निकासी पैठारी संघ र चेम्बरबीच व्यवसायको अवस्था र सम्भावनाबारे छलफल

संघका अध्यक्ष शिवकुमार अग्रवालले नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी संघ क्रमशः ७५ र ५० वर्षको इतिहास बोकेका संस्थाहरू भएकाले दुवैका सरोकारका विषय लगभग समान रहेकोले सहकार्य गरेर अघि बढ्ने संघको उद्देश्य रहेको बताए ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Discussion between the Import-Export Association and the Chamber on the status and prospects of the business

What you should know

काठमाडौँ — नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच व्यवसायको अवस्था र आगामी सम्भावना तथा आपसी हितका विषयमा बृहत छलफल भएको छ ।

बुधवार संघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष कमलेश कुमार अग्रवाल, अनरेरी उपाध्यक्ष अर्जुनप्रसाद शर्मा र उपाध्यक्ष सन्तोष पाण्डे सहभागी थिए । संघको तर्फबाट अध्यक्ष शिवकुमार अग्रवाल लगायत कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष शिवकुमार अग्रवालले नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी संघले क्रमशः ७५ र ५० वर्षको इतिहास बोकेका संस्थाहरू भएको र दुवैका सरोकारका विषय लगभग समान रहेकोले सहकार्य गरेर अघि बढ्ने संघको उद्देश्य रहेको बताए ।

व्यवसायीमा अन्योल छाएको अहिलेको अवस्थामा संघ सदस्यहरूको मनोबल उकास्न लागिपरेको पनि उनको भनाइ थियो । यो बेला चेम्बरलगायत निजी क्षेत्रका संस्थाहरूको सहकार्यले व्यवसायीमा सकारात्मक ऊर्जा प्राप्त हुने उनले बताए । चेम्बर निजी क्षेत्रको प्रभावशालीमध्येको एक संस्था रहेकोले अन्य सङ्घसंस्थाले चेम्बरबाट सिक्दै अघि बढ्नुपर्ने र चेम्बरले उनीहरूलाई मार्गदर्शन गर्नुपर्ने उनको भनाइ थियो ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले अहिले मुलुकमा लगानीको लागि उपयुक्त समय आएको भन्दै सहभागी व्यवसायीलाई यो मौकाको सदुपयोग गर्न आग्रह गरे ।

‘लगानी गर्ने भनेकै यस्तै चुनौतीपूर्ण समयमा हो । व्यवसायीले चुनौतीभित्रै अवसर खोज्ने हो, अवसर हुने पनि चुनौतीभित्रै हो । अहिले जसले आँट गरेर लगानी गर्न सक्छ, त्यसले सफलता पाउँछ,’ उनले भने, ‘अहिले बैंकमा तरलता प्रशस्त छ । उनीहरू ऋण दिन तयार छन् । यो बेला सस्तो ब्याजदरको ऋण लिएर काम गर्नेले राम्रो प्रतिफल पाउँछ।’

निजी क्षेत्रका संघसंस्थासँग हातेमाले गरेर अघि बढ्न चेम्बर तयार रहेको पनि उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully