एओसी नवीकरण रोकिँदा हेली एभरेस्ट सबै हेलिकोप्टर ग्राउन्डेड

एओसी नवीकरण नहुँदा सीएफए प्रक्रिया अघि बढ्न नसक्ने र उडान अनुमति स्वतः रोकिने प्राधिकरणको नियम छ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Heli Everest grounds all helicopters as AOC renewal stalls

काठमाडौँ — हेली एभरेस्टको एयर अपरेटर सर्टिफिकेट समयमै नवीकरण नभएपछि कम्पनीका सबै चार हेलिकोप्टर ग्राउन्डेड भएका छन्। नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, एओसी नवीकरणको अन्तिम म्याद शनिबार नै समाप्त भएको थियो।

प्राधिकरणका नियमनकारी निकायले प्रत्येक वायुसेवाको एओसी चेकलिस्टअनुसार नवीकरण गर्न १५ देखि ४५ दिनसम्म समय लाग्ने बताउँदै आएको छ। एओसी नवीकरण नहुँदा सीएफए प्रक्रिया अघि बढ्न नसक्ने र उडान अनुमति स्वतः रोकिने प्राधिकरणको नियम छ।

एओसी नवीकरणको अधिकार प्राधिकरणका महानिर्देशकलाई रहने गर्दछ। तर महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण मंगलबारदेखि एओसी नवीकरणलगायत महानिर्देशकले मात्रै गर्नुपर्ने प्रक्रिया रोकिएको हो।

यसबीच नेपाल सरकारले पर्यटन मन्त्रालयका सहसचिवलाई प्राधिकरणको महानिर्देशकको जिम्मेवारी पनि हेर्न तोकिसकेको  छ। तर उनी सोमबारदेखि मात्र औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने भएकाले प्रक्रिया केही दिन ढिलाइ भएको प्राधिकरण जनाएको छ । 

नेपालमा हाल ११ वटा हेलिकोप्टर कम्पनी सञ्चालनमा छन्। तर एओसी नवीकरण नगरी विमान वा हेलिकोप्टर उडान गर्नु गैरकानुनी मानिन्छ। यस्तो अवस्थामा कुनै दुर्घटना वा आकस्मिकता भएमा बिमा कम्पनीले क्षतिपूर्ति नदिने प्रावधान रहेको छ।

कान्तिपुर

Link copied successfully