सडक विस्तारको काम आधा सकिँदा एउटा पुलको मात्र निर्माण सुरु छ, जसको प्रगति एकदमै न्यून १० प्रतिशत मात्र छ । चार लेनमा विस्तार थालिएको सडकको दूरी १५.८ किलोमिटर छ, जसलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । तीन वटा पुलको भने छुट्टै ठेक्का गरिएको हो ।
What you should know
काठमाडौँ — सूर्यविनायक–धुलिखेल सडक विस्तार र पुल निर्माणको ठेक्का एउटै वर्षमा गरिए पनि दुई वटा पुलको निर्माण अझै सुरु हुन सकेको छैन । सडक विस्तारको काम आधा सकिँदा एउटा पुलको मात्र निर्माण सुरु छ, जसको प्रगति एकदमै न्यून १० प्रतिशत मात्र छ ।
चार लेनमा विस्तार थालिएको सडकको दूरी १५.८ किलोमिटर छ, जसलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । तीन वटा पुलको भने छुट्टै ठेक्का गरिएको हो । तिनको ठेक्का हिमदुङ एन्ड थोकर–रामजानकी जेभीले लिएका छन् । हिमदुङ एन्ड थोकर कम्पनी कांग्रेस नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको हो । तर, उनकै कम्पनीले लिएको ठेक्कामा प्रगति न्यून छ ।
तीन वटा पुलको एउटै प्याकेजमा ठेक्का गरिएको आयोजनाका इन्जिनियर विवेक पाण्डेले बताए । ‘यसको ठेक्का डिजाइन एन्ड बिल्ड प्रविधिमा भएको हो,’ पाण्डेले भने, ‘त्यसैले यसको डिजाइन पनि निर्माण व्यवसायीबाटै हुन्छ । काम पनि उसैले गर्छ ।’ ६ चैत २०७९ मा गरिएको सम्झौताअनुसार ५ असोज २०८२ भित्र काम सकिसक्नुपर्ने हो । अहिलेसम्म डिजाइन नै टुंगो नलाग्दा कामले गति लिन सकेको छैन । भ्याटसहित ५७ करोड ५० लाख रुपैयाँमा तीन पुलको ठेक्का सम्झौता भएको हो । तर सम्झौताअनुसार काम नसकिएपछि एक वर्ष म्याद थपिएको छ ।
स–साना पुल भएकाले निर्माण व्यवसायीले तदरुकतासाथ काम गरेर थपिएको समयभित्र सकिने आयोजनाको भनाइ छ । यो सडक भएर दिनहुँ १० हजार बढी साना–ठूला सवारीसाधन ओहोरदोहोर गर्ने ट्राफिक प्रहरीको भनाइ छ । तर यही सडकमा पुल निर्माणको काममा भने प्रगति छैन । ढिलाइ हुनुमा आयोजनाले निर्माण व्यवसायी र निर्माण व्यवसायीले आयोजनालाई दोष देखाउँदै आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले यो सडकको अनुगमन दुई पटक गरिसकेका छन् ।
पुल निर्माणमा भएको ढिलाइबारे चासो दिँदै आयोजना प्रमुख, सडक विभागका महानिर्देशक, ठेक्का लिने निर्माण व्यवसायीसँग बसेर छलफल गरी छिटो निर्माण सक्न घिसिङले निर्देशन दिएका छन् । उक्त सडकअन्तर्गत एउटा पुल भक्तपुर र दुई वटा काभ्रे खण्डमा पर्छन् । जगाती पुल भक्तपुर, पुण्यमाता र महादेव खोला पुल काभ्रेमा पर्छन् ।
जगातीमा स्थानीयको माग पुल सिधा बनाउनुपर्ने भन्ने थियो, खोला छड्के भएकाले त्यहीअनुसार डिजाइन गरिएको थियो । जसले गर्दा स्थानीयले विरोध गरेर सुरुको डिजाइनअनुसार काम गर्न नदिएको आयोजनाको भनाइ छ । ‘जगाती पुलको सुरु डिजाइनमा समस्या भएपछि पुनः निर्माण व्यवसायीले डिजाइन गरिरहेका छन्, छिट्टै सडक विभागमा पेस गरेर स्वीकृत गराइनेछ,’ इन्जिनियर पाण्डेले भने, ‘पुण्यमाता खोला पुलमा स्थानीयबाट पहिलाको डिजाइनमा पुलको उचाइ धेरै भयो भन्ने भयो, पछि उचाइ घटाउन भनेपछि पुनः डिजाइन गरेर सडक विभागमा पेस गरिएको छ ।’
महादेव खोला पुलमा काम भइरहेको र यसको प्रगति १० प्रतिशत मात्र छ । ‘पुण्यमाताको डिजाइन अबको ८/९ दिनभित्र स्वीकृत हुने र जगाती पुलको एक साताभित्र निर्माण व्यवसायीबाट डिजाइन पेस गर्ने तयारी छ,’ उनले भने । सडक विभागबाट डिजाइन स्वीकृत भएर आउन ढिलाइ गर्दा समयमै काम गर्न नपाएको पुलको ठेक्का लिने कम्पनीमध्ये एक हिमदुङ एन्ड थोकरका निर्देशक निर्मल सिटौलाले बताए ।
‘यो डिजाइन एन्ड बिल्डको ठेक्का हो, हामीले डिजाइन गरेर पेस गरेपछि सडक विभागले स्वीकृत गर्ने हो, ६ महिनाभित्र डिटेल डिजाइन पेस गर्ने र त्यसपछि तीन महिनाभित्र डिजाइन स्वीकृत गरिसक्नुपर्छ,’ सिटौलाले भने, ‘तर ३० महिनाको आयोजनामा डिजाइन स्वीकृत गराउनै १८ महिना लाग्यो ।’ सुरुमा आयोजना र सडक विभागबाट डिजाइन स्वीकृत गर्न एकदमै ढिलाइ गरे पनि अहिले कुलमान घिसिङ मन्त्री भएर आएपछि चासो दिन थालिएको सिटौलाको भनाइ छ ।
‘गत कात्तिकमा आएर जगाती खोला पुलमा स्थानीयले समस्या गरेपछि पुनः डिजाइन गर्न लगाइयो,’ सिटौलाले भने, ‘सुरुमै छिटो डिजाइन हेरेर काम गर्न दिएको भए हुने, अहिले मन्त्री आएर किन ढिला गरेको भनेपछि आयोजनाले चासो दिएको हो, बल्ल विभागले पनि राम्रोसँग हेर्न थालेको हो ।’ पुण्यमाता खोला पुलको डिजाइन एक साताभित्र सडक विभागबाट स्वीकृत भएर आए काम थाल्न समस्या नभएको उनको भनाइ छ । ‘मन्त्रीले आयोजनाको कामबारे चासो दिनुभएको छ । आइपर्ने समस्या समाधान गरिदिए पुल बनाउन कुनै समस्या छैन,’ उनले भने ।
स्थानीयको अवरोध, डिजाइन परिवर्तन र निर्माण व्यवसायीका कारण पुल निर्माणमा ढिलाइ भएको सूर्यविनायक–धुलिखेल सडक आयोजना प्रमुख विजयकुमार महतोले बताए । ‘पुण्यमाताको सुरुको डिजाइनअनुसार काम गर्न दिन स्थानीयले मानेनन्, पछि फेरि डिजाइन गर्नुपर्यो, त्यसमा त्यही भएर ढिलाइ भयो,’ महतोले भने, ‘जगातीमा नजिकै चार वटा वडा कार्यालय पर्ने रैछन्, सुरुको डिजाइनअनुसार ती वडा कार्यालयबाट काम गराउन दिइएन, वडाबाट सहमति ल्याएर फेरि डिजाइन स्वीकृतका लागि पठाइएको छ ।’ स्थानीयलाई देखाएर पनि निर्माण व्यवसायीले काममा ढिलाइ गरेको उनको दाबी छ ।
सडक विस्तारको काम पनि सुस्त छ । सुरु म्याद सकिन लाग्दा समग्र निर्माण प्रगति ५० प्रतिशत मात्र छ । यसलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । पहिलो खण्ड हो, सूर्यविनायक–साँगा । यो खण्डको दूरी ७.५ किमि छ । उक्त खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २४ पुस २०७९ मा लिएको हो । यसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ छ । यस खण्डको प्रगति ४२ प्रतिशत र म्याद आगामी २७ पुससम्म मात्र छ । म्याद सकिन लाग्दा यस खण्डको प्रगति ५० प्रतिशत पनि कट्न सकेको छैन । बल्ल कालोपत्र गर्ने सुरसार हुँदै छ ।
अर्को खण्ड हो, साँगा–धुलिखेल । यस खण्डको दूरी ८.३ किमि छ । धुलिखेलमा दुई किमि सडक कालोपत्र भइसकेको छ । लामा कन्स्ट्रक्सनले २७ मंसिर २०७९ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा उक्त खण्डको ठेक्का लिएको हो । निर्माण प्रगति ५५ प्रतिशत रहेको यस खण्डको म्याद भने यही २७ मंसिरमा सकिँदै छ । उक्त सडक निर्माण भएको २५ वर्षपछि चार लेनमा विस्तार थालिएको हो ।
‘दुवै खण्डको म्याद सकिँदै छ,’ आयोजना प्रमुख महतोले भने, ‘निर्माण व्यवसायीले ५ सय दिन समय थपको माग गरेका छन्, त्यति धेरै समय दिन सकिँदैन, कति समय थप्ने भन्ने विषय छलफलकै क्रममा छ ।’ निर्माण व्यवसायीले चालु आर्थिक वर्षमा स–साना काम मात्र बाँकी रहे पनि कालोपत्रको काम सक्ने कार्यतालिका दिएकाले त्यहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने उनले सुनाए । ‘चालु आर्थिक वर्षका लागि ७० करोड रुपैयाँ मात्र विनियोजन भएको छ,’ उनले भने, ‘हामीलाई करिब ४ अर्ब रुपैयाँ चाहिन्छ, यसका लागि भौतिकमार्फत अर्थ मन्त्रालयमा जानकारी गराइसकेका छौं ।’
