१११ मेगावाट जडित क्षमताको आयोजनाको एक युनिटबाट ३७ मेगावाट विद्युत् उत्पादन हुन्छ।
What you should know
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत् आयोजना आंशिक सञ्चालनमा आएको छ।
गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्हेन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायत संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुर्याएको थियो।
हेडवर्क्सको मर्मतपछि अस्थायी रूपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन) गरी विद्युत्गृहमा रहेका तीनवटा युनिटमध्ये एक युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो। १११ मेगावाट जडित क्षमताको आयोजनाको एक युनिटबाट ३७ मेगावाट विद्युत् उत्पादन हुन्छ।
बाँकी दुईवटा युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने र हेडवर्क्स क्षेत्रका बाँकी मर्मतकार्य आगामी वर्षायामअघि नै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
कार्यकारी निर्देशक सिलवालले प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक प्रयास र मेहनतबाट क्षति पुर्याएका संरचनाको मर्मत गरी आयोजना सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गरे ।
‘आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न केही सहज हुने छ,’ उनले भने ।

बाढीले आयोजनाको हेडवर्क्स क्षेत्रमा पानीसँग बगेर आएका काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायतका उपकरण बगाएको थियो। हेडवर्क्स नियन्त्रणलगायतका भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो। हेडवर्क्समा ठूला ढुंगा आएका थिए र पानीलाई सुरुङतर्फ पठाउन बनाइएका संरचना भत्किएका थिए। साथै, विद्युत् उत्पादनपछि नदीमा पानी छोड्न प्रयोग हुने टेलरेसबाट पानी बसेर टरबाइन रहेको तला पूर्ण रूपमा डुबेको थियो।
उक्त दिन जलविद्युत् आयोजनामा कार्यरत २२ जना कर्मचारीलाई हेडवर्क्स क्षेत्र र आवास क्षेत्रबाट सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगेको थियो। बाढीका कारण आयोजनामात्र नभई स्याफ्रुबेंसीबाट आयोजना स्थलसम्म जाने मुख्य राजमार्ग पनि पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध भएको थियो।
आयोजनाबाट १६ पुस २०८१ देखि व्यवसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको थियो। तर असारमा आएको बाढीले क्षति पुर्याएपछि आयोजनाबाट विद्युत् उत्पादन बन्द थियो। आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुने छ। उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने छ।
