कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको कोटाबाट आईपीओ जारी गर्न लागेको हो।
What you should know
काठमाडौँ — रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सोमबार (मंसिर २२) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको कोटाबाट आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले सार्वजनिक निष्कासनका लागि राखिएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता शेयर विदेशमा रहेका नेपालीका लागि छुट्याइएको जनाएको छ।
बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको रिलायन्सले एक वर्षअघि आईपीओको मूल्य ८२० रुपैयाँ ८० पैसा तोकेको थियो। आर्थिक वर्ष २०८०/८१ मा भएको नाफाका आधारमा मूल्य तोकिएको कम्पनीले जनाएको छ। लेखापरीक्षण गरिएको विवरणअनुसार सो वर्षमा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको दाबी गरिएको छ।
रिलायन्सले संस्थागत लगानीकर्तालाई भने २०८० माघमै अधिकतम ९१२ रुपैयाँको दरले शेयर बिक्री गरिसकेको छ। सर्वसाधारणका लागि तोकिने मूल्य भने सोभन्दा १० प्रतिशत कम हुने बताइएको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार वार्षिक वित्तीय विवरणमा कुल आम्दानी र सञ्चालन नाफा दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ। आव २०८०/८१ मा कुल आम्दानी ९ अर्ब २० करोड ६० लाख रुपैयाँ रहेकोमा आव २०८१/८२ मा बढेर १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा ५७ करोड २८ लाख रुपैयाँबाट बढेर १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
यसअघि पाटन उच्च अदालतको परमादेशअनुसार रोकिएको आईपीओ प्रक्रिया पुनः सुरु गर्न नेपाल धितोपत्र बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई आवश्यक निर्देशन दिएको थियो।
