बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ ।
काठमाडौँ — वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज बुधबार राष्ट्र बैंकले २० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । सोही क्रममा आज निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ८४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
पछिल्ला तीन वर्ष यता राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार नियमित रुपमा बजारबाट पैसा झिक्दै आएको छ । सुरुका दिनमा छोटो अवधिका लागि पैसा झिक्दै आएको राष्ट्र बैंकले अहिले लामो अवधिका लागि पैसा झिक्न थालेको हो ।
