रोपाइँमा खडेरी, काट्ने बेलामा बाढी
What you should know
काठमाडौँ — सुनसरीको वर्जु गाउँपालिका–३ डम्मरीका किसान फुलो महतो अहिले धान काट्न खेतमै व्यस्त छन् । विगतका वर्षहरूमा यो समयसम्म उनी घरको आँगनमा भित्र्याएको धान थन्क्याएर मकै रोपाइँको चटारोमा हुन्थे । तर, यसपटक दृश्य बिल्कुलै फरक छ । पुस लाग्ने बेला भइसक्यो तर महतोका खेतमा पाकेर पहेँलपुर धान अझै खेतमै छ ।
फुलोका छिमेकी तरुण महतो पनि उस्तै संकटमा परेका छन् । अघिल्ला वर्षहरूमा उनी यो मौसममा थ्रेसरमा दाइँ सकिसकेर अर्को बालीको तयारीमा लागिसक्थे, तर अहिले भर्खर थ्रेसर लगाइरहेका छन् ।
फुलो पीडा सुनाउँदै भन्छन्, ‘यसपालि त विजोग नै भयो । काट्न लागेको बेला बाढी आएर खेतै डुबायो । यस्तो दुःख त पहिले कहिल्यै भोग्नुपरेको थिएन ।’ उनी मात्र होइन, कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका हजारौँ किसान यस्तै पीडामा छन् । कतै धान काटिसकिएको छैन, कतै हालैको बाढीले डुबाएको, लडाएको धान उठाउन किसानलाई भ्याइनभ्याइ छ ।
रोपाइँमा खडेरी, काट्ने बेलामा बाढी
मोरङको सुनवर्षी गाउँपालिकाकी किसान रेवतीदेवी यो वर्षलाई आफ्नो कृषि जीवनकै सबैभन्दा कठिन समयका रूपमा लिन्छिन् । ‘धान रोप्ने बेलामा खडेरीले त्यसै पनि ढिलो गर्यो । अनि काट्ने बेलामा बाढी आउँदा झनै पछि धकेलियो,’ उनले दुखेसो सुनाइन्।
यस वर्ष कोशी प्रदेशका धेरै किसानले दोहोरो प्रकोप बेहोर्नुपर्यो । असार–साउनमा परेको खडेरीले रोपाइँ ढिलो भयो । ढिलो रोपिएको धान ढिलो पाक्ने नै भयो । त्यसमाथि काट्न लाग्दा अकस्मात् परेको वर्षा र आएको बाढीले खेतमै पानी जमेर धान काट्न असम्भव बनाइदियो ।
कृषि विकास निर्देशनालय विराटनगरकी बाली विकास अधिकृत भवानी बस्नेतका अनुसार यस वर्ष धान उत्पादनमा जलवायु परिवर्तनको असर देखिएको छ । ‘धेरै स्थानमा खडेरीका कारण रोपाइँ ढिलो भयो । ढिलो रोपिएको बाली ढिलो नै पाक्छ । फेरि काट्ने बेलामा पानी परेकाले उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ,’ उनले बताइन् ।
झापाको मेचीनगरकी किसान मालती उराउँ विगत सम्झिँदै भन्छिन्, ‘पहिले त मंसिर लाग्न नपाउँदै सबै धान घरभित्र भइसकेको हुन्थ्यो । तर, यसपालि आधा धान अझै खेतमै छ ।’
स्थानीय कृषि प्राविधिकहरूको अनुमानमा बाढीले धान बगाउनु, बालीले पानी सोस्नु, बाला ढल्नु, दाना झर्नु र दाना कालो पर्ने जस्ता समस्याले उत्पादन मात्र होइन, धानको गुणस्तर पनि घटाएको छ ।
कृषि विकास निर्देशनालयका अनुसार झापा, मोरङ र सुनसरीमा यस वर्ष धान उत्पादन घट्ने सम्भावना धेरै छ । निरन्तर पर्ने पानीले पाकिरहेको धानलाई सबैभन्दा धेरै प्रभाव पार्छ । निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङ भन्छिन्, ‘धान कटाइ ढिलो भएको छ, त्यसैले कुनै जिल्लाबाट पनि उत्पादनको पूर्ण विवरण आइसकेको छैन । तर, प्रारम्भिक मूल्यांकनले उत्पादन घट्ने संकेत स्पष्ट देखिएको छ ।’
कृषि विज्ञहरूको भनाइमा, धान काट्न ढिलो हुँदा दानामा समस्या हुने, अंकुर फूट्ने, दानाको चमक गुम्ने र पानीले कुहिने समस्या देखिन्छ । यसले किसानको लागत क्षमता कमजोर बनाउँछ र बजार मूल्यसमेत प्रभावित पार्न सक्छ ।
धान पाकेर खेतमै थन्किएको दृश्य किसानका लागि मनमस्तिष्कमै चोट जस्तै हुन्छ । धेरै किसानले रोपाइँदेखि मल-बीउ, सिँचाइ, मजदुरी सबैका लागि ऋण लिएका हुन्छन् । फुलो महतो भन्छन्, ‘धान अझै भित्र्याउन सकिएको छैन, ऋण कसरी तिर्ने होला ? कसरी परिवार चलाउने होला ?’
सिँचाइको सुविधाको विस्तार, मौसम पूर्वानुमान प्रणाली सबल पार्नु र किसानलाई जलवायु–सहनशील जातको बीउ उपलब्ध गराउनु दीर्घकालीन समाधानका उपाय हुन् । झापा, मोरङ र सुनसरी मात्र होइन, चुरे क्षेत्र र कोशी नदीआसपासका अधिकांश बस्तीका किसान एकै समस्याबाट ग्रस्त छन् ।
