जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको ५ अर्ब १८ करोड बिमा भुक्तानी

गत सातासम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी ३ अर्ब ८२ करोड १० लाख रुपैयाँ सम्पत्ति बिमा (घर सम्पत्ति) अन्तर्गतको छ । सम्पत्ति बिमामा घर, अपार्टमेन्टलगायत स्थिर सम्पत्ति पर्छन् ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Insurance payout of 5.18 billion rupees for damages caused during the Genji demonstration

What you should know

काठमाडौँ — जेनजी आन्दोलन र प्रदर्शनका क्रममा गत भदौ २३ २४ मा भएको भौतिक संरचना क्षतिको दाबीमध्ये हालसम्म ५ अर्ब १८ करोड ४१ लाख रुपैयाँ बिमा भुक्तानी भएको छ । क्षतिमध्ये २३ अर्ब ४४ करोड ९७ लाख रुपैयाँ बराबरको दाबी परेकामा गत सातासम्म सवा ५ अर्ब रुपैयाँ बराबरको बिमा भुक्तानी भएको हो ।

यो रकममा अग्रिम भुक्तानीसमेत रहेको प्राधिकरणले प्रस्ट्याएको छ । भुक्तानी रकम कुल दाबीको करिब २२.१० प्रतिशत मात्र हो । गत सातासम्म बिमा कम्पनीहरूमा ३ हजार ३ सय ३ दाबी परेका छन् । बिमा कम्पनीले गरेको दाबी भुक्तानीमा नियामक निकाय बिमा प्राधिकरणले सन्तोषजनक भएको धारणा राखेको छ ।

गत सातासम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी ३ अर्ब ८२ करोड १० लाख रुपैयाँ सम्पत्ति बिमा (घर सम्पत्ति) अन्तर्गतको छ । सम्पत्ति बिमामा घर, अपार्टमेन्टलगायत स्थिर सम्पत्ति पर्छन् । यो बिमामा ७ सय १० वटा दाबीमा १९ अर्ब २ करोड ८५ लाखको माग दाबी परेको छ । सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो। जसमा १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । 

ठेकेदार तथा इन्जिनियरिङ बिमामा ७ करोड ४९ लाख, पारवहन बिमामा १ करोड ५४ लाख र अन्य बिमामा ५ करोड ४९ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । खासगरी ठूला क्षतिमा मूल्यांकन र प्रक्रियागत काम नसकिएकाले परेको दाबीमध्ये कम मात्र बिमा भएको देखिएको बिमा कम्पनीहरूले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully