औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमै आएर २ हजार ४१ उद्यमी र अनलाइनमार्फत ८ हजार २०३ जना गरी कुल १० हजार २४४ उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएका हुन् ।
What you should know
काठमाडौँ — स्टार्टअप उद्यम कर्जाका लागि १० हजार २४४ उद्यमीले परियोजना प्रस्ताव गरेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १९ कात्तिकमा २१ दिने सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो ।
प्रतिष्ठानमै आई २ हजार ४१ उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएको प्रतिष्ठानका कार्यकारी निर्देशक एवं इन्जिनियर उमेश गुप्ताले बताए । ‘अनलाइनमार्फत ८ हजार २०३ जनाले प्रस्ताव दर्ता गराएका छन्,’ उनले भने ।
परियोजनाहरूको सूची सार्वजनिक गरिएकाले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, ०८२ मा तोकेको मापदण्डअनुसार छ/छैन हेर्छौं,’ गुप्ताले भने, ‘मापदण्डअनुसार आएका परियोजनाको सर्टलिस्ट गरेर फेरि सूची निकाल्छौं ।’
प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगका रूपमा सम्बन्धित उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको, वस्तु वा सेवा उत्पादनमा नवीन एवं सिर्जनशील सोच र प्रविधिको उपयोग गरी उद्यम व्यवसायका रूपमा रूपान्तरणमार्फत उच्च वृद्धिको सम्भावना भएको, प्रविधिको अवलम्बन भएको, उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको, दर्तापछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको र सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्ययवसाय गरेका उद्यमी स्टार्टअप कर्जाका लागि योग्य हुनेछन् ।
‘मापदण्डअनुसार भएका परियोजनालाई व्यावसायिक योजना प्रस्तुत गर्न बोलाउँछौं र क्रेडिट अप्रेजल हेर्छौं, त्यसपछि कर्जा प्रवाह गर्न योग्य सूची सार्वजनिक गर्छौं,’ गुप्ताले भने ।
छनोट भएका परियोजनाको प्रस्तुतीकरण र बैंकबाट क्रेडिट अप्रेजल भई प्राप्त अंकभारको ५० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने प्रस्तावमध्येबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने प्रस्तावलाई प्राथमिकीकरण गरी कर्जाका लागि सिफारिस गरिनेछ । प्रस्तावकर्ताहरूको व्यवसायको फोटो, भिडियो, वित्तीय विवरण तथा अन्य विवरण प्रस्तुतीकरण र मूल्यांकन समितिको प्रश्नोत्तरलाईसमेत आधार मानी प्रतिष्ठानले गठन गरेको मूल्यांकन समितिले स्वीकृतिका लागि प्रतिष्ठानका कार्यकारी निर्देशकसमक्ष पेस गर्नुपर्नेछ ।
प्रतिष्ठानले तेस्रो पटक स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न लागेको हो । सरकारले चालु आर्थिक वर्षका लागि स्टार्टअप कर्जा प्रवाह गर्न ७३ करोड बजेट छुट्याएको छ । त्यसमध्ये कर्जा सुरक्षा (बिमा) का लागि २५ प्रतिशत निक्षेप तथा कर्जा सुरक्षा कोषमा छुट्याउनुपर्ने भए पनि यस वर्ष १० प्रतिशत छुट्याए पुग्ने कार्यकारी निर्देशक गुप्ताले बताए ।
उक्त बजेटबाट प्रशासनिक खर्चका लागि ३ प्रतिशत कटाएर बाँकी रकम कर्जा प्रवाह गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले यसअघि उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गर्दै आएको थियो । तर यस वर्ष बजेट कम भएकाले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा वितरण गर्ने प्रतिष्ठानले जनाएको छ ।
छानिएका स्टार्टअपले तीन प्रतिशत ब्याजदरमा न्यूनतम पाँच लाख रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । यो कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ भने पहिलो किस्ता लिएको एक वर्षपछि साँवा वा ब्याजबापतको रकम फिर्ता गर्न सुरु गर्नुपर्ने कार्यविधिमा छ ।
कार्यविधिबमोजिम बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना धितोका रूपमा राख्नुपर्नेछ । व्यवसाय वा परियोजनाको बिमा भने उद्यमीले स्वयं गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । कर्जा प्रवाह गर्ने बैंकले कर्जा प्रवाह गर्दा प्रशासनिक वा सेवा शुल्कबापत सम्बन्धित उद्यमीबाट कर्जा रकमको अधिकतम शून्य दशमलव एक प्रतिशतसम्म सेवा शुल्क लिन सक्ने कार्यविधिमा उल्लेख छ ।
स्टार्टअप उद्यम कर्जाका लागि दर्ता भएका परियोजनाहरुको विवरण :
![Entrepreneurs who have registered project proposals for startup loans [with list]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/money-finance/startsups-07122025013418-1000x0.jpg&w=1001&h=0)