मधेशमा अनुदानको मल खुला रूपमा बिक्री, कोटाको मल गोदाममै अलपत्र

मधेश प्रदेशमा एक महिनाअघि मोन्था आँधीसँगै भएको वर्षाका कारण कतिपय किसानले खेतमा पानी जमेकाले अहिले पनि गहुँ छर्न पाएका छैनन् ।

मंसिर २६, २०८२

शंकर आचार्य

Subsidized fertilizer is being sold openly in Madhesh, quota fertilizer is left in warehouses

What you should know

पर्सा — किसानले खोजेका बेला मल नपाइरहँदा बाराका विभिन्न पालिकास्थित निजी पसलमा भने सरकारी अनुदानको मल खुलेयाम बिक्री भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सहकारीहरूमार्फत किसानलाई वितरण गर्ने युरिया, डीएपी र पोटास मल बाराका एग्रोभेट पसलमा छ्यापछ्याप्ती पाइएका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन मधेश प्रादेशिक कार्यालय वीरगन्जको अनुगमन टोलीले मंगलबादरदेखि बिहीबारसम्म लगातार तीन दिन अनुगमन गर्दा यस्तो बेथिति पाएको हो । कार्यालय प्रमुख अमोज लामिछाने नेतृत्वको टोलीले मंगलबार कलैया उपमहानगरपालिकाको अनुगमनका क्रममा ११ पसलमा अनुदानको मल बिक्री वितरण भइरहेको फेला पारेको थियो ।

बुधबार बाराकै महागढीमाई नगरपालिकामा ३ र आदर्शकोतवाल गाउँपालिकामा २ एग्रोभेट पसलमा पनि यसरी अनुदानको मल बिक्री गरिएको पाइएको थियो । लामिछानेका अनुसार कृषि सामग्री र साल्टबाट प्रतिबोरा ७ सय ५० रुपैयाँमा सहकारीले खरिद गरी लैजाने युरिया मल निजी पसलमा भने १ हजारदेखि १ हजार १ सय रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ ।  

त्यसैगरी, प्रतिबोरा २ हजार २ सय रुपैयाँमा सहकारीले खरिद गरेर लगेको डीएपी मल निजी पसलहरूमा भने २ हजार ७ सयदेखि ३ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ ।  त्यसैगरी प्रतिबोरा १ हजार ६ सय रुपैयाँ सहकारीहरूले खरिद गरेर लगेको पोटास निजी पसलमा प्रतिबोरा २ हजार ७ सय रुपैयाँसम्ममा बिक्री वितरण भइरहेको पाइएको छ  ।

लामिछानेले कृषि सामग्री र साल्ट ट्रेडिङले किसानलाई मल वितरण गर्न आफैं नभई सहकारीमार्फत वितरण गर्ने गरेको बताए । तर यसरी सहकारीले किसानलाई वितरण गर्ने मल व्यापारीको पसल सहजै बिक्री वितरण हुनुले मलमा सहकारीहरूबाटै अनियमितता हुने गरेको तथ्य उजागर भएको उनले बताए ।

यसरी अनुदानको  मल बिक्री गरिरहेका पसलेले कुन कुन सहकारीबाट यसरी मल ल्याउने गरेको भनी सूचना पनि दिइसकेकाले त्यस्ता सहकारीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए । अनुदानको मल बिक्री गर्ने व्यापारीलाई अनुदानको मल बिक्री नगर्न एकपटकका लागि सचेत गरेर छोडिएको लामिछानेले बताए ।

कोटाको मल लग्न उदासीन देखाउँदै सहकारीहरू

मधेश प्रदेशका जिल्लाका सहकारीहरूले भने कोटाकै मल लग्न उदासिनता देखाउँदा कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालयका गोदामहरूमा मलको मौज्दात बढ्दो छ । किसान भने गहुँ बाली सिजन संघारमा आइसक्दा डीएपी र युरिया दुवै मलको चरम अभाव रहेको बताउँछन् ।

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डे मधेश प्रदेशका अधिकांश जिल्लाका सहकारीहरुले एक महिनायता दुईपटक लगेको मलको कोटाअनुसार आ-आफ्नो कोटाको मल लग्न उदासिनता देखाएको बताउँछन् । ‘मधेश प्रदेशका प्रायः सबै जिल्लामा यही अवस्था छ,’ उनले भने, ‘वीरगन्ज महानगरकै अढाई दर्जन सहकारीमध्ये करिब आधा दर्जन सहकारीले मात्र कोटाको मल हालसम्म लगेका ‘वीरगन्ज महानगरकै अढाई दर्जन सहकारीमध्ये करिब आधा दर्जन सहकारीले मात्र कोटाको मल हालसम्म लगेका छन् ।’

आफूले कतिपय सहकारी प्रमुखहरुलाई व्यक्तिगत रुपमै सम्पर्क गरेर कोटाको मल लैजान आग्रह गरे पनि उनीहरुले उदासिनता देखाएको पाण्डे दाबी गर्छन् ।

मधेश प्रदेशमा एक महिनाअघि मोन्था आँधीसँगै भएको वर्षाका कारण हाल कतिपय किसानको खेतमा पानी जमेकाले किसानले गहुँ छर्न पाएका छैनन् । यस वर्ष किसानले गहुँ छर्न ढिला भएकाले पनि मलको माग ढिला गरी भएकाले प्रदेशमै मलको मौज्दात बढ्दो क्रममा रहेको पाण्डे बताउँछन् ।

पर्याप्त मौज्दात छ मलको

मधेश प्रदेशका प्रायः सबै जिल्लास्थित कम्पनीका गोदाममा युरिया र डीएपी दुवै मल ठूलो परिमाणमा मौज्दात रहेको पाण्डे दाबी गर्छन् । मंगलबार प्रदेशभरिमा ८ हजार टन युरिया, १३ हजार तीन सय टन डीएपी र १ हजार टन पोटास मल मौज्दात रहेको उनले बताए ।

वीरगन्जमा मात्रै ३ हजार ७ सय ४० टन युरिया, १० हजार टन डीएपी, ८ सय टन पोटास र ५६ टन कृषि चुन मौज्दात रहेको उनले बताए । दैनिकजसो कम्पनीको वीरगन्जस्थित गोदामहरुबाट मातहतका मधेश, बागमती र गण्डकी प्रदेशका गरी १५ जिल्लाका लागि मल परिचालन भइरहे पनि मलको मौज्दात घट्नुको साटो बढ्दो क्रममा रहेको पाण्डे बताउँछन् । ‘हामीलाई अब मल कसरी भण्डारण गर्ने भनि चिन्ता हुन थालेको छ,’ उनले भने, ‘पुरानो मौज्दात सक्किन नपाउँदै कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गरेको युरिया र डीएपी मल निरन्तर भित्रिरहेकाले अब मल भण्डारण गर्न नै समस्या भइरहेको छ ।’

निरन्तर भित्रिँदै मल

इन्टरनेसनल आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १ सय २८ को युरिया मल सोमबारबाट भित्रिन थालेको छ । यो कन्साइन्मेन्टको ३० हजार टन युरिया मलमध्ये तत्काल १० हजार टन आउने भएकाे हो । सोमबार रक्सौल रेल्वे स्टेसनमा एक रेल्वे र्‍याक युरिया मल आइपुगेको छ । १० हजार टनमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ४ हजार टन युरिया मल पाउनेछ ।

त्यसैगरी, कन्साइन्मेन्ट नम्बर १ सय ४७ को ३० हजार टन युरिया मल पनि क्रमशः भित्रिन थालेको पाण्डेले बताए । भारतको आईपीएल कम्पनी आपूर्तिकर्ता रहेको यो कन्साइन्मेन्ट अन्तर्गत चार र्‍याक युरिया मल आइसकेको छ ।  ३० हजार टनमध्ये ११ हजार ५ सय टन मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउनेछ ।

आदित्य बिरला कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १  सय ४५ को २५ हजार टन डिएपि मल पनि भित्रिन थालेको छ । यस मध्ये ९ हजार पाच सय टन डिएपि मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउने छ ।

एक महिना यता कम्पनीको कन्साइन्मेन्ट नम्बर १  सय २८ र कन्साइन्मेन्ट नम्बर १ सय ४६ को क्रमशः १० हजार र २० हजार टन युरिया मल भित्रिएको पाण्डे  बताउछन् । यो मलको कोटा लागिसकेको उनले बताए ।

मलको अभाव रहेको किसानको गुनासो

किसान भने मलको अभाव रहेको आफूहरुले महँगोमा मल खरिद गरिरहेको गुनासो गर्छन् । किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साह कानु हाल किसानले गहुँ बालीका लागि युरिया र डीएपी दुवै मल खोजी रहेको बेला सरकारी मल पाउन नसकेको गुनासो गरे । ‘किसानले महँगोमा मल खरिद गरिरहेका छन्,’ उनले भने, ‘मेरै पालिका कालिकामाई  गाउँपालिकामा रहेको दिव्य बचत तथा ऋण सहकारी संस्थाले यस वर्ष अडिट नगरेको भन्दै आफ्नो कोटाको मल समेत ल्याएको छैन ।’

गहुँ बाली छर्न लाग्दा डीएपी र तीन साताको भएपछि पहिलो सिँचाइसँगै युरिया मल पनि छर्नुपर्ने हुन्छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully