गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ४.४९ प्रतिशत विन्दुले कम हो ।
काठमाडौँ — सर्वसाधारणले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार भाउ (उपभोक्ता मूल्यवृद्धिदर) गत कात्तिकमा १.११ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ४.४९ प्रतिशत विन्दुले कम हो ।
गत आर्थिक वर्षको कात्तिकमा यस्तो मूल्यवृद्धिदर ५.६० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ को चार महिनाको औसत मूल्य वृद्धिदर १.५३ प्रतिशत छ । गत वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५९ प्रतिशत रहेको थियो ।
गत कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी समूहहरूको मूल्यवृद्धिदर क्रमशः ९.१० र ३.६५ प्रतिशत रहेको थियो ।
‘कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२५, गैर–मदिराजन्य पेय पदार्थको ३.६१ र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १४.४३, मरमसलाको ७.८५ र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ ।’
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.१७, शिक्षाको ७.५६, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९, सुर्तीजन्य पदार्थको ४.८४ र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ ।
