कुलेखानीमा अटोमेसन : अब म्यानपावरबिनै चल्छन् मेसिन

नेपाली प्राविधिकको नेतृत्वमा करिब २५ करोड लागतमा कुलेखानी जलविद्युत् आयोजनाको मुख्य दुई युनिटमा अटोमेसन जडान कार्य तोकिएको समयमा सम्पन्न भएको छ ।

पुस ६, २०८२

प्रताप विष्ट

Automation in Kulekhani: Now machines operate without manpower

What you should know

काठमाडौँ — कुलेखानी जलविद्युत् आयोजनाको पहिलो र दोस्रो युनिटका मेसिनमा अटोमेसन जडान गर्ने कार्य सकिएको छ ।

नेपाली प्राविधिकहरू संलग्न भएर गरिएको अटोमेसन मेसिन जडान तोकिएकै समयमा सम्पन्न भएको हो । कुलेखानी जलविद्युत् आयोजना ‘सटडाउन’ गरेर कुलेखानी प्रथम र दोस्रो युनिटमा अटोमेसन जडान कार्य शनिबार सकिएको हो । असोज पहिलो साताबाट जडान सुरु गरिएकामा ५५ दिनमा सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरण अटोमेसन आयोजना प्रमुख उमंग कार्कीले बताए । ‘अब कम्प्युटरबाटै कुलेखानी पहिलो र दोस्रोका चारवटा मेसिन सञ्चालन भइरहेका छन् । अब मेसिन सञ्चालन गर्न म्यानपावर चाहिँदैन,’ उनले भने । 

अटोमेसन जडान गर्नुअघि विद्युत् उत्पादन गर्न म्यानपावर प्रयोग गर्नुपर्थ्यो । अटोमेसन जडान भएपछि विद्युत उत्पादन र बन्द गर्ने कार्य कम्प्युटरबाटै हुन्छ । 

करिब २५ करोडको लागतमा अटोमेसन जडान गरिएको आयोजना प्रमुख कार्कीले बताए । ‘दक्ष जनशक्ति २४ सै घण्टा खटिएर तोकिएकै समयमा काम सकिएको हो,’ उनले भने ।

जापानको एक कम्पनीले कुलेखानी जलविद्युत आयोजनाको पहिलो र दोस्रो युनिटका चारवटा मेसिनमा अटोमेसन जडान गर्न ७५ करोड रुपैयाँ माग गरेको थियो । एनरिच हाइड्रो कम्पनीले नेपाली प्राविधिक प्रयोग गरेर करिब २५ करोड रुपैयाँमै उक्त कार्य सम्पन्न गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अटोमेसन जडानका लागि गत असोजको दोस्रो सातादेखि नै कुलेखानी जलविद्युत आयोजना ‘सटडाउन’ गरिएको थियो । अटोमेसन जडान कार्य सकिएपछि आयोजनाले आवश्यक परेको अवस्थामा विद्युत् उत्पादन गर्ने गरेको छ ।

वर्षाको समयमा कुलेखानीबाट विद्युत् उत्पादन गर्नु नपर्ने भएकाले असोजको दोस्रो सातादेखि ‘सटडाउन’ लिएर मर्मतसम्भारलगायत अटोमेसन जडान कार्य गरिएको हो । कुलेखानी प्रथमबाट नै दोस्रो पनि अटोमेटिक ढंगले सञ्चालन गर्ने तयारी भइरहेको अटोमेसन आयोजना प्रमुख कार्कीले बताए ।

Automation in Kulekhani: Now machines operate without manpower

करिब ४३ वर्षअघि निर्माण गरिएको कुलेखानी प्रथम र दोस्रो आयोजना पुरानो मोडेलका भएकाले तिनमा अटोमेसन जडान गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’को रूपमा रहेको कुलेखानी आयोजना सुक्खायाममा सञ्चालनमा ल्याउने गरिन्छ । उक्त समयमा विद्युत् खपतको आधारमा आयोजना सञ्चालन गरिन्छ । इन्द्रसरोवरमा संकलित पानी प्रयोग गर्ने उद्देश्यले कुलेखानी पहिलो, दोस्रो र तेस्रो आयोजना निर्माण गरिएको हो ।

भरिएन कुलेखानी

कुलेखानीको जलाधार क्षेत्रमा वर्षा कम भएकाले यो वर्ष कुलेखानी जलाशय भरिएको छैन । जलाशयमा आइतबार बिहान ९ बजेसम्म १ हजार ५ सय २० दशमलब ५९ सेन्टिमिटर पानीको सतह रहेको छ । शनिबार बिहान यसै समयमा १ हजार ५ सय २० दशमलब ५३ सेन्टिमिटर पानीको सतह रहेको थियो ।

कुलेखानी जलाशयमा अहिले २४ घण्टामा मुस्किलले ५–६ सेन्टिमिटर पानीको सतह बढ्ने गरेको छ । कुलेखानीमा १ हजार ५ सय ३० मिटरसम्म पानी अट्ने क्षमता रहेको छ । जलाशय भरिन अझै करिब साढे ९ मिटर बाँकी छ ।

यो वर्ष जलाशय भरिने सम्भावना नै टरिसकेको कुलेखानी प्रथमका एक प्राविधिकले जनाए । ‘जलाशय नभरिएका कारण सुक्खायाममा विद्युत उत्पादनमा समस्या आउने छ,’ उनले भने ।

गत वर्ष कुलेखानी भरिएर ड्याम खोलिएको थियो । जसका कारण सिमखोलाको पुल र सिस्नेरीका बस्तीसहित सडकमा क्षति पुगेको थियो । कुलेखानी जलाशय ३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइ रहेको छ ।

जलाशयमा संकलन गरिएको पानीबाट तीनवटै आयोजनाले विद्युत् उत्पादन गर्छन् । २०३९ सालमा इन्द्रसरोवरको निर्माण एक करोड २० लाख अमेरिकी डलरको लागतमा गरिएको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully