श्रम क्षेत्रमा देखिएको संगठित जालो तोड्नेछु : श्रममन्त्री भण्डारी

पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने, ‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई गठन गरेर मुद्दालाई छिटो सम्पादन गर्नेछु । संगठित जालोलाई तोड्नु छ । ’

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

Will break organized networks seen in labor sector: Labor Minister Bhandari

काठमाडौँ — नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् ।

‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको थिएँ,’ शुक्रबार श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै उनले भने,‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई गठन गरेर मुद्दालाई छिटो सम्पादन गर्नेछु । संगठित जालोलाई तोड्नुछ । मैले एक/एक घण्टामा कसरी काम गर्न सकिन्छ भनेर सोचिरहेको छु । कठोर कारबाही गर्नुपर्छ ।’

उनले एक्सनमा लैजानका लागि आफ्नो अनुभवले काम गर्ने बताए । ‘एउटा कार्यदल बनाएर एक्सनमा जान्छ । आममानिसलाई अनुभूत हुने गरी काम हुन्छ,’ उनले भने । उनका अनुसार जेन-जी आन्दोलनपछि गिरेको प्रहरीको मनोबल उठाउने काम प्रधानमन्त्रीबाट भएको बताए । ‘हरेक प्रहरी दमनकारी हुँदैन । हरेक जेन-जी विध्वंसकारी हुँदैन । यो सम्माननीय प्रधानमन्त्रीले सुरक्षाकर्मीको आवाज पनि क्याबिनेटमा भयो भने केही योगदान दिन सकिन्छ भनेर सोच्नुभएको होला,’ उनले भने,‘जेन-जीको पीडा छ । नेपाल प्रहरीको पीडा छ । दुवै पक्षलाई क्षति पुगेको अवस्था छ ।’ 

कान्तिपुर

Link copied successfully