‘यातायात पूर्वाधार र विद्युत् क्षेत्रमा लगानी बढिरहेकाले आत्तिनुपर्ने अवस्था छैन, सबै क्षेत्रका समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंक प्रयासरत छ ।’
What you should know
पर्सा — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वराज पौडेलले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किएको बताएका छन् ।
‘अर्थतन्त्रको रूपान्तरणका लागि केन्द्र र मधेश प्रदेशमा नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक सरोकारवालाहरूसँगको अन्तरक्रिया शुक्रबार साँझ वीरगन्जमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यातायात पूर्वाधार र विद्युत् क्षेत्रमा लगानी बढिरहेकाले आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने, ‘सबै क्षेत्रका समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंक प्रयासरत छ ।’ गभर्नर पौडेलले अर्थतन्त्रमा अहिले स्रोतको भन्दा पनि आत्मविश्वास वा मनोबलको कमी देखिएको बताए ।
फरक प्रसंगमा उनले बैंकहरूलाई साना र पहुँचविहीन समुदायसम्म कर्जा पुर्याउन र निजी क्षेत्रसँगको सम्बन्ध सुमधुर बनाउन निर्देशन समेत दिए ।व्यवसायका लागि ऋण पाउनु सबैको अधिकार हो भन्दै उनले ऋणका लागि कसैलाई भनसुन गर्नुपर्ने अवस्था आउन नहुने बताए । मधेश प्रदेशमा पर्यटन क्षेत्रमा नयाँ अवसरहरू रहेको र त्यसमा थप मिहिनेत आवश्यक रहेको उनको भनाइ थियो ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बैंकहरूमा तरलता बढे पनि साना तथा मझौला व्यवसायीले ऋण पाउन नसकेको गुनासो गरे । उनले ऋण ठूला साहुहरूको पहुँचमा मात्र सीमित रहेको बताउदै साना व्यवसायीलाई वास्ता नगर्ने गरिएको आरोप लगाए । संघका पूर्वअध्यक्ष अशोक वैद्यले सरकार र निजी क्षेत्रबीच विश्वासको संकट रहेको र यसलाई अन्त्य गर्नुपर्ने बताए । प्राइम कमर्सियल बैंकका प्रमुख सूर्य प्रसाद तिवारीले कोभिडपछिको अवस्थामा बैंकहरूले पनि कर्जा असुलीमा गम्भीर चुनौती भोगिरहेको बताए ।
नेपाल राष्ट्र बैंक वीरगन्जका निर्देशक सुशील पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका अनुसन्धान निर्देशक प्राध्यापक डा रामशरण खरेलले वर्तमान आर्थिक स्थिति र मौद्रिक नीतिको भूमिकाको विषयमा प्रस्तुतीकरण गर्दै अहिले अर्थतन्त्र अनुकुल अवस्थामा रहेको बताए ।
