बैकिङ क्षेत्रमा भएका अराजक गतिविधिविरुद्ध राष्ट्र बैंकको ध्यानाकर्षण

बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्ध भएका गैरव्यावसायिक तथा उच्छृंखल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित राष्ट्र बैंकले आग्रह गरेको छ ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Nepal Rastra Bank draws attention to chaotic activities in the banking sector

What you should know

काठमाडौँ — हालैका दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्ध भएका गैरव्यावसायिक तथा उच्छृंखल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई राष्ट्र बैंकले आग्रह गरेको छ । 

‘बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुन्छ । यसकारण भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न नेपाल राष्ट्र बैंक अनुरोध गर्दछ,’ राष्ट्र बैंकद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । 

नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको विज्ञप्तिमा उल्लेख छ । 

‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जासम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ ।’ 

यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनरसंरचना तथा पुनर्तालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully