उखुसँगै तोरी, गहुँ, मकै, मसुरो, आँप र लिचिलगायत बालीनालीमा विषादी र झोल मल ड्रोनबाटै हाल्ने गर्छन् ।
What you should know
कञ्चनपुर — उखुमा रोगकिराको प्रकोप देखिँदा विषादी हाल्न होस् वा झोल मल राख्न निकै समस्या हुन्छ । बाेट अग्लो हुने भएकाले हाते स्प्रे मेसिनबाट सबै ठाउँमा पुर्याउन पनि नसकिने । सँगै विषादी हाल्नेको शरीरमा पर्ने जोखिम ।
पछिल्लो समय उखुबारीमै बाघ र चितुवा देखिन थाले पछि डरत्रास पनि उत्तिकै । कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीभोजाका आश्रय बडायकलाई यस्तै समस्याले पिरोलिरहन्थ्यो ।
उखुमा रोगकिरा देखिए उनलाई झनै चिन्ता लाग्थ्यो । विषादी छर्ने कामदार पाउन समेत गाह्रो हुन्थ्यो । अचेल उनलाई विषादी छर्न होस वा झोल मल हाल्न कुनै चिन्ता छैन । दुई वर्षदेखि उनले ड्रोनबाट विषादी र मल हाल्ने काम गरिरहेका छन् । ‘सबैभन्दा धेरै उखुमा विषादी हाल्दा समस्या हुन्थ्यो, उखु अग्लो भएर सबै ठाउँमा पुर्याउन सकिदैनथ्यो, फेरि शरीरमा पनि पर्थ्यो,’ बडायकले भने, ‘ड्रोनबाट विषादी हाल्न थालेपछि यो सबै समाधान भएको छ, श्रमिक पनि लगाउनु पर्दैन ।’ उनले उखुसँगै तोरी, गहुँ, मकै, मसुरो, आँप र लिचिलगायत सिजन अनुसारका सबै बालीनालीमा विषादी र झोल मल ड्रोनबाटै हाल्ने गरेका छन् ।
२०७९/०८० मा सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयले ५० प्रतिशत अनुदानमा उन्नत प्रविधि भित्र्याउन सहयोग गरेपछि उनले ड्रोन खरिद गरेका हुन् । उक्त ड्रोनमा १८ लिटरको ट्यांकी जडान गरिएको छ । १५ मिनेटमा एक विघामा विषादी छर्न सकिने बडायक बताउँछन् ।
१३ लाख रुपैयाँमा खरिद गरिएको उक्त ड्रोनलाई स्वचालित वा रिमोर्टबाट सञ्चालन गर्न सकिने बनाइन्छ । स्वचालितका लागि जिपिएस मार्किङ गरिन्छ । त्यसपछि ड्रोनको ट्यांकीमा विषादी भरेर उडाइन्छ । ड्रोनले जिपिएस मार्किङ गरिएको क्षेत्रभित्र मात्रै विषादी छर्ने काम गर्छ । अर्को रिमोर्टबाट आवश्यकता अनुसार ड्रोन चलाएर विषादी छर्ने काम पनि गरिन्छ । करिब १५ मिनेटमा एक विघामा विषादी छर्न सकिने बडायक बताउँछन् ।
४० वर्षीय राना परम्परागत भन्दा पनि आधुनिक तरिकाबाट खेतीपाती गर्न रुचाउँछन् । उनले आधुनिक प्रविधिबाट उखुको बेर्ना तयार गर्नेदेखि उखुसँगै मिश्रित वालीका रुपमा तोरी लगाउने काम पनि गरिरहेका छन् । उनले २०७९/०८० मा सुदूरपश्चिम प्रदेश सरकारबाट उत्कृष्ट कृषक पुरस्कार पनि प्राप्त गरेका थिए ।
अहिले बडायकले ६ विघामा उखु खेती गरेका छन् । दुई विघामा तोरी, एक विघामा गहुँ र एक विघामा मकै लगाएका छन् । उनले केही उखु काटेर चिनी मिलमा पठाइसकेका छन् । ‘बुवा पनि यसरी नै कृषि गर्नुहुन्थ्यो, मैले पनि उहाँकै पेशालाई पछ्याए,’ बडायकले भने, ‘अहिले राम्रै भएको छ, आम्दानी पनि ठिकै छ ।’ उनले खेतीपातीबाटै वर्षमा २० देखि २५ लाखसम्म आम्दानी गरिरहेका छन् ।
अहिले उखु र तोरी मिश्रित बालीका रुपमा लगाएका छन् । तोरी निकालेपछि उखु ठूलो हुन्छ । त्यसपछि आवश्यक विषादी छर्ने काम गरिन्छ । पछिल्लो समय अन्य कृषकले पनि मिश्रित बालीका रुपमा उखुसँगै तोरी वा केरा रोप्न थालेका छन् ।
‘ठूलो क्षेत्रफलमा व्यवसायिक खेती गर्नेका लागि विषादी छर्न ड्रोन फाइदाजनक छ, यसले कम समय र लगानीमा धेरै क्षेत्रफलमा काम गर्न सकिन्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्म साउँदले भने, ‘यसले सबैतिर एकनासले विषादी र मल छर्न सकिन्छ ।’ तर पछिल्लो समय जमिनको खण्डीकरण सँगै स–साना किसानका लागि भने लगानी र प्रविधिका हिसाबले धेरै फाइदाजनक नभएको उनले बताए ।
