ठूलो संख्यामा रुग्ण ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छ : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल भन्छन् : 'बैंकहरूले एड्भान्स पेमेन्ट ग्यारेन्टीलगायतका सुविधा पनि दिएका छन् । त्यो अवस्थामा ठेक्का तोडिँदा बैंकहरूमा दायित्व बढ्न गई थप खर्च बढ्छ ।'

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Banking sector affected by large number of sick contracts being terminated: Executive Director Poudel

What you should know

काठमाडौँ — नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले ठूलो संख्यामा रुग्ण ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुने बताए । नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बैंकिङ क्षेत्र बहुआयामिक रूपमा प्रभावित हुने पौडेलको भनाइ छ । ‘ठेक्का तोडिएपछि सम्बन्धित कम्पनीहरू वाच लिस्टमा पर्नुहुनेछ । त्यो अवस्थामा सम्बन्धित कम्पनीहरू कर्जा उपभोगबाट वञ्‍चित हुने अवस्था आउन सक्छ,’ उनले भने, ‘हालसम्म प्रवाह भएका कर्जा कमसल वर्गमा पर्नेछन् । त्यो अवस्थामा बैंकहरूले प्रोभिजन बढाउनुपर्ने हुन्छ । त्यो अवस्थामा बैंकहरुको खर्च बढ्ने देखिन्छ ।’

बैंकहरूले एड्भान्स पेमेन्ट ग्यारेन्टीलगायतका सुविधा पनि दिएका छन् । त्यो अवस्थामा ठेक्का तोडिँदा बैंकहरूमा दायित्व बढ्न गई थप खर्च बढ्ने उनले बताए । फलस्वरूप निर्माण कम्पनीलाई बाध्यात्मक रूपमा कालो सूचीमा राख्नुपर्ने अवस्था आउने उनले बताए । कालो सूचीमा राखेपछि कर्जा प्रवाहमा थप संकुचन आउने उनले बताए । 

ज्वाइन्ट भेन्चर (जेभी) ठेक्कामा सबै पार्टनर कम्पनी पनि उत्तरदायी हुनुपर्ने उनले बताए । कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको सुविधा आवश्यकताको अवस्थामा मात्रै दिने गरेको बताए । जेभी ठेक्कालाई व्यवस्थित बनाउन आवश्यक रहेको उनले बताए । 

जेभी कानुनी संरचना नभएको भन्दै यसलाई व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए । उनीहरू जिम्मेवार नभए थप समस्या आउन सक्ने उनको भनाइ छ । जेभीमा ठेक्का लिएपछि काम पनि संयुक्त रूपमा गर्नुपर्ने उनले सुनाए  ।

कालो सूची राख्नेसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्न छलफल भइरहेको बताए । यद्यपि, कालो सूचीबाट हटाउन उत्तिकै चुनौती भएको पनि उनले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully