रिलायन्सले निष्कासन गरेको ५७ हजार ७ सय ९८ कित्ता सेयर प्राप्त गर्न सामूहिक लगानी कोषका ४५ वटा योजनाले आवेदन दिएका थिए । तीमध्ये ४१ योजनालाई सेयर वितरण गरिएको छ ।
What you should know
काठमाडौँ — रिलाइन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि निष्कासन गरेको आईपीओमा १८ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको ५ प्रतिशत अर्थात् ५७ हजार ७ सय ९८ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको थियो । जसमा ९ लाख २४ हजार ७६८ कित्ताको लागि आवेदन परेको छ, जुन मागको १८ गुणा बढी हो ।
रिलायन्सले निष्कासन गरेको ५७ हजार ७ सय ९८ कित्ता सेयर प्राप्त गर्न सामूहिक लगानी कोषका ४५ वटा योजनाले आवेदन दिएका थिए । तीमध्ये ४१ योजनालाई सेयर वितरण गरिएको छ ।
४ करोड ७४ लाख ४० हजार ५९८ रकम आवश्यक भएकोमा ७५ करोड ९० लाख ४९ हजार ५७४ रुपैयाँ जम्मा भएको थियो । आवश्यकभन्दा बढी ७१ करोड १६ लाख ८ हजार ९७६ रुपैयाँ फिर्ता गनुपर्ने भएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि सोमबार १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो । निर्धारित अवधि (बिहीबार) सम्म ३६ हजार ८२ आवेदकले २० लाख १ हजार ४७० कित्ताको आवेदन परेको छ ।
रिलायन्सले सार्वजनिक का लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत वैदेशिक रोजगारकर्ताका लागि निष्कासन गरेको थियो । निर्धारित अवधिभित्र पूर्ण आवेदन नपरे ७ पुससम्म लम्ब्याउन सकिने भए पनि मागभन्दा बढी आवेदन परेपछि निष्कासन अवधि नलम्बिने कम्पनीको भनाइ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आर्इएमई क्यापिटल लिमिटेड छ ।
कम्पनीको प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीले वार्षिक ५० मिलियन अमेरिकी डलरभन्दा बढीको निर्यात गर्दै आएको बताएको छ ।
