पहिलो पटक वित्तीय प्रविधि प्रदर्शनी

प्रदर्शनीमा ६० देखि ६५ स्टल रहनेछन् । तिनमा डेटा सेन्टर प्रदायक, केवाईसी/एमएल सेवा प्रदायक, क्यूआर सेवा प्रदायक, डेटा एनालिटिक्स, एआई सर्भिस प्रोभाइडर, पेमेन्ट सर्भिस अपरेटर र पीओएस, एटीएम, किओस्क डिभाइसजस्ता विभिन्न हार्डवेयर प्रदायकले भाग लिनेछन् ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

First-ever financial technology exhibition

काठमाडौँ — काठमाडौं (कास)– वित्तीय क्षेत्रमा भइरहेको तीव्र डिजिटल रूपान्तरण वा बैंकिङ सेवा लिने र दिने शैलीमा के–कस्ता आधुनिक प्रविधि जोडिँदै छन् भन्नेबारे बहस र झलक प्रस्तुत गर्ने गरी नेपालमा पहिलो पटक वित्तीय–प्रविधि प्रदर्शनी हुने भएको छ ।

फिनटेक अलायन्स नेपालले १८ र १९ पुसमा सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गर्ने प्रदर्शनीमा नवीनतम वित्तीय प्रविधिसँग सम्बन्धित वस्तु तथा सेवा राखिने अलायन्सका अध्यक्ष अमित अग्रवालले जानकारी दिए । 

प्रदर्शनीमा ६० देखि ६५ स्टल रहनेछन् । तिनमा डेटा सेन्टर प्रदायक, केवाईसी/एमएल सेवा प्रदायक, क्यूआर सेवा प्रदायक, डेटा एनालिटिक्स, एआई सर्भिस प्रोभाइडर, पेमेन्ट सर्भिस अपरेटर र पीओएस, एटीएम, किओस्क डिभाइसजस्ता विभिन्न हार्डवेयर प्रदायकले भाग लिनेछन् ।

‘जेन–जी, जेन अल्फाजस्ता भविष्यका ग्राहकहरूले भोइस कमान्डका आधारमा कसरी कारोबार गर्नेछन् भन्नेजस्ता विषयमा हामीले अनुसन्धान र विकास (आर एन्ड डी) गर्न आवश्यक छ भन्नेबारे एक्सपोमा उजागर गरिनेछ,’ आईएमई खल्तीका सहसंस्थापक एवं निर्देशकसमेत रहेका अग्रवालले भने, ‘वित्तीय क्षेत्रमा एआई कसरी प्रयोग गर्ने, ठगी पहिचान, विवाद वा जोखिम व्यवस्थापनमा प्रविधिले कस्तो काम गर्न सक्छ वा सिमलेस युजर एक्सपिरियन्स कसरी दिने भन्नेबारे हाम्रा वित्तीय संस्थाहरूले आर एन्ड डी गर्ने बेला भइसकेको छ । यसमा लगानी गरिएन भने हामी पछि पर्छौं ।’ 

प्रदर्शनीमा बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवा प्रदायक, बिमा कम्पनी, पुँजी बजार, आईटी तथा सफ्टवेयर कम्पनी, फिनटेक तथा टेक स्टार्टअप, सरकारी संस्थान, लगानीकर्ता (भेन्चर क्यापिटल फर्म), दातृ निकायलगायत डिजिटल अर्थतन्त्रका सबै सरोकारवाला एकै स्थानमा भेला हुनेछन् ।

नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण र आईक्यानजस्ता नियामक ‘सपोर्टर’का रूपमा जोडिने अलायन्सका उपाध्यक्ष देवेन्द्र खड्काले बताए ।

आयोजकहरूले करिब ४ हजारभन्दा बढी सहभागीहरू आउने अपेक्षा गरेका छन् । एक्सपोमा स्टार्टअपहरूलाई प्रोत्साहन गर्न १० वटासम्म ‘स्टार्टअप टेबल’ छुट्याइनेछ । एआई, ओपन सोर्स, पाइथन, जाभा लगायतका विभिन्न टेक समूदायलाई पनि ‘फर्स्ट कम, फर्स्ट सर्भ’ का आधारमा निःशुल्क टेबलको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । 

नेपाल क्लियरिङ हाउस लिमिटेडकी चिफ अपरेटिङ अफिसरसमेत रहेकी फिनटेक अलायन्सकी लर्निङ एन्ड डेभेलप्मेन्ट चेयर मुन्नी राजभण्डारीले पहिलोपटक हुन लागेको प्रदर्शनीले नेपालको डिजिटल वित्तीय क्षेत्रमा नयाँ उत्साह थप्ने अपेक्षा व्यक्त गरिन् । ‘यो एक्सपो आयोजना गर्नुको मुख्य उद्देश्य भनेको नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नीतिगत संवाद र वित्तीय क्षेत्रबीचको सहकार्यलाई मजबुत बनाउनु हो,’ उनले भनिन्, ‘प्रयोगकर्ता र व्यवसायले प्रविधिमा आधारित वित्तीय सुविधाबाट फाइदा उठाउन सकून् भन्ने हो ।’  

अलायन्सका अनुसार विश्वमा भइरहेको वित्तीय क्षेत्रको तिब्र डिजिटल रूपान्तरणमा नेपाल पछाडि नपरोस् भन्नका लागि प्रदर्शनीको आवश्यकता महसुस गरिएको हो । बी-टु-बी (बिजनेस-टु-बिजनेस) शैलीको एक्स्पोमा नेपालको डिजिटल वित्तीय इकोसिस्टमलाई एक ठाउँमा ल्याउन खोजिएको अलायन्सले उल्लेख गरेको छ । प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ राखिएको छ ।  

कान्तिपुर

Link copied successfully