नतिमा परे त्यसको क्षतिपूर्ति दिइनेछ,’ उनले भने, ‘सूचना निकालिसकेपछि पनि पुनः नयाँ संरचना बनाए त्यसको क्षतिपूर्ति दिइने छैन, कसैले घरटहरा बनाए त्यो हटाएर काम गर्छौं ।’ उक्त सूचना गत १९ मंसिरमा निकालिएको आयोजनाले बताएको छ । सूचनाअनुसार बस्ती र बसोबास भएको स्थानमा चार लेनको सडक बन्नेछ । त्यस्तै एक/एक लेन सर्भिस लेन निर्माण गरिनेछ । सहरी क्षेत्रमा भने थप दुई/दुई लेनको सर्भिस लेन, नाली, फुटपाथ र पैदल यात्रु हिँड्ने र सवारीसाधन ओहोरदोहर गर्ने छुट्टाछुट्टै पुल बनाइनेछ । 

सहज निर्माणका लागि विद्युत्, पोल, ढल खानेपानी एवं अन्य सार्वजनिक संरचना स्थानान्तरण गर्न र थप निर्माण नगर्न आयोजना कार्यालयले सार्वजनिक रूपमा सूचना जारी गर्दै अनुरोध गरेको हो । मुग्लिन बजारबाट पारि दुई र वारि दुई लेन सडक बन्नेछ । 

‘नारायणगढ–हेटौंडा सडक अन्तर्गत हेटौंडाको राप्ती पुलबाट चितवनको भरतपुरको गोन्द्राङसम्म ७० किलोमिटरमा सडक स्तरोन्नतिको काम हुन्छ,’ ढकालले भने, ‘मुग्लिन बजार पारिबाट दुई लेन सडक बनाएर मर्स्याङ्दीको पावरहाउस कट्नसाथ सडक जोडिनेछ ।’ मुग्लिन–आँबुखैरेनी सडक साढे ८ किमि छ । यसको निर्माण गर्न साढे दुई वर्ष लाग्ने आयोजनाको भनाइ छ । आँबुखैरेनीदेखि पोखरासम्म भने अहिले सडक स्तरोन्नतिको काम केही खण्डमा सकिन लागेको र केहीमा सकिने चरणमा छ । 

मुग्लिनबाट आँबुखैरेनीतर्फ जाने सडक भने साँघुरो भएर पहिलो लटमा स्तरोन्नतिको काम थालिएन । अत्यधिक सवारी चाप हुने भए पनि उक्त खण्डमा मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस रहेको र थप पहाड कटिङ गरेर काम गर्न जोखिम रहेकाले उक्त खण्डमा वारि र पारि २–२ लेन सडक निर्माण गर्न लागिएको हो । पाँच किमि सडक पारिबाट बन्नेछ । 

मुग्लिन बजारमुनि र मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस कट्नसाथ दुई वटा पक्की पुल निर्माण गरिनेछ । मर्स्याङ्दी पावरहाउसबाट करिब ४ सय मिटर पर पक्की पुल बन्नेछ । त्यसपछि जामुनेसम्म ४ लेन सडक निर्माण गरिनेछ ।

एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा यी दुबै सडक खण्डको स्तरोन्नति गर्न लागिएको हो । नारायणगढ–हेटौंडा खण्डअन्तर्गत चितवनको टिकौली जंगलमा भने दुई किमि लामो फ्लाइओभर निर्माण हुनेछ । यति लामो फ्लाइओभर पहिलो पटक संरक्षित क्षेत्रभित्र निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ । यसको निर्माणका लागि करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

यसमा एडीबीले करिब तीन अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने समझदारी भएको छ । फ्लाइओभर तीन–तीन लेनको हुनेछ । यसमा दुवैतर्फ एक–एक लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने खालको बन्नेछ । बाँकी चार लेनमा दुई–दुई लेनमा दुवैतर्फ सवारी ओहोरदोहोर गर्नेछन् । फ्लाइओभरमा ६७ पिलर मात्र रहनेछ । फ्लाइओभर माथिबाट सवारीसाधन गुड्नेछन् भने त्यसको तलबाट वन्यजन्तु ओहोरदोहोर गर्न मिल्नेछ । 

आँबुखैरेनी र नारायणगढ–हेटौंडा खण्डको स्तरोन्नति गर्न ५३ अर्ब रुपैयाँ लाग्ने आयोजना कार्यालयको अनुमान छ । यता बाराको पथलैयादेखि नारायणगढसम्मको एक सय किमि सडकको स्तरोन्नति पनि एडीबीकै ऋणबाट गरिँदै छ । उक्त सडकको डिजाइनको काम सकिएको र यस खण्डको स्तरोन्नतिको काम हेटौंडा–नारायणगढको ठेक्का गरिसकेपछि मात्र गरिने आयोजनाले बताएको छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully