सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

आइतबार २ लाख ५८ हजार ८ सय रुपैयाँ र सोमबार २ लाख ६० हजार ७ सय रुपैयाँ तोकेको छ । २०८२ असोज ३१ मा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ थियो ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Gold prices hit new records every day

What you should know

काठमाडौँ — सुनलाई सुरक्षित लगानीको रुपमा हेरिरहेकाले लगानीकर्ता आकर्षित भइरहँदा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ ।

आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो । जुन उच्च हालसम्मकै थियो । तर आइतबारको सुनको मूल्यको रेकर्डलाई सोमबारको मूल्यले तोडेको छ । सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि २०८२ असोज ३१ मा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने गत कात्तिक ४ यता रेकर्ड तोड्ने गरी  सुनको मूल्य बढेको छैन । अन्तर्राष्ट्रिय बजारमा २०२५ अक्टोबर २०  अर्थात् कात्तिक ४ मा प्रति औंस ४३ सय ५६ डलर थियो । त्यसयता उक्त रेकर्ड तोडिएको छैन । नेपालमा दिनदिनै सुनको मूल्यमा रेकर्ड कायम भइरहेको छ । विश्वका केन्द्रीय बैंकहरुले ब्याजदर घटाउँदा र नयाँ वर्ष आउन लाग्दा सुनको माग बढेकाले पनि सुनको मूल्य निरन्तर वृद्धि भइरहेको विश्लेषकहरू बताउँछन् । 

अमेरिकी केन्द्रीय बैंकले डिसेम्बर महिनाका लागि  ३.५० देखि ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । यो अघिल्लो महिनाको तुलनामा शून्य दशमलव २५ प्रतिशतले कम हो । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा विश्वका केन्द्रीय बैंकहरुले डलर सञ्चितिको सट्टा सुनचाँदी सञ्चितिलाई प्राथमिकता दिँदै सुन खरिद बढाएका कारणले अन्तर्राष्ट्रिय बजारमा सुनप्रति आकर्षण कायमै रहेकोले मूल्य बढेको विश्लेषकहरूको भनाइ छ । 

गत साताभर सुनको मूल्य तोलामा ४ हजार र चाँदी तोलामा ३ सय रुपैयाँ बढेको थियो । सुनसँगै चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९०५ रुपैयाँ तोकेको थियो । जुन हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्य बढ्दा लगानीकर्ताहरू चाँदीतर्फ आकर्षित भएको विज्ञहरू बताउँछन् । पछिल्लो समय चाँदीको माग बढिरहेको  महासचिव किरण भाइ बज्राचार्यले बताए । ‘सुन किन्न नसक्नेहरू चाँदीतर्फ आकर्षित भइरहेका छन्,’ उनले भने, ‘चाँदीको मूल्य पनि तोलामा ५ हजार रुपैयाँसम्म पुग्न सक्छ ।’ विद्युतीय उपकरणहरू, विद्युतीय सवारीसाधनलगायतमा चाँदी प्रयोग निरन्तर बढिरहेकाले मूल्य वृद्धि हुने उनको बुझाइ छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, भन्सार दर र १ प्रतिशत मुनाफा (बैंकलाई ५० प्रतिशत र व्यवसायीलाई ५० प्रतिशत) गरी बजार मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनप्रति आकर्षण कायमै रहेकाले सुनको मूल्य बढिरहेको र नेपाली बजारमा पनि यसैको प्रभाव परेको हो महासंघले जनाएको छ ।

अंग्रेजी नयाँ वर्षसम्मै अब सुनको मूल्य निरन्तर वृद्धि हुने अनुमान महासंघका महासचिव किरण भाइ बज्राचार्यको छ । विश्वभर नयाँ वर्षसँगै चीनमा ल्होच्छार आइरहेकाले सुनको माग बढ्दा मूल्य पनि बढिरहेको बज्राचार्यले बताए । ‘नयाँ वर्षका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दो छ,’ उनले भने, ‘मागसँगै मूल्य पनि बढ्छ ।’ त्यस कारण नयाँ वर्ष नसकिँदासम्म सुनको मूल्य नघट्ने बज्राचार्यले बताए । ‘नयाँ वर्षसम्म सुनको मूल्य तोलामा २ लाख ८० हजार रुपैयाँसम्म पुग्न सक्छ,’ उनले भने, ‘नयाँ वर्षपछि भने घटबढ हुन सक्छ ।’

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार रुपैयाँ पुग्दा लगानीकर्ता बढिरहे पनि उपभोक्ताको माग बढ्न नसकेको व्यवसायी बताउँछन् । ‘सुनको मूल्य बढ्दा मंसिरमै सुनको व्यापार हुन सकेन, अब पुस लाग्छ, व्यापार हुने कुरै भएन,’ उनले भने, ‘मूल्य बढेपछि सुन किन्नेभन्दा बेच्नेहरु बढि छन् ।’

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्ष्य गर्दै गत असोजमा सुन आयातको कोटा समेत बढाएको छ । राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोलाई २५ किलोग्राम कायम गरेको छ । नेपालमा सुन आयात वाणिज्य बैंकले मात्रै गर्न पाउँछन् । बैंकले आयात गरेको सुन गहना व्यवसायीको संघ, महासंघ, संस्थाको सिफारिसमा व्यवसायीले पाउँछन् । राष्ट्र बैंकले आयात गर्न सकिने सुनको परिमाण बढाएकाले पनि बढी आयात भएको देखिएको व्यवसायी बताउँछन् ।

चालु आर्थिक वर्षको चार महिनामा मात्रै १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँको सुन आयात भएको छ । उक्त आयातबाट १ अर्ब ५७ करोड २१ लाख रुपैयाँ राजस्व उठेको भन्सार विभागको तथ्यांक छ ।  गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड ७५ लाख रुपैयाँको सुन आयात भएको थियो ।

उक्त सुन आयातबाट २८ करोड ५५ लाख रुपैयाँ राजस्व उठेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको चार महिनामा सुनको आयात ह्वात्तै बढेको देखिएको छ भने सुनको मूल्य पनि बढ्दो क्रममै छ । गत आर्थिक वर्ष भर १७ अर्ब १२ करोड रुपैयाँको सुन आयात भएको थियो । 

कान्तिपुर

Link copied successfully