गएका दुई सातायता एक दिनबाहेक बाँकी सबै कारोबार दिन नेप्से लगातार घटिरहेको छ ।
What you should know
काठमाडौँ — साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १२.५० अंकले घट्यो । गत साता चार दिन नेप्से घट्दा एक दिन मात्र सामान्य अंकले बढेको थियो । यो साताको सुरुकै दिन नेप्सेले ओरालो यात्रा पछ्याएको हो ।
गएका दुई सातायता एक दिनबाहेक बाँकी सबै कारोबार दिन नेप्से लगातार घटिरहेको छ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, ब्याजदर हालसम्मकै न्यून बिन्दुमा रहेका बेला सेयर कारोबार मापक नेप्से भने लगातार घटिरहनुलाई चासोको दृष्टिले हेरिएको छ ।
यही मंसिरमा राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामार्फत राष्ट्र बैंकले व्यक्तिगत सेयर कर्जाको सीमा हटाएको छ । बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी गर्न पाउने नीतिगत व्यवस्थामा पनि खुकुलो नीति अवलम्बन गरेको छ । तर सेयर बजारमा त्यसको सकारात्मक असर भने देखिएन । बरु नेप्से लगातार घटिरह्यो ।
गत बिहीबारको तुलनामा आइतबार नेप्से शून्य दशमलव ४७ प्रतिशतले घटेर नेप्से २ हजार ५ सय ९४ दशमलव ८७ बिन्दुमा ओर्लिएको छ । यसअघि यही ४ मंसिरमा २ हजार ५ सय ६०.२९ बिन्दुमा बन्द भएको थियो । आइतबार कारोबारमा आएकामध्ये ५६ कम्पनीको सेयर मूल्य बढ्यो, १९७ कम्पनीको सेयर मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
उक्त दिन कुल ६० हजार ६ सय ९९ पटकको सेयर किनबेचमा ४ अर्ब ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार कुल १ करोड १२ लाख ७२ हजार १ सय ६८ कित्ता सेयर किनबेच भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो । गत बिहीबार सेयर बजारमा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार आएका १३ उपसमूहमध्ये बैंकिङ र सामूहिक लगानी कोषका परिसूचक बढे ।
