धान बेच्ने हैरानीमा कैलालीका किसान

खाद्य तथा व्यापार कम्पनीकाे खरिद कोटा सकिएपछि व्यापारीलाई सस्तोमा धान बेच्दै किसान

मंसिर २३, २०८२

अर्जुन शाह

Kailali farmers in dilemma over rice sales

What you should know

भजनी, कैलाली — खाद्य तथा व्यापार कम्पनीको खरिद कोटा सकिए पछि कैलालीका किसान सस्ताेमा धान बेच्न बाध्य छन् ।

कतिपय किसानले उचित मूल्य कुर्दाकुदै धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् भने कसैले स्थानीय गल्ला व्यापारीलाई सस्तोमा बेच्नुपरेको बताएका छन् ।

‘यसअघि नै २० क्विन्टल धान गल्ला व्यापारीलाई २५ सयका दरले बेचेर गहुँ छर्न केही खर्च जुटाएँ । ५० क्विन्टल धान घरमै थन्क्याएको छु । अहिले त भाउ घटेर क्विन्टलको २३ सय भएको छ,’ कैलालीको भजनी नगरपालिका ३ पडरियाका किसान भागीराम चौधरीले भने, ‘यता घरमा भएको धान मुसाले सिध्याउने डर भइसक्यो । सस्तैमा भए पनि बेच्नुपर्ने बाध्यता छ ।’ 

यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटो धानको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ४६३.८१ रुपैयाँ निर्धारण गरेर खरिद गरेको थियो । निर्धारित कोटा सकिएको भन्दै खाद्यले खरिद बन्द गरिसकेको छ । तर धेरैजसो किसानले भने धान बेच्न पाएका छैनन् । ‘हाम्रै गाउँका दुई सय परिवारले धान बेच्न नपाएर घरमै थन्कयाएका छन्,’ भजनी नगरपालिकाद्वारा गठित पशुपति टोल विकास संस्थाका अध्यक्षसमेत रहेका पडरियाका किसान रामस्वरुप चौधरीले भने, ‘मैले २० क्विन्टल त गल्ला व्यापारीलाई नै बेचें, अझै १० क्विन्टल बिक्री गर्न बाँकी छ ।’ खाद्यमा बेच्नका लागि टोल विकास संस्थाद्वारा सामूहिक पहल गरिए पनि सम्भव नभएको उनले बताए ।  

सरकारले मोटो धान प्रतिक्विन्टल ३ हजार ४६३.८१ रुपैयाँ बिक्री मूल्य निर्धारण गरेको भए पनि किसान भने यतिबेला गल्ला ब्यापारीलाई प्रतिक्विन्टल २ हजार ३ सयमा बिक्री गरिरहेका छन् । ‘गल्ला व्यापारीले दिने रेटमा बिक्री गर्नुको विकल्पै रहेन,’ पडरियाकै अर्का किसान धानी कुमारी चौधरीले भनिन्, ‘खाद्य कम्पनीमा त बिक्री गर्नै पाइएन ।’ 

अर्का किसान कन्हैयालाल डगौरा किसानलाई जहिल्यै हैरानी हुने गरेको बताउँछन् । खेती गर्नेदेखि बेच्ने बेलासम्म किसानले हरेक काममा घाटा व्यहोरिरहेको उनले बताए । ‘एक विघामा १० हजार खर्च लाग्छ । बेच्ने बेला व्यापारीले तोकेको भाउमा दिनुपर्ने अवस्था हुन्छ । किसानका लागि यो भन्दा बिडम्बना के होला ?’ उनले भने । 

गत वर्ष कैलालीमा ५५ हजार र कञ्चनपुरमा १५ हजार क्विन्टल कोटा निर्धारण गरेको खाद्य तथा व्यापार कम्पनीले यस वर्ष कैलालीमा ३५ हजार र कञ्चनपुरमा पाँच हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेको थियो ।

निर्धारित कोटा खरिद सुरु गरेको करिब दुई सातामै पूरा भएको कम्पनीका प्रदेश कार्यालय प्रमुख दिपक थापाले बताए । ‘गत वर्षको तुलनामा कोटा घटेर आयो । पोहोर कोटा अनुसार कम धान खरिद भयो । त्यसैले सरकारले यस वर्ष कोटा परिमाण घटाएको हो,’ थापाले भने ।

किसानको भनाईमा खाद्यमा धान बिक्री गर्नै कठिन हुन्छ । उनीहरुका अनुसार खाद्यमा खरिद कोटा न्यून हुँदा त्यहाँ पुर्याइसकेको धान फिर्ता ल्याउनेसम्मको झन्झट व्यहोर्नु पर्छ । ‘कोटा कम हुँदा धान बेच्न पहुँच चाहिने  हुन्छ । त्यसैमा धान बिक्रीको रकम खाद्यले तत्काल दिँदैन,’ भजनीकै धानी कुमारी चौधरीले भनिन्, ‘टाढाबाट ढुवानी खर्च व्यहोरेर खाद्य डिपोसम्म पुर्‍याएको धान कर्मचारीले सफा नभएको भन्दै फिर्ता पनि पठाइ दिन्छन् ।’ व्यापारीले किसानबाट सस्तोमा खरिद गरेर महंगोमा खाद्यलाई नै चामल बिक्री गर्ने प्रपञ्च पनि हुने गरेको किसान आशंका गर्छन् । 

खाद्य कम्पनीका प्रदेश प्रमुख थापा यस वर्ष कैलाली र कञ्चनपुरमा गरी ४० हजार क्विन्टल धान खरिदको कोटा निर्धारण भए पनि किसानको बढेकाले ४५ हजार ८२४ क्विन्टल खरिद गरेको बताउँछन् । ‘कैलालीमा ३५ हजार क्विन्टल कोटा रहेकोमा ३८ हजार ९४८ र कञ्चनपुरमा पाँच हजार क्विन्टल कोटामा ६ हजार ८७६ खरिद गर्‍यौं,’ उनले भने ।  

थापाका अनुसार कम्पनीले गत वर्ष देशभर सात लाख क्विन्टल धान खरिदको कोटा निर्धारण गरेकोमा १ लाख २० हजार क्विन्टल मात्र खरिद गरेको थियो । यस वर्ष देशभरबाट १ लाख ७० हजार क्विन्टल मात्र खरिद कोटा निर्धारण भएको थापाले बताए । 

गत आर्थिक वर्षमा धनगढीबाटै ५६ हजार ५२७ क्विन्टल र कञ्चनपुरबाट पाँच हजार क्विन्टल चामल बिक्री भएको थापाले बताए । खाद्यले धान खरिद गरेर आफ्नै मिलमा कुटानी गरेर चामल बिक्री गर्दै आएको छ ।

खाद्यले धान कम खरिद गरेर व्यापारीबाट चामल खरिद गर्दै आएको छ । गत वर्ष धनगढीबाटै ५६ हजार ५२७ क्विन्टल चामल बिक्री गरेको खाद्यले यस वर्ष धान खरिद पनि ३८ हजार क्विन्टल गर्दा चामलको माग कसरी पूर्ति गर्छ भन्ने सन्दर्भमा प्रदेश प्रमुख थापाले भने ‘त्यो त केन्द्रले टेन्डर गरेर व्यापारीबाट चामल खरिद गर्ने हो ।’ 

खाद्यले सुदूरपश्चिममा ९ वटा जिल्लामा पाँच वटा शाखा, दुई वटा डिपाे कार्यालय र ६० वटा बिक्री केन्द्रबाट चामल बिक्री वितरण गर्दै आएको प्रदेश कार्यालयले जनाएको छ ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीका अनुसार यस वर्ष कैलालीमा ६८ हजार ५४१ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ३ लाख ८ हजार ४३४ मेट्रिक टन उत्पादन भएको छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully