टनकपुर व्यारेजबाट नेपालतर्फ पानी ल्याउन पहल भइरहेको छ : मन्त्री घिसिङ

मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तर छलफलका साथै पत्राचारसमेत भइरहेको बताए।

पुस २, २०८२

कान्तिपुर संवाददाता

Initiatives underway to bring water from Tanakpur Barrage to Nepal: Minister Ghising

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् ।

राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधवार  बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तर छलफलका साथै पत्राचारसमेत भइरहेको बताए।

कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतकातर्फबाट पानी छोड्ने निर्णय आउने विश्वासमा रहेको मन्त्री घिसिङ बताए ।

नेपाल-भारतबीच एकीकृत महाकाली सन्धिअनुरूप नेपालले हिउँद याममा तीन सय क्युसेक र वर्षा याममा एक हजार क्युसेक पानी पाउने व्यवस्था रहेको छ । सन्धिबमोजिम पानी उपयोगिता गरी सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन् ।

करिब ९ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रूपमा आलोचना हुने गरेको छ । पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ ।

महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट ५ हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ । आयोजनाको कूल अनुमानित निर्माण  लागत ३५ अर्ब रुपैयाँ रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully