४ हजार ६ सय मिटर उचाइमा रहेको मुस्ताङको कोरला भन्सार नाकाबाट मालवाहक सवारीसाधन सामान लिन पारि जान सकेका छैनन् ।
What you should know
काठमाडौँ — मुस्ताङको उत्तरी सिमानामा रहेको कोरला भन्सार नाका जाडो सुरु हुनासाथ फेरि सुनसान बन्दै छ । अत्यधिक चिसोका कारण यहाँको व्यवसाय र व्यापारिक गतिविधि शून्यजस्तै छ ।
यसले व्यवसायीदेखि भन्सार कर्मचारीसम्म प्रभावित बनाएका छन् भने राज्यले अपेक्षा गरेको राजस्व संकलनमा पनि अनिश्चितता बढेको छ ।
चीनबाट सामान अर्डर गर्ने व्यवसायीहरू मुस्ताङको लोमान्थाङमा गएर होटलमा बस्ने गर्थे । अहिले चिसोका कारण होटल पनि बन्द छ । त्यहाँका व्यवसायी पोखरा र काठमाडौं पुगेका छन् । मंसिरदेखि फागुनसम्म चिसो छल्न सधैं सहर जान्छन् । चिसोकै कारण मुस्ताङ भन्सार कार्यालयका कर्मचारी पनि बिरामी पर्न थालेका छन् ।
यो नाका ४ हजार ६ सय मिटर उचाइमा छ । चिसोकै कारण मालवाहक कन्टेनरहरू पनि सामान लिन सीमापारि जान सकेका छैनन् । अहिले व्यवसायीले यस नाकाबाट भित्रने सामानको ‘अर्डर’ केही महिनाका लागि 'क्यान्सिल' गरेका छन् ।
कोरला नाकाबाट चीनको लिजी ५ सय मिटर दुरीमा पर्छ, जहाँबाट सामान लिएर कन्टेनर नेपाल भित्रन्छन् । भन्सार कार्यालय भने नेचुङमा छ, जुन ३ हजार ९ सय मिटर उचाइमा पर्छ । नेचुङबाट कोरला नाका १४ किलोमिटर दुरीमा पर्ने भन्सार कार्यालयका अधिकृत रमेश खड्काले बताए । यहाँ बिहानको समयमा तापक्रम माइनस १२ डिग्री हुन्छ ।
उनका अनुसार अहिले ३०–४० वटा कन्टेनर मात्र भन्सार जाँच पास हुन बाँकी छन्, बढीमा अब एक हप्ताभित्र यो काम सकिन्छ ।उनले भने, ‘चिसोका कारण निकै समस्या भएको छ, यो नाकामा फागुनसम्म सामान आउन गाह्रो छ ।’
लोमान्थाङका होटल व्यवसायीहरू होटल बन्द गरी हिँड्न थालिसकेको उनले सुनाए । ‘सामान अर्डर गर्ने व्यवसायी त्यहीँ गएर बस्ने हुन्, अहिलेसम्म जाँचपास हुन बाँकी रहेका व्यवसायीको आग्रहमा होटल व्यवसायीले होटल खोलेर बसेका थिए,’ उनले भने, ‘होटल बन्द भएपछि व्यापारीलाई बस्न, खान समस्या छ ।’ उनका अनुसार भन्सार कार्यालय भने बन्द हुँदैन ।
यहाँ चिसोले राति १० देखि बिहान १० बजेसम्म धारामा पानी खस्दैन, बरफ भएर बस्छ । फागुनसम्म लगभग यस्तै हो ।
भन्सार कार्यालयको वार्षिक राजस्व संकलन लक्ष्य १२ लाख १ हजार रुपैयाँ हो । रसुवा र तातोपानी नाका बन्द भएपछि कोरला नाका खुलाइएको थियो । अहिलेसम्म मुस्ताङ भन्सार कार्यालयले तोकिएको लक्ष्यभन्दा धेरै ४ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गरिसकेको छ । त्यस्तै १ हजार ७ सय ६१ वटा विद्युतीय गाडी पनि यो नाकाबाट भित्रिएको छ ।
रसुवा र तातोपानी नाका चाडबाडको बेला बन्द भएपछि ती नाकाबाट आउनुपर्ने सामानहरू कोरला हुँदै भित्रिएका थिए । बाढीले क्षति पुर्याएका कारण रसुवा भन्सार गत असार २४ देखि ठप्प छ । कोरला नाका गत २१ भदौदेखि सञ्चालनमा आएको हो ।
ल्हेन्दे खोलामा आएको बाढीले नाका जोड्ने पक्की पुल बगाएपछि रसुवागढी नाका ठप्प भएको थियो । यस नाकाबाट तयारी वस्तु, स्याउलगायत फलफूल आयात हुने गर्थ्यो । दैनिक करिब १ सय कन्टेनर ओहोरदोहोर हुन्थे । धेरैजसो विद्युतीय सवारी साधन यही नाका हुँदै भित्रिने गर्थे तर अहिले आयात बन्द छ ।
नाका कहिले खुल्ने भन्नेबारे निश्चित भइनसकेको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले बताए । ‘नाका जोड्ने बेलिब्रिज निर्माणको काम सकिएको छ, सिसी क्यामेरा जडान र गेट निर्माण भइरहेको छ,’ उनले भने, ‘तर चालु आर्थिक वर्षको मंसिरसम्म करिब २० अर्ब रुपैयाँ राजस्व संकलन गुमिसकेको छ ।’
मंसिरमा नाका चल्ने अवस्था नदेखिएकाले यो महिनामा पनि राजस्व संकलन शून्य हुने उनको भनाइ छ । ‘दसैं–तिहारमा बढी राजस्व उठ्थ्यो, यही बेला नाका बन्द थियो । अहिले जाडोका लुगा भित्रने बेला हो, यो बेला पनि राजस्व बढी उठ्थ्यो,’ उनले भने ।
स्याफ्रुबेसीदेखि नाकासम्मको १६ किलोमिटर सडकमा पनि समस्या छ । ‘अहिले सडक एकतर्फी सञ्चालनमा छ, नाका खुले पनि साँघुरो सडकका कारण समस्या हुने देखिन्छ,’ उनले भने, ‘ठूला कन्टेनर भित्रँदा ट्राफिक जाम हुने जोखिम छ ।’
बाढीले बगाएपछि भन्सार यार्ड मर्मतसम्भारको काम समेत नभएको उनले सुनाए । इन्टर मोडल यातायात विकास समितिमार्फत हुने भएकाले पत्राचार गरे पनि काम नभएको उनले बताए ।
नाका ठप्प भएको पाँच महिना पुग्न लागेकामा छिटो खोल्नेबारे कसैको ध्यान पुग्न नसकेको भन्सार कार्यालयले बताएको छ । लामो समय नाका बन्द हुँदा स्थानीयको रोजीरोटी समेत गुमेको कार्यालयको भनाइ छ ।
रसुवा भन्सार कार्यालयले चालु आवमा ४० अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको छ । नाका ठप्प रहेकाले नयाँ आर्थिक वर्ष सुरु भएयता राजस्व संकलन हुन सकेको छैन ।
सिन्धुपाल्चोकको तातोपानी नाका पटक–पटक पहिरोका कारण सडक अवरुद्ध भई बन्द भएर गत ८ असोजदेखि पुनः सञ्चालनमा आएको हो, तर यस नाकाबाट पर्याप्त कन्टेनर भित्रन सकेका छैनन् ।
चीनले उताबाट धेरै कन्टेनर पठाउने गरेको छैन । नाकाबाट सामान राम्ररी आउन नसकेको तातोपानी भन्सार कार्यालय, लार्चाका सूचना अधिकारी तुलबहादुर पाण्डेले बताए ।
‘सातामा दुई दिन आइतबार र बुधबार विद्युतीय गाडी र गाडीका पार्टपुर्जा भित्रने गरेको छ,’ उनले भने, ‘अन्य दिन तयारी वस्तु, फलफूल बोकेका कन्टेनर भित्रिन्छन् ।’
अहिले दैनिक २०–२५ वटा कन्टेनर नेपाल भित्रने गरेका छन् । ‘यो संख्या निकै कम हो,’ उनले भने, ‘पहिले ३०–४० वटासम्म एकै दिनमा आउने गर्थे ।’
खासतिर निर्माणको काम भइरहेकाले कम कन्टेनर पठाइएको जानकारी पाएको उनले सुनाए । ‘अहिले तयारी र दसैंमा रोकिएका सामान पनि आइरहेका छन्,’ उनले भने, ‘जाडोका लत्ताकपडा पनि भित्रिरहेका छन् ।’
साउनमा यो नाका ५/६ दिन मात्र खुल्यो । भदौ महिना भर ठप्प भयो । ‘त्यसैले राजस्वको लक्ष्य भेट्ने अवस्था छैन,’ उनले भने, ‘चाडबाडका बेला यताबाट आउने सामान कोरला नाकाबाट नेपाल भित्रियो ।’
यस भन्सार कार्यालयको वार्षिक राजस्व संकलन लक्ष्य २४ अर्ब ४७ करोड ८५ लाख रुपैयाँ रहेकोमा अहिलेसम्म ५ अर्ब १६ करोड १८ लाख रुपैयाँ मात्र संकलन भएको छ ।
