वीरगन्ज नाकाबाट आयात झन्डै २० प्रतिशतले बढ्यो

चालु आवको प्रथम चौमासिकमा वीरगन्ज नाकाबाट आयात वृद्धि भए पनि भटमास, सूर्यमुखी र पाम तेलको निकासीले निर्यातमा उल्लेख्य वृद्धि आएको छ।

मंसिर २३, २०८२

शंकर आचार्य

Imports from Birgunj border increased by nearly 20 percent

What you should know

पर्सा — मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो । तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको प्रथम चौमासिकमा यो नाका हुँदै २ खर्ब ८२ अर्ब ४२ करोड रुपैयाँ बराबरको मालवस्तु भारत तथा तेस्रो मुलुकबाट आयात भएका छन् । गत आवको सोही अवधिमा २ खर्ब ४० अर्ब ८० करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएका थिए । तुलनात्मक रुपमा गत आवभन्दा चालु आवको प्रथम चौमासिक अवधिमा ४१ अर्ब ६२ करोड रुपैयाँ बराबरको मालवस्तु बढी आयात भएका छन् । यो नाकाबाट आयात हुने मुख्य वस्तुमा इन्धन, सवारीसाधन, फलामजन्य वस्तु, मदिरा आदि रहेका छन् ।

निर्याततर्फ चालु आवको प्रथम चौमासिक अवधिमा ३२ अर्ब ९५ करोड रुपैयाँ बराबरको नेपाली मालवस्तु भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको मालवस्तु भारत र तेस्रो मुलुकतर्फ निकासी भएका थिए । तुलनात्मक रुपमा गत आवको प्रथम चौमासिक अवधिको तुलनामा चालु आवको प्रथम चौमासिक अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको मालवस्तु बढी निकासी भएका छन् ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट चालु आवको प्रथम चौमासिक अवधिमा यो नाकाबाट निकासी बढ्नुमा भारततर्फ नेपाली भटमासको तेल, सूर्यमुखीको तेल र प्रशोधित पामको तेलको निकासी बढनु नै प्रमुख कारण रहेको बताउँछन् । ‘यी तेलको भारततर्फको निकासी ह्वात्तै बढेर समग्र निकासी नै बढेको देखिएको हो,’ उनले भने, ‘सामान्य अवस्थामा भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने अन्य वस्तुको निकासी नियमित रुपमै भइरहे पनि यी तेलको निकासी भने उत्साहजनक रुपमा हुन थालेर यस्तो देखिएको हो ।’

यी तेलको निकासी बढ्दा राजस्वमा भने खासै योगदान नहुने विष्ट बताउछन् । ‘निकासी बढ्दा वैदेशिक मुद्रा भित्रिने क्रम पक्कै पनि बढ्द, तर यसले राजस्वमा भने खासै योगदान बढ्दैन,’ उनले भने, ‘निकासीको प्रत्येक कन्साइन्मेन्टको एउटा फारामको जम्मा १ सय १३ रुपैयाँका दरले राजस्व संकलन हुन्छ, निकासी प्रवर्धनका लागि यसो गरिएको हो ।’

कार्यालयको तथ्यांकअनुसार, चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै १७ अर्ब ३२ करोड रुपैयाँ बराबरको ८ करोड ४० लाख लिटर भटमासको तेल भारततर्फ निकासी भएको छ । गत आवको यसै अवधिमा यो नाकाबाट २ अर्ब २ करोड रुपैयाँ बराबरको ८७ लाख ६४ हजार लिटर भटमासको तेल निकासी भएको थियो ।

चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै २ अर्ब ९ करोड रुपैयाँ बराबरको ३ करोड २४ लाख लिटर सूर्यमुखीको तेल भारततर्फ निकासी भएको छ । गत आवको सोही अवधिमा यो नाका हुँदै १ अर्ब ११ करोड रुपैया बराबरको ६४ लाख ८९ हजार लिटर सूर्यमुखीको तेल निकासी भएको थियो ।

चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै १ अर्ब ५४ करोड रुपैयाँ बराबरको ८५ लाख १४ हजार लिटर प्रशोधित पाम तेल भारततर्फ निकासी भएको छ । गत आवको सोही अवधिमा ४ करोड रुपैया बराबरको २ लाख २३ हजार लिटर प्रशोधित पाम तेल भारत तर्फ निकासी भएको थियो ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully