नेपाल–भारतको स्टार्टअप साझेदारी थप बलियो बनाउन पहल

नेपालको सूचना प्रविधि निर्यात ५ सय मिलियनदेखि १ बिलियन डलरको हाराहारीमा रहेको अनुमान

पुस ५, २०८२

कान्तिपुर संवाददाता

Initiatives to further strengthen Nepal-India startup partnership

What you should know

काठमाडौँ — नेपालको स्टार्टअप इकोसिस्टम विकास र विस्तारका लागि भारतीय स्टार्टअपहरूसँगको साझेदारी महत्त्वपूर्ण हुने दुवै देशका उद्यमीहरूले बताएका छन् । ललितपुरको होटल रोयल टुलिपमा शनिबार आयोजित ‘स्टार्टअप समिट नेपाल २०२५’ मा सहभागी वक्ताले यस्तो साझेदारीले भारतमा झैं नेपालमा पनि स्टार्टअप युनिकर्न बनाउने वातावरण तयार गर्ने औंल्याए ।

नेपाल र भारत दुवै देशका युवा पुस्ताको ऊर्जा सराहनीय छ, स्टार्टअप क्षेत्रमा यसको सदुपयोग गर्न सकिन्छ, भारतले स्टार्टअपलाई आर्थिक विकासका आधारमा रूपमा व्यवहार गर्छ : मन्जिभसिंह पुरी, नेपालका लागि पूर्वभारतीय राजदूतद स्टार्टअप नेटवर्क र इन्डिया–नेपाल सेन्टर अफ द पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (पीएचडीसीसीआई) ले आयोजना गरेको स्टार्टअप सम्मेलनमा भारत सरकारले स्टार्टअप क्षेत्रलाई दिएको प्राथमिकता र नेपालमा स्टार्टअपले व्यवसाय विस्तार (स्केलिङ) मा कसरी समस्या झेल्नुपर्छ भन्नेबारे चर्चा गरियो । नेपाल र भारत दुवै देशका युवा पुस्ताको ऊर्जा सराहनीय रहेको र स्टार्टअप क्षेत्रमा यसको सदुपयोग गर्न सकिने नेपालका लागि पूर्वभारतीय राजदूत मन्जिभसिंह पुरीले बताए । भारत सरकारले स्टार्टअपलाई आर्थिक विकासमा आधारका रूपमा व्यवहार गर्ने उनले जनाए ।

कार्यक्रमको प्यानल छलफल ‘नेपालको १०० मिलियन डलरको स्टार्टअप अर्थतन्त्रका लागि भारतसँगको साझेदारी’ विषयमा वक्ताहरूले यहाँ भएका पहल, सीमितता र सम्भावना उजागर गरे । सत्रमा सीजी कोर ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले नेपाल र भारतलाई ‘स्वाभाविक साझेदार’का रूपमा चित्रण गरे । यो साझेदारीमार्फत स्वामित्व नेपालमै राखेर पुँजी विश्वव्यापी हुन सक्ने व्यवसायको सम्भावनाबारे उल्लेख गर्दै उनले कुनै नेपाली स्टार्टअप भारतीय बजारमा टिक्न सक्छ भने त्यो विश्वको जुनसुकै कुनामा पनि सफल हुने दाबी गरे । आगामी अर्बपति कुनै एउटा परिवार वा कम्पनीबाट नभई ‘स्टार्टअप इकोसिस्टम’बाटै जन्मने विश्वाससमेत चौधरीले व्यक्त गरे ।

भारतमा ओयोका संस्थापक रितेश अग्रवाल २६ वर्षको उमेरमै अर्बपति बने, नीरज सिंह नयाँ युनिकर्न कम्पनी नेतृत्व गरिरहेका छन्, हामी पनि कसो त्यो पथमा नजाउँला र ! : वरुण चौधरी, प्रबन्ध निर्देश, सीजी कोर ग्लोबल‘भारतमा ओयोका संस्थापक रितेश अग्रवाल २६ वर्षको उमेरमै अर्बपति बने, नीरज सिंह नयाँ युनिकर्न कम्पनी नेतृत्व गरिरहेका छन्, हाम्रो छिमेकमै यस्ता उदाहरण हुँदा हामी पनि कसो त्यो पथमा नजाउँला र,’ चौधरीले भने, ‘स्टार्टअपहरूले एउटा निश्चित प्रणालीमा रहेर काम गरे भने यही इकोसिस्टमबाट युनिकर्नहरू निस्कनेछन् ।’ तर, अबका ठूला उपलब्धि एकल प्रयासमा नभई साझेदारीबाट मात्र सम्भव रहेको र हामीले भारतलाई छिमेकी मात्र नभई साझेदारका रूपमा हेर्नुपर्ने उनले औंल्याए ।

नेपाल–इन्डिया सेन्टर, पीएचडीसीसीआई लगायतका वरिष्ठ सल्लाहकार अतुल के ठाकुरले मध्यस्थता गरेको छलफलमा नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का दिलीप भट्टराईले आफूहरू सहजीकरणमा मात्र सीमित नरही अब लगानी प्रवर्द्धनमा पनि अग्रसर भइरहेको जनाए । भारतको दिल्लीमा निक्कीको कार्यालय स्थापना हुन लागेको र भारतीय दूतावास तथा दुवै देशका सरकारसँगको सहकार्यमा नेपालमा ठूलो इन्क्युवेसन सेन्टर निर्माण गर्ने योजना रहेको उनले सुनाए ।

नेपालको सूचना प्रविधि निर्यात ५ सय मिलियनदेखि १ बिलियन डलरको हाराहारीमा रहेको अनुमान गर्दै यस क्षेत्रमा भारतसँगको साझेदारीले ठूलो फड्को मार्न सकिने सूचना प्रविधि क्षेत्रका विज्ञ हेमपाल श्रेष्ठको धारणा छ । नेपालको वर्तमान सूचना प्रविधि क्षेत्रको अवस्था सन् १९८० को दशकको भारतको जस्तै रहेको र यसमा विकासको निकै ठूलो सम्भावना रहेको उनले औंल्याए । ‘हामीले आफूलाई ३ करोड जनसंख्याको सीमाभित्र बाँध्नु हुँदैन, हामीसँग १ सय करोडभन्दा धेरै जनसंख्या भएको बजार (भारत) सँग जोडिने अवसर छ,’ श्रेष्ठले भने, ‘जलविद्युत्, पर्यटन, कृषिलगायत क्षेत्रमा हामीले धेरै प्रयास गरे पनि सूचना प्रविधिमा अब हामीले छोटो समयमै ठूलो स्तरमा विस्तार गर्न सक्ने सम्भावना छ ।’

स्टार्टअपहरूलाई प्रवर्द्धन गर्न र नयाँ सोचहरूलाई ‘इन्क्युबेट’ गर्न मिडियाले विगत एक दशकदेखि नै सहयोग गर्दै आएको सञ्चारमाध्यमको भूमिकाबारे बोल्दै कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले औंल्याए । ‘हामीले ६/७ वर्षअघि कविर जोशीसँग मिलेर नेक्स्ट भेन्चर स्टार्टअप प्रवर्द्धन कार्यक्रम थाल्दा मानिसले स्टार्टअप कसरी अगाडि बढ्छन् भन्नेबारे खासै सोचेका पनि थिएनन्,’ स्वाँरले भने, ‘कुनै पनि स्टार्टअप सफल हुन युवाहरूको नवीन सोच, लगानीकर्ताहरूको साथ र मिडियाको सहयोग चाहिन्छ । मिडियाले नवीनतम व्यावसायिक सोचहरूलाई समुदायमा पुर्‍याउन र प्रवर्द्धन गर्न मद्दत गर्छ । यसले बजारलाई जीवन्त बनाउँछ र युवाहरूमा उद्यमशीलताको विकास गर्छ ।’

स्टार्टअपहरूका लागि सामाजिक सञ्जाल शक्तिशाली माध्यम भए पनि व्यावसायिक विश्वसनीयताका लागि स्थापित मिडियासँगको पहुँच आवश्यक हुने मिडिया नाइनकी सम्पादक चारु चड्डाले सुझाइन् । सम्मेलनमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख अतिथिका रूपमा सम्बोधन गरे । कार्यक्रममा स्टार्टअप पिचिङ प्रतिस्पर्धा पनि आयोजना गरिएको थियो । त्यसमा युवा उद्यमीहरूले आफ्ना नवीन व्यावसायिक योजना निर्णायक मण्डलसामु प्रस्तुत गरे ।

कान्तिपुर

Link copied successfully