महानगरमा बैंकको शाखा समायोजन गर्नु पूर्व ९० दिने सूचना जारी गर्नुपर्ने

राष्ट्र बैंकले धेरै शाखा भएका बैंकलाई पूर्वसूचना दिएर महानगरपालिकामा शाखा समायोजन गर्न अनुमति दिएको छ, सरकारी निकायको शाखामा भने लिखित सहमति आवश्यक छ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

90-day notice required before adjusting bank branches in metropolitan areas

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले महानगरपालिकामा रहेका शाखा समायोजन गर्नु पूर्व ९० दिनको सूचना जारी गर्नुपर्ने छ । दुई वा सोभन्दा बढी शाखा समायोजन गर्दा सम्बन्धित सेवाग्राहीलाई जानकारी होस भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

सामान्य अवस्थामा बैंक तथा वित्तीय संस्थाले यस बैंकको पूर्वस्वीकृति बिना शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द गर्न वा स्थानान्तरण गर्न वा गाभ्न नपाउने व्यवस्था छ । तर महानगरपालिकामा एउटै बैंक तथा वित्तीय संस्थाको धेरै शाखा भएको अवस्थामा तीनलाई समायोजन गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सोही व्यवस्थाअनुसार शाखा समायोजन गर्नु पूर्व कम्तीमा ९० दिनको सूचना जारी गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयमले महानगरपालिकामा रहेका शाखा समायोजन/एकीकरण गर्न सक्नेछन्,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा उक्त संस्थाको लिखित सहमति पश्चात् मात्र शाखा समायोजन गर्न सकिनेछ ।’

यस्तै, दुई वा सोभन्दा बढी शाखाहरू समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

कान्तिपुर

Link copied successfully