मंसिर सकिन लाग्दासम्म खेतमै धान

रोपाइँ गर्ने बेला परेकाे खडेरी भाेगेका कोशी प्रदेशकाे झापा, मोरङ र सुनसरीका हजारौं किसानलाई यसपाली मंसिर सकिन लाग्दासम्म बाढीले लडाएको धान उठाउन भ्याइनभ्याइ छ ।

मंसिर २३, २०८२

पर्वत पोर्तेल

Paddy in the fields until the end of Mangsir

What you should know

विराटनगर — सुनसरीको बर्जु गाउँपालिका–३ डम्मरीका किसान फुलो महतो अहिले धान काट्न खेतमै व्यस्त छन् ।

विगतका वर्षमा यो समयसम्म उनी घरको आँगनमा भित्र्याएको धान थन्क्याएर मकै छर्ने चटारोमा हुन्थे । तर, यसपटक दृश्य बिल्कुलै फरक छ । मंसिर सकिन लाग्दा पनि महतोको खेतमा पहेँलपुर धान काट्नै बाँकी छ ।

फुलोका छिमेकी तरुण महतो पनि अघिल्ला वर्षमा यतिबेला थ्रेसरमा दाँइ सकेर अर्को बालीको तयारीमा लागिसक्थे । तर, यसपाली भर्खर थ्रेसर लगाइरहेका छन् । फुलो पीडा सुनाउँदै भन्छन्, ‘यसपालि त बिजोग नै भयो । काट्न लागेको बेला बाढी आएर खेतै डुबायो । यस्तो दुःख त पहिले कहिल्यै भोग्नुपरेको थिएन ।’

उनी मात्र होइन, कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका हजारौं किसान यस्तै पीडामा छन् । कतै धान काटिसकिएको छैन, गत असोजमा बाढीले डुबाएको, लडाएको धान उठाउन किसानलाई भ्याइनभ्याइ छ ।

मोरङको सुनवर्षी गाउँपालिकाकी किसान रेवतीदेवी यो वर्षलाई आफ्नो कृषि जीवनकै सबैभन्दा कठिन समयको रुपमा लिन्छिन् । ‘धान रोप्ने बेलामा खडेरीले त्यसै पनि ढिलो गर्यो । अनि काट्ने बेलामा बाढी आउँदा झनै पछि धकेलियो,’ उनले दुखेसो सुनाइन् ।

यस वर्ष कोशी प्रदेशका धेरै किसानले दोहोरो प्रकोप व्यहोर्नुपर्‍यो । असार–साउनमा परेको खडेरीले रोपाइँ नै ढिलो भयो । ढिला रोपिएको धान ढिलो पाक्ने नै भयो । त्यसमाथि पाक्ने बेला वर्षा र बाढीले खेतमा पानी जमेर डुबाइदियाे ।

Paddy in the fields until the end of Mangsir

कृषिविद्हरूका अनुसार समयमा नपर्ने पानी र अचानक अत्यधिक वर्षा हालका वर्षमा बढ्दो समस्या बनेको छ । कृषि विकास निर्देशनालय विराटनगरकी बाली विकास अधिकृत भवानी बस्नेतका अनुसार यस वर्ष धान उत्पादनमा राेप्ने बेलाकाे खडेरी र पाक्ने बेलाकाे बाढीकाे असर देखिएको छ । ‘धेरै स्थानमा खडेरीका कारण रोपाइँ ढिलो भयो । ढिलो रोपिएको बाली ढिलो नै पाक्छ । फेरि काट्ने बेलामा पानी परेकाले उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ,’ उनले भनिन् ।

झापाको मेचीनगरकी किसान मालती उराउँ विगत सम्झिँदै भन्छिन्, ‘पहिले त मंसिर लाग्न नपाउँदै सबै धान घरभित्र भइसकेको हुन्थ्यो । तर, यसपालि आधा धान अझै खेतमै छ । हेरिरहँदा दिक्क लाग्छ ।’ स्थानीय कृषि प्राविधिकको अनुमानमा बाढीले धान बगाउनु, बालीले पानी सोस्नु, बाला ढल्नु, दाना झर्नु र दाना कालो पर्ने जस्ता समस्याले उत्पादन मात्र होइन, धानको गुणस्तर पनि घटाएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार झापा, मोरङ र सुनसरीमा यस वर्ष धान उत्पादन घट्ने सम्भावना धेरै छ । पाक्ने बेलाकाे निरन्तर पानीले धानलाई सबैभन्दा धेरै असर पार्छ । निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङ भन्छिन्, ‘धान काट्न ढिलो भएको छ, त्यसैले कुनै जिल्लाबाट पनि उत्पादनको पूर्ण विवरण आइसकेको छैन । तर, प्रारम्भिक मूल्यांकनले उत्पादन घट्ने संकेत स्पष्ट देखिएको छ ।’

कृषिविज्ञहरूको भनाइमा धान काट्न ढिलो हुँदा दानामा समस्या हुने, अंकुर फुट्ने, दानाको चमक गुम्ने र पानीले कुहिने समस्या देखिन्छ । यसले किसानको लागत क्षमता कमजोर बनाउँछ र बजार मूल्यसमेत प्रभावित पार्न सक्छ ।

'धेरै किसानले रोपाइँदेखि मल–बिउ, सिँचाइ, मजदुरी सबैका लागि ऋण लिएका हुन्छन् । धान पाकेर खेतमै थन्किएको दृश्य किसानका लागि मनमस्तिष्कमै चोट जस्तै हुन्छ,' फुलो महतो भन्छन्, ‘धान अझै भित्र्याउन सकिएको छैन, कसरी ऋण तिर्ने ? के गरी परिवार चलाउने ?’ किसानहरूको यस्तो मनोवैज्ञानिक दबाबले खेतीमा मन नलागेर अर्को वर्षको उत्पादनमा पनि प्रभाव पर्ने उनले बताए ।

किसानहरु सरकारले राहत र क्षतिपूर्ति दिनपर्ने माग गर्न थालेका छन् । बाढीपीडित किसानलाई क्षतिकाे मूल्यांकन गरेर राहत दिने व्यवस्था भए पनि वितरणमा ढिलाइ, कागजी झन्झट र वास्तविक क्षति नपुग्ने गरेकाे किसानकाे गुनासो छ । 

कृषिविज्ञहरूका अनुसार अहिलेको अवस्थालाई दीर्घकालीन समाधानका साथ हेर्न आवश्यक छ । समयमै बाली बिमा, सिँचाइ सुविधाको विस्तार, मौसम पूर्वानुमान प्रणाली सबल पार्नु र किसानलाई जलवायु सहनशील जातको बिउ उपलब्ध गराउनु यसकाे दीर्घकालीन समाधानका उपाय हुन् ।

झापा, मोरङ र सुनसरी मात्र होइन, चुरे क्षेत्र र कोशी नदी आसपासका अधिकांश बस्तीका किसान एकै समस्या व्यहोरिरहेका छन् । जलवायु परिवर्तनको प्रभावले खेतीपाती अनिश्चित बन्दै जाँदा कृषिमा निर्भर सामान्य किसानकाे जीवन थप जोखिमपूर्ण बनेको छ । 

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully