यो साता पाँच दिन सेयर कारोबार भएकोमा तीन दिन नेप्से बढ्यो, दुई दिन घट्यो ।
काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय १५.०३ बिन्दुमा उक्लेको छ ।
यो साता पाँच दिन सेयर कारोबार भएकोमा तीन दिन नेप्से बढ्यो, दुई दिन घट्यो । यसअनुसार आइतबार नेप्से १२.५० अंक र बिहीबार १०.६६ अंकले घट्यो । बाँकी तीन दिन (सोमबार, मंगलबार र बुधबार) नेप्से बढेको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ६३ कम्पनीको सेयर मूल्य बढ्यो, १९४ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो । यस दिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से दोहोरो अंकले घटेको हो । बिहीबार स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १०/१० प्रतिशतले बढेपछि कारोबार नियन्त्रणका लागि सर्किट ब्रेकर लागेको थियो । सो दिन सिन्धु विकास बैंकको सेयर मूल्य पनि ९.५६ प्रतिशतले बढ्यो ।
बिहीबार बाराही जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ४.७६ प्रतिशतले घट्यो । यससँगै बिहीबार १९४ वटा कम्पनीको सेयर मूल्य पनि घटेको नेप्सेको तथ्यांक छ । बिहीबार कुल ६४ हजार २९ पटकको सेयर कारोबारमा १ करोड १२ लाख ९१ हजार ४ सय १ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो । बुधबार सेयर बजारमा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार र निर्जीवन बिमा उपसमूहको परिसूचक सामान्य बढे । होटल तथा पर्यटन उपसमूहको परिसूचक स्थिर रह्यो । बाँकी सबै उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ । कारोबार रकमका आधारमा भने बाराही जलविद्युत् कम्पनी सबैभन्दा अघि छ । प्रतिकित्ता ५ सय ३४ रुपैयाँका दरले यो कम्पनीको २४ करोड ७२ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार मात्रै सेयर बजारको आधार कुल बजार पुँजीकरण १८ अर्बले खुम्चिएको छ । बुधबार ४४ खर्ब ९ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार घटेर ४३ खर्ब ९० अर्ब रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।
