क्षतिको बिमा भुक्तानी तीन महिनामा ४ अर्ब ३८ करोड

बिमा कम्पनीहरूमा २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँको दाबी परेको छ । त्यसमध्ये गत सातासम्म ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

Insurance payout of Rs 4.38 billion in three months

What you should know

काठमाडौँ — गत २३ भदौको आन्दोलन र २४ को प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी साढे २३ अर्ब रुपैयाँ बराबरको परेकामा साढे ४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । यही १७ मंसिरसम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँको दाबी परेको छ ।

त्यसमध्ये गत सातासम्म ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । 

यो रकममा अग्रिम भुक्तानीसमेत रहेको प्राधिकरणले प्रस्ट्याएको छ । भुक्तानी रकम कुल दाबीको करिब १८.७० प्रतिशत मात्र हो । गत सातासम्म बिमा कम्पनीहरूमा ३ हजार ३ सय दाबी परेका छन् । बिमा कम्पनीले गरेको दाबी भुक्तानीमा नियामक निकाय बिमा प्राधिकरणले सन्तोषजनक भएको धारणा राखेको छ ।

नेपालजस्तै सामाजिक आर्थिक अवस्था भएका अरू देशमा पनि यही गतिमा बिमा भुक्तानी हुने गरेको बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताए । ‘भुक्तानीका लागि प्रारम्भिक मूल्यांकन हुनुपर्छ । मूल्यांकन भएकाहरूको भुक्तानी भइसकेको छ,’ उनले भने, ‘मूल्यांकन प्रक्रियामा रहेका दाबीको प्रक्रिया पूरा भएपछि भुक्तानी हुन्छ ।’

यसअघि बिमा कम्पनीहरूले परेका दाबीमध्ये साना प्रकृतिका सबैको तिहारसम्म भुक्तानी दिइसक्ने दाबी गरेका थिए । तर अहिले बिमा कम्पनीका कारणले भन्दा पनि धेरै दाबीमा प्रक्रिया नपुगेकाले अपेक्षाअनुसार भुक्तानी गर्न नसकिएको बिमक संघका अध्यक्ष वीरेन्द्र बैदवार क्षेत्रीले बताए । उनका अनुसार भुक्तानीका लागि बिमा कम्पनीसँग फन्ड (पैसा) को अभाव छैन । नेपाल पुनर्बिमा कम्पनीले पनि पुनर्बिमाबापत रकमको पेस्की दिएको छ । तर केही दाबीमा मूल्यांकन सकिएको छैन भने केहीमा आवश्यक न्यूनतम कागजात पनि नपुगेको उनको भनाइ छ । 

‘सवारी बिमालगायत साना दाबीमा धेरै भुक्तानी दिने भनिए पनि मूल्यांकनका लागि क्षति भएको सवारीको इन्जिन काटेर यातायातबाट प्रमाणित गर्नुपर्छ । त्यस प्रक्रियामा केही ढिलाइ भएकाले धेरै सवारी बिमाको भुक्तानी दिन नसकिएको हो,’ क्षेत्रीले भने ।

गत सातासम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी ३ अर्ब २१ करोड ८९ लाख रुपैयाँ सम्पत्ति बिमा (घर सम्पत्ति) अन्तर्गतको छ । सम्पत्ति बिमामा घर, अपार्टमेन्टलगायत स्थिर सम्पत्ति पर्छन् । यो बिमामा ७ सय १० वटा दाबीमा १९ अर्ब ८८ लाखको माग दाबी परेको छ । सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो । जसमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ ।

ठेकेदार तथा इन्जिनियरिङ बिमामा ६ करोड ८१ लाख, पारवहन बिमामा ६६ लाख र अन्य बिमामा ४९ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । खासगरी ठूला क्षतिमा मूल्यांकन र प्रक्रियागत काम नसकिएकाले परेको दाबीमध्ये कम मात्र बिमा भएको देखिएको बिमा कम्पनीहरूले जनाएका छन् ।

भुक्तानी भएकामध्ये पनि धेरै रकम पेस्कीबापत दिइएको बिमा कम्पनीहरूको भनाइ छ । उनीहरूका अनुसार पूर्ण क्षति भएका सवारीसाधनलगायत सम्पत्तिको बिमा भुक्तानी गर्न समय नलागे पनि ठूला क्षतिमा मूल्यांकन (सर्भेयर) को प्रतिवेदन आउन समय लाग्ने भएकाले भुक्तानी रकम धेरै नदेखिएको कम्पनीहरू बताउँछन् । 

पछिल्लो प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये ७०.५४ प्रतिशत सवारीसाधन (मोटर) बिमाको रहेको पाइएको छ । हालसम्म बिमा कम्पनीहरूमा करिब ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको २ हजार ३ सय ८ वटा दाबी सवारी बिमामा परेको छ । 

प्रादेशिक रूपमा हेर्दा सबैभन्दा धेरै क्षति बागमतीमा रहेको देखिएको छ । सम्पत्ति धनीले क्षतिबापत गरेको बिमा दाबीको तथ्यांकले यस्तो देखाएको हो । यसअनुसार बागमतीमा मात्र ५४ प्रतिशत अथवा १ हजार ८ सय ७ वटा दाबी परेका छन् । दोस्रोमा, ४ सय दाबी कोशीमा परेका छन् । तेस्रोमा, मधेशमा ३ सय ७२ वटा दाबी परेका छन् । लुम्बिनीमा २ सय ५८, गण्डकीमा २ सय २२, सुदूरपश्चिममा २ सय ११ र कर्णालीमा ३० वटा बिमा दाबी परेको बिमा प्राधिकरणले जनाएको छ ।

प्रदर्शनका क्रममा भएको क्षतिमा परेको दाबी हालसम्मकै सबैभन्दा धेरै भएको पनि बिमा कम्पनीहरूको भनाइ छ । यसअघि २०७२ को भूकम्पमा १७ अर्ब र अघिल्लो वर्षको असोजमा आएको बाढीमा करिब १३ अर्बको बिमा दाबी परेको थियो ।

कान्तिपुर

Link copied successfully