सार्वजनिक निष्कासनका लागि छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीलाई
What you should know
काठमाडौँ — रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सोमबार (२२ मंसिर) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक निष्कासन (आईपीओ) खुला गर्न लागेको छ ।
कम्पनीले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।
बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको रिलायन्सले एक वर्षअघि आईपीओको मूल्य ८ सय २० रुपैया“ ८० पैसा तय गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ को नाफाको आधारमा उक्त मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीको लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरणअनुसार उक्त आवमा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको दाबी छ ।
रिलायन्सले संस्थागत लगानीकर्तालाई भने माघ २०८० मै अधिकतम ९१२ रुपैयाँका दरले सेयर बिक्री गरिसकेको छ । सर्वसाधारणलाई १० प्रतिशतमा कम हुने गरी सेयरको मूल्य तय गरिएको हो ।
वार्षिक वित्तीय विवरणले कुल आम्दानी र सञ्चालन नाफामा पनि उल्लेख्य वृद्धि भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ मा रिलायन्सको कुल आम्दानी ९ अर्ब २० करोड ६० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी सञ्चालन नाफा ५७ करोड २८ लाखबाट बढेर १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
नेपाल धितोपत्र बोर्डले पाटन उच्च अदालतको परमादेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासन प्रक्रिया पुनः सुरु गर्न मंगलबार निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटललाई निर्देशन दिएको थियो ।
