खाद्यको कोटा सकिएपछि सस्तोमा धान बेच्दै किसान

तिपय किसानले उचित मूल्य कुर्दाकुदै धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् भने केहीले स्थानीय व्यापारीलाई सस्तोमा बेच्नुपरेको बताएका छन् ।

मंसिर २४, २०८२

अर्जुन शाह

Farmers selling rice cheaply after food quota runs out

What you should know

कैलाली — खाद्य तथा व्यापार कम्पनीको खरिद कोटा सकिएपछि कैलालीका किसान व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य भएका छन् । कतिपय किसानले उचित मूल्य कुर्दाकुदै धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् भने केहीले स्थानीय व्यापारीलाई सस्तोमा बेच्नुपरेको बताएका छन् ।

‘यसअघि नै २० क्विन्टल धान प्रतिक्विन्टल २५ सयका दरले गल्ला व्यापारीलाई बेचेर गहुँ छर्न खर्च जुटाएँ । ५० क्विन्टल धान घरमै थन्क्याएको छु । अहिले त भाउ घटेर क्विन्टलको २३ सय भएको छ,’ कैलालीको भजनी–३ पडरियाका किसान भागीराम चौधरीले भने, ‘यता घरमा भएको धान मुसाले सिध्याउने डर भइसक्यो । सस्तैमा भए पनि बेच्नुपर्ने बाध्यता छ ।’ 

यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटो धानको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ४६३.८१ रुपैयाँ निर्धारण गरेर खरिद गरेको थियो । निर्धारित कोटा सकिएको भन्दै खाद्यले खरिद बन्द गरिसकेको छ । तर धेरैजसो किसानले भने धान बेच्न पाएका छैनन् ।

‘हाम्रै गाउँका दुई सय परिवारले धान बेच्न नपाएर घरमै थन्कयाएका छन्,’ भजनी नगरपालिकाद्वारा गठित पशुपति टोल विकास संस्थाका अध्यक्षसमेत रहेका पडरियाका किसान रामस्वरूप चौधरीले भने, ‘मैले २० क्विन्टल त गल्ला व्यापारीलाई नै बेचेँ, अझै १० क्विन्टल बेच्न बाँकी छ ।’ खाद्यमा बिक्रीका लागि टोल विकास संस्थामार्फत पहल गरिए पनि सम्भव नभएको उनले बताए । 

अर्का किसान कन्हैयालाल डगौरा किसानलाई जहिल्यै हैरानी हुने गरेको बताउँछन् । खेती गर्नेदेखि बेच्ने बेलासम्म किसानले हरेक काममा घाटा व्यहोरिरहेको उनले बताए । ‘एक बिघामा १० हजार खर्च लाग्छ । बेच्ने बेला व्यापारीले तोकेको भाउमा दिनुपर्ने अवस्था हुन्छ । किसानका लागि यो भन्दा ठूलो विडम्बना के होला ?’ उनले भने । 

गत वर्ष कैलालीमा ५५ हजार र कञ्चनपुरमा १५ हजार क्विन्टल कोटा निर्धारण गरेको खाद्य तथा व्यापार कम्पनीले यस वर्ष कैलालीमा ३५ हजार र कञ्चनपुरमा ५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेको थियो । निर्धारित कोटा खरिद सुरु गरेको करिब दुई सातामै पूरा भएको कम्पनीका प्रदेश कार्यालय प्रमुख दीपक थापाले बताए । ‘गत वर्षको तुलनामा कोटा घटेर आयो । पोहोर कोटाअनुसार कम धान खरिद भयो । त्यसैले सरकारले यस वर्ष कोटा परिमाण घटाएको हो,’ थापाले भने ।

किसानको भनाइमा खाद्यमा धान बिक्री गर्नै कठिन हुन्छ । उनीहरूका अनुसार खाद्यमा खरिद कोटा न्यून हुँदा त्यहाँ पुर्याइसकेको धान फिर्ता ल्याउनेसम्मको झन्झट व्यहोर्नु पर्छ ।

‘कोटा कम हुँदा धान बेच्न पहुँच चाहिने अवस्था हुन्छ । त्यसैमा धान बिक्रीको रकम खाद्यले किसानलाई तत्काल दिँदैन,’ भजनीकै धानीकुमारी चौधरीले भनिन्, ‘टाढाबाट ढुवानी खर्च व्यहोरेर खाद्य डिपोसम्म पुर्‍याएको धान कर्मचारीले सफा नभएको भन्दै फिर्ता पठाइदिन्छन् ।’ व्यापारीले किसानबाट सस्तोमा किनेर महँगोमा खाद्यलाई नै चामल बेच्ने प्रपञ्च पनि हुने गरेको किसानको आशंका छ । 

खाद्य कम्पनीका प्रदेश प्रमुख थापा यस वर्ष कैलाली र कञ्चनपुरमा गरी ४० हजार क्विन्टल धान खरिदको कोटा निर्धारण भए पनि ४५ हजार ८२४ क्विन्टल खरिद गरेको बताउँछन् । ‘कैलालीमा ३५ हजार क्विन्टल कोटा रहेकोमा ३८ हजार ९४८ क्विन्टल र कञ्चनपुरमा पाँच हजार क्विन्टल कोटामा ६ हजार ८७६  क्विन्टल खरिद गर्‍यौं,’ उनले भने ।

उनका अनुसार कम्पनीले गत वर्ष देशभर सात लाख क्विन्टल धान खरिदको कोटा निर्धारण गरेकोमा १ लाख २० हजार क्विन्टल मात्र किनेको थियो । यस वर्ष देशभर १ लाख ७० हजार क्विन्टल मात्र खरिद कोटा निर्धारण भएको थापाले बताए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully