एउटै व्यक्ति एकभन्दा बढी सहकारीको सञ्चालक नबन्न विभागको निर्देशन

उक्त निर्देशन विपरीत अझै पनि केही व्यक्ति एकभन्दा बढी सहकारी संस्थामा सञ्चालक रहेको उजुरीका आधारमा सहकारी विभागले पुनः निर्देशन जारी गरेको हो ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Department directs that the same person should not be the director of more than one cooperative

What you should know

काठमाडौँ — एक व्यक्ति एकै समयमा एकभन्दा बढी सहकारीको सञ्चालक बन्न नपाउने व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि सहकारी विभागले निर्देशन जारी गरेको छ ।

यो निर्देशन पुरानै हो । तर, उक्त निर्देशन विपरीत अझै पनि केही व्यक्ति एकभन्दा बढी सहकारी संस्थामा सञ्चालक रहेको उजुरीका आधारमा सहकारी विभागले पुनः निर्देशन जारी गरेको हो ।

सहकारी ऐन, २०७४ को दफा ४१ (५) मा रहेको कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था र दफा ४४ (१) को खण्ड (ग) मा रहेको कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन सक्ने छैन भन्ने प्रावधान छ ।

यो व्यवस्था कार्यान्वयनका लागि यस विभाग र सहकारी नियामक निकायहरुबाट यस अघि देहाय बमोजिम निर्देशन तथा मापदण्ड जारी भइसकेको छ । तर, प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन । सोही कारण अहिले विभागले निर्देशन जारी गरेको हो ।  

‘हालसम्म पनि केहि व्यक्तिहरु दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भई रहेकोले निर्देशनका बाबजूत यसरी हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनु भएका सञ्चालक सदस्यलाई यथाशिघ्र उक्त कानूनी प्रावधान कार्यान्वयन लागि सम्बन्धित सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरिएको छ,’ विभागले जारी गरेको निर्देशनमा भनिएको छ ।

यसअघि सहकारी विभागवाट १९ असार २०८१ र १७ साउन २०८१ मा एउटै व्यक्ति एकै समयमा एकभन्दा बढी संस्थामा सञ्चालक बन्न नपाउने निर्देशन जारी भएको थियो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि ९ जेठ २०८२मा जारी गरेको बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकिय मापदण्ड, २०८२ को परिच्छेद ७ को बुँदा १.४ मा पनि उक्त व्यवस्था छ ।

यस्तै, सहकारी विभागवाटै ३२ असार २०८२ मा जारी भएको सहकारी संघ संस्थामा सुशासन प्रबर्धनको लागि जारी एकिकृत निर्देशन, २०८२ को बुँदा नं १६. र नेपाल राष्ट्र बैंकवाट मिति २०८११२/०४ मा जारी भएको वचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्ड, २०८१ ले पनि एकै समयमा एकै व्यक्तिलाई एकभन्दा बढी सहकारीको सञ्चालक बन्न रोक लगाएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully