कतारबाट हात्ती लिन आएको जहाज भैरहवामा मौसम खराबीका कारण कलकत्ता डाइभर्ट

केही समय काठमाडौंको आकाशमा होल्ड भएपछि ‘होल्डिङ फ्यूल’ सकिन लागेको भन्दै चालक दलले जहाजलाई कलकत्ता डाइभर्ट गरेका हुन्।

पुस २, २०८२

सुरज कुँवर

Ship carrying elephants from Qatar diverts to Kolkata due to bad weather in Bhairahawa

What you should know

काठमाडौँ — कतारको दोहाबाट हात्ती लिन भैरहवा आएको कतार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण कलकत्ता डाइभर्ट भएको छ । 

केही समय काठमाडौंको आकाशमा होल्ड भएपछि ‘होल्डिङ फ्यूल’ सकिन लागेको भन्दै चालक दलले जहाजलाई कलकत्ता डाइभर्ट गरेका हुन्। 

कतार एयरवेजको उडान नम्बर QR8824 अन्तर्गत सञ्चालन गरिएको बोइङ 777F (फ्रेटर) विमान दोहाबाट नेपाल आएको थियो । 

उक्त विमान भैरहवाबाट दुईवटा जीवित हात्ती ढुवानी गर्ने उद्देश्यका साथ नेपाल प्रवेश गरेको हो । फ्लाइट ट्र्याकिङ डाटाअनुसार विमान करिब २५,००० फिट उचाइ र ३२३ नट्सको गतिमा काठमाडौं क्षेत्र वरिपरि केही समय होल्डिङमा देखिएको थियो । तर मौसममा सुधार नहुँदा भैरहवा नगएर कलकत्ता गएको हो । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भिजिबिलिटी करिब ५०० मिटर मात्र रहेको जनाइएको छ। विमान अवतरणका लागि कम्तीमा ९ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भएकाले विमानलाई तत्काल अवतरण गराउन नसकिएको हो।

उक्त जहाज मौसममा सुधार आए नेपाली समयअनुसार ३ बजेर ४५ मिनेटमा भैरहवा फर्किनेछ । बिहान ११ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका रहेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबारको निर्णयअनुसार कतार एयरवेजलाई उक्त कार्गो चार्टर उडान सञ्चालन गर्न अनुमति दिएको थियो। उडानको उद्देश्य दुईवटा जीवित हात्ती ढुवानी गर्ने लाइभ कार्गो चार्टर उडान हो। उक्त विमानको अधिकतम टेक–अफ तौल ३४७,८१४ केजी रहेको छ।

उडानको रुट दोहा – भैरहवा – दोहा तय गरिएको छ। विमानमा दुई जना पाइलटसहित पाँच जना क्रु सदस्य मात्र सवार रहेका छन्।

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गरेका ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ नामक हात्ती मंगलबार बिहान भैरहवा पुर्‍याइएको थियो। सोमबार चितवनको सौराहाबाट औपचारिक बिदाइ गरिएको हात्तीको जोडीलाई रातभर सवारी साधनमार्फत यात्रा गराई बिहान भैरहवा लगिएको हो।

दुबै हात्तीलाई बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार पठाउने तयारी भइरहेको छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully