चार महिनामा १०९ प्रतिशतले बढ्यो अलैँची निर्यात

मेची भन्सार कार्यालय झापाका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो।

मंसिर २२, २०८२

आनन्द गौतम

Cardamom exports increase by 109 percent in four months

What you should know

ताप्लेजुङ — मेची भन्सार कार्यालय झापाबाट चालू आर्थिक वर्षको पहिलो चार महिनामा अलैँची निर्यात एक सय नौ प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांक अनुसार यो अवधिमा तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।

चार महिनामा एक हजार ८ सय २३ मेट्रिक टन अलैँची निर्यात भएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको यही अवधिमा एक अर्ब ९० करोड दुई लाख बराबरको अलैँची निर्यात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस वर्ष अलैँचीको मूल्य एक लाख १० हजार प्रति मन (४० किलो) सम्मले कारोबार भएको छ । व्यापारीले चलनचल्तीको, पुच्छर काटेको र ठूलो दाना भएको गरी तीन किसिमले अलैँचीको वर्गीकरण गरेर कारोबार गर्दै आएका छन् ।

पुच्छर काटेको ठूलो दानाको मूल्य सबैभन्दा बढी रहेको छ । तर यसको कारोबार भने झापाको बिर्तामोडमा अधिक हुन्छ । पुच्छर काटेको दानाको मूल्य त्यसपछि धेरै हुने गरेको छ । चलनचल्तीमा भने जस्तो सुकै अलैँची बिक्री हुने गरेको छ । यसको मूल्य सबैभन्दा कम हुन्छ ।

ठूलो दानाले चलनचल्तीको भन्दा प्रति मन १० हजार रुपैयाँ बढीसम्म पाउने गरेको छ भने पुच्छर काटेकोले तीनदेखि पाँच हजार रुपैयाँ बढी साटिन्छ ।

साउनदेखि किसानले अलैँची उत्पादन सुरु गर्छन् । अधिकांशजसो अलैँची मेची भन्सार कार्यालय भएरै भारत निर्यात हुने गरेको छ । नेपालको ९८ प्रतिशत अलैँची भारत निर्यात हुने तथ्यांकले देखाएको छ ।

भारतबाट भने पाकिस्तान र खाडी मुलुकमा निर्यात हुन्छ । मसला बनाउने प्रयोजनका लागि नेपाल, भारत र भुटानको अलैँची तेस्रो देश जाने गरेको व्यापारीहरूले बताएका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully