रामेछापका हाटबजारमा जुनार र सुन्तलाको कारोबार बढ्यो

गत वर्ष ४ हजार ५ सय मेट्रिक टन जुनार उत्पादन भएको थियो । यस वर्ष उत्पादन बढेर करिब ५ हजार मेट्रिक टन पुग्ने अनुमान छ।

मंसिर २१, २०८२

नवराज श्रेष्ठ

Junar and orange trade increases in Ramechhap market

What you should know

रामेछाप — जुनारको जिल्लाका रूपमा परिचित रामेछापका हाट–बजार जुनार र सुन्तलाले भरिभराउ बनेका छन् ।

सदरमुकाम मन्थलीमा लाग्ने सोमबारे हाट, रामेछाप नगरपालिकाको बिहीबारे हाट तथा जिल्लाका अन्य पालिकामा लाग्ने हाटबजार अहिले मुख्य कारोबार नै जुनार–सुन्तलामै केन्द्रित रहेको छ। 

गत वर्षको तुलनामा यस वर्ष जुनार निकै राम्रो फलेको मन्थलीको सोमबारे हाटमा जुनार बेच्न आएकी रामेछाप नगरपालिका–६ की ६० वर्षीया सीता तामाङ बताउँछिन् । 'यो वर्ष जुनार पोहोर–परारभन्दा निकै राम्रो भयो। केही रुख बुढो हुँदै गएकाले उत्पादन कम भए पनि नयाँ बिरुवा हुर्कँदै आएका छन्। आगामी वर्ष झनै राम्रो उत्पादन हुन्छ जस्तो लाग्छ,' उनले भनिन्।

यस वर्ष एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान रहेको पनि उनले सुनाइन्। धेरै बगैँचा नभए पनि आफूले उत्पादन भएको जुनार मन्थलीको सोमबारे हाट र रामेछापको बिहीबारे हाटमा बिक्री गर्दै आएको उनको भनाइ छ।

Junar and orange trade increases in Ramechhap market

अहिले रामेछापका हाटबजारहरूमा जुनार प्रतिकेजी ४० देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको रामेछाप–६ ओख्रेनीकी शान्ता लामा बताउँछिन्। मन्थलीस्थित सोमबारे हाटमा जुनार बेच्न आएकी तामाङ भन्छिन्, 'यो वर्ष बजार ठिकै छ। अहिले हाटबजारमा ठूला जुनार केजीको ५० रुपैयाँ र साना ४० रुपैयाँमा बिक्री हुन्छ। तर यो मूल्यमा बेच्नुपर्दा किसान मारमा पर्छन्, किनकि औँसा किराको नियन्त्रणका लागि औषधिमा धेरै खर्च हुन्छ ।'

जुनारका मुख्य शत्रु मानिने औँसा किरा नियन्त्रण गर्न आवश्यक औषधि र उपचारमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने तामाङको माग छ।

सुनापति गाउँपालिका–३ का ६२ वर्षीय धननर्बु लामा कष्टकर र लामो यात्रा पार गर्दै मन्थलीस्थित सोमबारे हाटमा सुन्तला बिक्री गर्न आएका छन्। गत वर्ष असोज दोस्रो साता आएको बाढीले सुनकोशी नदीमा बनेको खैरेनीघाट–दुम्जा पक्की पुल बगाएपछि पश्चिम रामेछापलाई बीपी राजमार्गसँग जोड्ने मुख्य सडक अवरुद्ध भएको छ। पुल बगाएको कारण सुनापति, दोरम्बा शैलुङ र खाँडादेवी क्षेत्रमा उत्पादन हुने कृषि उपज बजारसम्म पुर्‍याउन ठूलो समस्या भएको छ।

पहिले–पहिले सुन्तला किन्ने व्यापारीहरू बगैँचामै आएर खरिद गर्थे, तर पुल बगाएपछि स्वयं किसानले कष्टकर बाटो पार गर्दै हाटबजारसम्म ल्याउनुपर्ने बाध्यता आएको लामाको अनुभव छ। दुई रोपनीभन्दा बढी क्षेत्रमा सुन्तला खेती गर्दै आएका उनले भने, 'खैरेनीघाट पुल हुँदा ठेकेदारहरू बगैँचामै आउँथे। अहिले समस्या धेरै छ। बिहान झिसमिसेमै हिडेँपनि , मन्थली हाट आइपुग्दा ११ बजिसकेको हुन्छ।' 

८ वटा पालिकामध्ये रामेछाप र मन्थली नगरपालिकासहित सुनापति, दोरम्बा शैलुङ, खाँडादेवी, लिखुतामाकोशी र गोकुलगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा अमिलो जातका फलफूल विशेष गरी जुनार र सुन्तला उत्पादन हुने गरेको छ। 

Junar and orange trade increases in Ramechhap market

थोरै क्षेत्रफलमा जुनार खेती गर्ने किसानहरूको मुख्य बजार स्थानीय हाटबजार नै हो। तर ठूलो परिमाणमा उत्पादन गर्ने कृषकका लागि भने बगैँचामै आएर जुस उत्पादक कम्पनी र ठेकेदारले जुनार खरिद गर्ने प्रचलन छ।

यो वर्ष रामेछापमा ५ हजार मेट्रिक टनभन्दा बढी जुनार उत्पादन हुने अनुमान रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ रामेछापका सूचना अधिकारी तथा कृषि अधिकृत जनजित अधिकारीले जानकारी दिए। उनका अनुसार, गत वर्ष ४ हजार ५ सय मेट्रिक टन जुनार उत्पादन भएको थियो । यस वर्ष उत्पादन बढेर करिब ५ हजार मेट्रिक टन पुग्ने अनुमान छ। अधिकारी भन्छन्, 'अनुमानित परिमाणमा जुनार उत्पादन भएमा करिब २० करोड रुपैयाँसम्म आम्दानी हुने प्रक्षेपण गरिएको छ।'

उनका अनुसार हाल रामेछापमा झन्डै ५ सय हेक्टर क्षेत्रफलमा जुनार खेती हुन्छ र प्रतिहेक्टर उत्पादकत्व १४.०४ मेट्रिक टन रहेको छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully