पुस लाग्न थालिसक्यो, किसानको धान खेतमै

रोपाइँमा खडेरी, काट्ने बेलामा बाढी

मंसिर २५, २०८२

पर्वत पोर्तेल

The rain has started to fall, the farmers' rice fields are still wet.

What you should know

काठमाडौँ — सुनसरीको वर्जु गाउँपालिका–३ डम्मरीका किसान फुलो महतो अहिले धान काट्न खेतमै व्यस्त छन् । विगतका वर्षहरूमा यो समयसम्म उनी घरको आँगनमा भित्र्याएको धान थन्क्याएर मकै रोपाइँको चटारोमा हुन्थे । तर, यसपटक दृश्य बिल्कुलै फरक छ । पुस लाग्ने बेला भइसक्यो तर महतोका खेतमा पाकेर पहेँलपुर धान अझै खेतमै छ ।

फुलोका छिमेकी तरुण महतो पनि उस्तै संकटमा परेका छन् । अघिल्ला वर्षहरूमा उनी यो मौसममा थ्रेसरमा दाइँ सकिसकेर अर्को बालीको तयारीमा लागिसक्थे, तर अहिले भर्खर थ्रेसर लगाइरहेका छन् ।

फुलो पीडा सुनाउँदै भन्छन्, ‘यसपालि त विजोग नै भयो । काट्न लागेको बेला बाढी आएर खेतै डुबायो । यस्तो दुःख त पहिले कहिल्यै भोग्नुपरेको थिएन ।’ उनी मात्र होइन, कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका हजारौँ किसान यस्तै पीडामा छन् । कतै धान काटिसकिएको छैन, कतै हालैको बाढीले डुबाएको, लडाएको धान उठाउन किसानलाई भ्याइनभ्याइ छ ।

रोपाइँमा खडेरी, काट्ने बेलामा बाढी

मोरङको सुनवर्षी गाउँपालिकाकी किसान रेवतीदेवी यो वर्षलाई आफ्नो कृषि जीवनकै सबैभन्दा कठिन समयका रूपमा लिन्छिन् । ‘धान रोप्ने बेलामा खडेरीले त्यसै पनि ढिलो गर्‍यो । अनि काट्ने बेलामा बाढी आउँदा झनै पछि धकेलियो,’ उनले दुखेसो सुनाइन्।

यस वर्ष कोशी प्रदेशका धेरै किसानले दोहोरो प्रकोप बेहोर्नुपर्‍यो । असार–साउनमा परेको खडेरीले रोपाइँ ढिलो भयो । ढिलो रोपिएको धान ढिलो पाक्ने नै भयो । त्यसमाथि काट्न लाग्दा अकस्मात् परेको वर्षा र आएको बाढीले खेतमै पानी जमेर धान काट्न असम्भव बनाइदियो ।

कृषि विकास निर्देशनालय विराटनगरकी बाली विकास अधिकृत भवानी बस्नेतका अनुसार यस वर्ष धान उत्पादनमा जलवायु परिवर्तनको असर देखिएको छ । ‘धेरै स्थानमा खडेरीका कारण रोपाइँ ढिलो भयो । ढिलो रोपिएको बाली ढिलो नै पाक्छ । फेरि काट्ने बेलामा पानी परेकाले उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ,’ उनले बताइन् ।

झापाको मेचीनगरकी किसान मालती उराउँ विगत सम्झिँदै भन्छिन्, ‘पहिले त मंसिर लाग्न नपाउँदै सबै धान घरभित्र भइसकेको हुन्थ्यो । तर, यसपालि आधा धान अझै खेतमै छ ।’

The rain has started to fall, the farmers' rice fields are still wet.

स्थानीय कृषि प्राविधिकहरूको अनुमानमा बाढीले धान बगाउनु, बालीले पानी सोस्नु, बाला ढल्नु, दाना झर्नु र दाना कालो पर्ने जस्ता समस्याले उत्पादन मात्र होइन, धानको गुणस्तर पनि घटाएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार झापा, मोरङ र सुनसरीमा यस वर्ष धान उत्पादन घट्ने सम्भावना धेरै छ । निरन्तर पर्ने पानीले पाकिरहेको धानलाई सबैभन्दा धेरै प्रभाव पार्छ । निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङ भन्छिन्, ‘धान कटाइ ढिलो भएको छ, त्यसैले कुनै जिल्लाबाट पनि उत्पादनको पूर्ण विवरण आइसकेको छैन । तर, प्रारम्भिक मूल्यांकनले उत्पादन घट्ने संकेत स्पष्ट देखिएको छ ।’

कृषि विज्ञहरूको भनाइमा, धान काट्न ढिलो हुँदा दानामा समस्या हुने, अंकुर फूट्ने, दानाको चमक गुम्ने र पानीले कुहिने समस्या देखिन्छ । यसले किसानको लागत क्षमता कमजोर बनाउँछ र बजार मूल्यसमेत प्रभावित पार्न सक्छ ।

धान पाकेर खेतमै थन्किएको दृश्य किसानका लागि मनमस्तिष्कमै चोट जस्तै हुन्छ । धेरै किसानले रोपाइँदेखि मल-बीउ, सिँचाइ, मजदुरी सबैका लागि ऋण लिएका हुन्छन् । फुलो महतो भन्छन्, ‘धान अझै भित्र्याउन सकिएको छैन, ऋण कसरी तिर्ने होला ? कसरी परिवार चलाउने होला ?’

सिँचाइको सुविधाको विस्तार, मौसम पूर्वानुमान प्रणाली सबल पार्नु र किसानलाई जलवायु–सहनशील जातको बीउ उपलब्ध गराउनु दीर्घकालीन समाधानका उपाय हुन् । झापा, मोरङ र सुनसरी मात्र होइन, चुरे क्षेत्र र कोशी नदीआसपासका अधिकांश बस्तीका किसान एकै समस्याबाट ग्रस्त छन् । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully