चार दिनदेखि तातोपानी नाका ठप्प, कन्टेनरमै कुहिन थाले फलफूल

सरकारी निकायले करोडौं खर्चेर पनि पहिरो नियन्त्रण गर्न नसक्दा यहाँका झण्डै चार सय घरधुरी जोखिममा पर्दा आक्रोशित स्थानीयले धर्ना गर्दै नाका बन्द गरेका हुन् ।

मंसिर २४, २०८२

अनिश तिवारी

Tatopani border crossing closed for four days, fruits rotting in containers

What you should know

सिन्धुपाल्चोक — पहिरो नियन्त्रणको माग गर्दै स्थानीयले सडकमा धर्ना दिएपछि जिल्लाको भोटेकोसी गाउँपालिका-२ तातोपानीबाट चीन जोड्ने उत्तरी नाका तातोपानी चार दिनदेखि ठप्प छ ।

सीमा जोड्ने सडक (२६ किलोमिटर) को इको पहिरो, कोप्लाङ र १० किलो आसपास सडक बिग्रेको १० वर्ष बितिसकेको छ ।

सरकारी निकायले करोडौं खर्चेर पनि पहिरो नियन्त्रण गर्न नसक्दा यहाँका झण्डै चार सय घरधुरी जोखिममा पर्दा आक्रोशित स्थानीयले धर्ना गर्दै नाका बन्द गरेका हुन् ।

भोटेकोसी-२ का अध्यक्ष कुमार श्रेष्ठकाअनुसार कोदारी खण्ड क्रमशः भास्सिएर पहिरो गएसँगै चौकीडाँडा, मिलन बजार, लालवीर चोक, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार र तामाङ गुम्बालगायत क्षेत्रका करिब चार सय घरधुरी जोखिममा परेको छ  । 'बर्खाभर गाउँ पहिरोमा बगिरहने, हिउँदमा चुप बस्ने,  बर्खा लागेपछि र पहिरो खोतल्ने गर्दा गाउँ नै जोखिममा पर्‍यो, यहाँको आवाजलाई कहिले सुनिन्छ ?,' वडाध्यक्ष श्रेष्ठले भने ।

सडक डिभिजन कार्यालय चरिकोटले विभिन्न समयमा दिएको ठेक्काले  पहिरो नियन्त्रण प्रभावकारी नभएको स्थानीयको गुनासो छ । वडावासी सबै जम्मा भएर पहिरोमा धर्ना बसेको र इको पहिरो नियन्त्रणका लागि तत्काल काम सुरु गर्न सडक डिभिजन र ठेकेदारलाई दबाव दिएको स्थानीयले बताएका छन्  । पहिरो नियन्त्रणका लागि स्पष्ट बजेट सुनिश्चित भएपछि मात्र धर्ना हटाउने उनीहरूको अडान छ ।

पाँच दिनदेखि सडक अवरुद्ध रहे पनि कुनै सरकारी निकायका अधिकारी नाका पुगेका छैनन् । धर्नास्थलमा बसेका स्थानीयले कोदारी बस्ती र व्यापारिक नाका जोगाउन दीर्घकालीन उपाय अनिवार्य भएको बताउँदै आएका छन् । तर इको पहिरो नियन्त्रणका लागि ४८ करोड ४९ लाख रुपैयाँ स्रोत सुनिश्चित भएको सरकारी दाबी छ ।

कन्टेनरमा फलफूल कुहिने थाले

चीनको खासा र न्यालम नाकामा नेपाली व्यापारीका झण्डै तीन सय कन्टेनर फलफूल २५ दिनदेखि रोकिँदा कुहिने थालेको छ । इको पहिरो नियन्त्रणका लागि बजेट सुनिश्चित गर्नुपर्ने माग राखेर तातोपानी–कोदारी खण्डमा स्थानीयले गरेको विरोधका कारण सडक शनिबारदेखि अवरुद्ध छ ।

सडक बन्द हुँदा नेपालतर्फ २० चिनियाँ कन्टेनर पनि लिपिङमा रोकिएका छन् । पुराना फलफूल व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार नाका अवरुद्ध हुँदा तीन सय कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । 

७० करोड रुपैयाँ बराबरको स्याउ र किवी खतरा क्षेत्रमा पुगेको उनको भनाइ  छ । ‘हाम्रो कुनै गल्ती छैन, तर कन्टेनर  रोकेको असर व्यापारीमात्र होइन दुवै देशको व्यापारमा पर्न थालेको छ,’ उनले भने । 

खासा र न्यालममा थन्किएका कन्टेनर तथा नेपालतर्फ रोकिएका चिनियाँ कन्टेनरमा राखिएको फलफूल खराब हुन थालेको उनले बताए ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully