चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले गएको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा कूल ६७ हजार ७३५ पर्यटकले निकुञ्ज घुमेको जानकारी दिए ।
What you should know
चितवन — चिसो बिहानीमा पनि चितवन राष्ट्रिय निकुञ्जका जंगली जनावर हेर्न जीप सफारी जान लागेका पर्यटक ‘ब्रेकफास्ट’ लिन होटलको डाइनिङ हलमा धमाधम जुट्दै थिए ।
भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी लेमनटी रिसोर्टमा शुक्रबार बिहानको दृश्य थियो त्यो । निकुञ्ज मुख्यालय कसरा नजिकै छ यो रिसोर्ट । सफारी जान तयार पर्यटकमा नेपाली खासै थिएनन् ।
‘हाम्रो रिसोर्टमा आज ४५ जना पर्यटक छन् । यसमध्ये नेपाली चारजना मात्रै हुनुहुन्छ’ म्यानेजर लोकबहादुर कुँवरले भने । भरतपुर–२२ पटिहानी स्टोनपार्क राप्ती खोलामा डुंगा सफारी (नौका बिहार)मा जाने पर्यटक भेला हुने ठाउँ हो । चितवन निकुञ्ज सिमाना हुँदै बग्ने राप्तीमा डुंगा सफारी गर्न जम्मा हुँदै गरेका पर्यटकमा हङकङबाट आएकाहरु धेरै थिए । त्यहाँ पनि नेपाली भेटाउन गाह्रै पर्यो ।
चितवन निकुञ्ज कार्यालयको तथ्याङ्कमा पनि निकुञ्जको पश्चिम क्षेत्र अर्थात कसरा, मेघौली र नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को अमलटारी क्षेत्रसम्म निकुञ्ज घुम्नेमध्ये विदेशीको संख्या पहिलो नम्बरमा छ । समग्रमा निकुञ्ज घुम्ने पर्यटकमा स्वदेशीको संख्या धेरै हुँदा यी क्षेत्रमा विदेशी धेरै छन् ।
यहाँको वातावरण र सेवाको स्तरले विदेशी पर्यटक आकर्षित भएको पर्यटन व्यवसायी दाबी गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले गएको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा कूल ६७ हजार ७३५ पर्यटकले निकुञ्ज घुमेको जानकारी दिए ।
सबैभन्दा धेरै स्वदेशी पर्यटक ३९ हजार ६९८ छन् । यो अवधिमा २४ हजार ६९२ विदेशी पर्यटकले निकुञ्ज घुमेका छन् । त्यसैगरी सार्क क्षेत्रका १२ हजार ९१७ ले भ्रमण गरेका छन् । पर्यटक प्रवेश गर्ने निकुञ्जका विभिन्न सेक्टरहरु छन् ।
सर्वाधिक पर्यटक प्रवेश गर्ने पूर्वी क्षेत्रको सौराहाबाट विदेशीभन्दा स्वदेशी पर्यटक नै निकुञ्ज घुम्न गएका छन् । गएको चार महिनामा सौराहाबाट ६० हजार ७३ पर्यटक निकुञ्ज घुम्नलाई छिरेको सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । जसमध्ये स्वदेशी ३७ हजार ३९२, विदेशी १९ हजार ७१२ र सार्क क्षेत्रका दुई हजार ९६९ रहेका छन् ।
चितवन निकुञ्ज घुम्ने स्वदेशीमध्ये ९४ प्रतिशत सौराहाबाटै प्रवेश गरेको निकुञ्जको यो तथ्याङ्कले देखाउँछ । अन्य सेक्टरबाट निकुञ्ज प्रवेश गर्ने नेपालीको सख्या कम छ । कसरा सेक्टरबाट पछिल्लो चार महिनामा कुल चार हजार ६०५ पर्यटक निकुञ्ज घुम्दा सबैभन्दा धेरै दुई हजार ८५९ विदेशी पर्यटक रहेका छन् । कसरा सेक्टरमा पटिहानी र जगतपुर समेटिएको छ ।
मेघौली सेक्टरबाट कुल दुई हजार २६१ पर्यटक निकुञ्ज घुम्न गएकोमा यहाँबाट पनि सबैभन्दा धेरै एक हजार ४६८ विदेशी पर्यटकले निकुञ्ज घुमेका छन् । पश्चिम क्षेत्रको अर्को महत्त्वपूर्ण सेक्टर अमलटारीबाट गएको चार महिनामा कुल ६६० पर्यटक निकुञ्ज प्रवेश गर्दा विदेशी ५५७ छन् । यी क्षेत्रमा सामुदायिक वनमा पनि पर्यटक घुम्ने गरेको र उनीहरुको संख्या यसमा समावेश नभएको निकुञ्जले जनाएको छ ।
निकुञ्जको पश्चिम क्षेत्र पटिहानी, मेघौली र अमलटारीमा पर्यटकीय होटलहरु थपिने क्रम बढेको छ । पटिहानीको घटगाईमा २०४४ सालदेखि नै होटल नारायणी सफारी सञ्चालनमा आएको थियो । मेघौली क्षेत्रमा निकुञ्जभन्दा पनि आठ वर्ष जेठो २०२२ सालबाटै नेपालको पहिलो जंगल लज विश्वविख्यात टाइगर टप्स खुलेको थियो ।
अमलटारी क्षेत्रमा पनि टेम्पल टाइगर होटल खुलेको थियो । पछि निकुञ्जभित्र होटल सञ्चालन गर्न नमिल्ने भएपछि केही बाहिर आए । निकुञ्ज बाहिर अरु होटल पनि थपिए । ‘विदेशमा पहिल्यैदेखि यो क्षेत्र परिचित थियो । पछि यहाँ अन्य होटलहरु पनि थपिए । ति होटलहरुले पनि सेवा सुविधाको गुणस्तरमा ख्याल राखेका कारण आज पनि यो क्षेत्र घुम्न विदेशी पर्यटक नै धेरै आउँछन्,’ पटिहानी र जगतपुरको सिमानामा जंगल भिल्ला रिसोर्ट सञ्चालन गरेका गणेश पौडेलले भने ।
पौडेलले १३ वर्षअघि रिसोर्ट खुल्दा यहाँ तीनवटा मात्रै होटल थिए । अहिले कसरा क्षेत्रमा ठूला र स्तरीय आठवटा पर्यटकीय होटलहरु छन् । कसरा पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष पनि रहेका पौडेल भन्छन् ‘प्राकृतिक र शान्त वातावरण रुचाउने विदेशी हुन् या स्वदेशी ति यतै आउँछन् ।’ गाउँ र गाडी गुड्ने सडकदेखि पर जंगल र खोलाको तिरमा रहेका होटलहरु पर्यटकको रोजाइमा पर्ने उनले बताए ।
‘यहाँ त होटल पनि एक्कै ठाउँ गुजुमुज्ज छैनन् । पाँच सय मिटरदेखि एक किलो मिटरको फरकमा एक अर्को होटल छ । त्यसैले वातावरण शान्त छ,’ पौडेलले भने । यो क्षेत्रको पुरानो होटल नारायणी सफारीका प्रशासन अधिकृत टेकनाथ तिमिल्सिना आफ्नो होटलमा बस्न आउनेहरुमध्ये ९० प्रतिशतभन्दा धेरै विदेशी नै भएको बताउँछन् । विदेशीमा पनि युरोपियनहरु धेरै आउने उनले बताए ।
कसरा पर्यटन व्यवसायी समितिका उपाध्यक्ष चोपलाल पाण्डे यो क्षेत्रका होटल रिसोर्टहरुको सफारीका लागि आफ्नै जीप, डुंगा र नेचर गाइड भएका कारण खान बस्नका साथै डुल्दा पनि राम्रो सेवा दिन सकेको बताउँछन् । ‘यहाँको वातावरण अद्भुत छ । सेवाबाट सतुष्ट पार्न हामी तल्लिन छौं । घुम्न आउने व्यक्ति या ट्राभल एजेन्सिहरुले रुचाएर नै हो यता गुणस्तरीय पर्यटक धेरै आउँछन्,’ उनले भने ।
भूकम्पको असरबाट सम्हालिन नपाउँदै ६ वर्षअघि आएको विश्वव्यापी कोरोना महाहारीको असर पर्यटन क्षेत्रमा अझै पनि छ । नारायणी सफारीका अधिकृत टेकनाथ तिमिल्सिना पर्यटक आउने दरमा निकै गिरावट आएको बताउँछन् । जेन जी आन्दोलनपछि त धमाधम बुकिङ क्यान्सिल भए । ‘तर पनि विदेशका पर्यटकको माया यता तिर कायमै छ । त्यसैले हामी आशावादी छौं’ तिमिल्सिनाले भने ।
स्वदेशी या विदेशी राम्रा ब्राण्डका होटलहरुको लगानी यो क्षेत्रमा बढेका कारण विदेश तिर मार्केटिङ हुने गरेको कसरा पर्यटन व्यवसायी समितिका उपाध्यक्ष चोपलाल पाण्डेले सुनाए । ‘विदेशी त आएकै छन् । स्वेदशीमा ट्राभलरका साथै कर्पोरेट सेक्टरका इभेन्टहरु यहाँ हुने गरेका छन्,’ म्यानेजर लोकबहादुर कुँवरले भने । यहाँको जुन विषेशता छ त्यसलाई जोगाउन सवै जुट्नु पर्ने पर्यटन व्यवसायीको मत छ ।
भरतपुर महानगरपालिका–२२ कावडाध्यक्ष विष्णुराज महतो पश्चिम क्षेत्रका होटलमा गएर बस्दा जनावर सजिलै हेर्न पाइने सुविधा त छ नै बस्ने वातावरण पनि शान्त छ भन्ने लागेर नै विदेशी पर्यटक यता आएको बताउँछन् । ‘तर अब यो वातावरणलाई कायम राख्न गाह्रो हुने पो हो कि भन्ने देखिन्छ । विहे लगायतका कार्यक्रम पनि हुन थाले । जसले वस्ती र वातावरण दुवैलाई असर गर्ला कि,’ उनले भने ।
यहाँ देखिन थालेका चुनौतीहरुलाई सबै मिलेर चिर्नुपर्ने कसरा पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष गणेश पौडेलले बताए । चितवन निकुञ्ज विश्वका दुर्लभ वन्यजन्तु गैंडा, बाघ, घडियाल गोही लगायतको मुख्य बासस्थल हो । आदिवासी थारु समुदायको संस्कार संस्कृतिलाई पनि यहाँ आउने पर्यटकले रुचाएका छन् । स्वदेशी विदेशी गरी वर्षमा तीन लाख पर्यटक निकुञ्ज घुम्न आउने गरेको तथ्याङ्क छ ।
