कसरी हुँदै छ सिद्धबाबा सुरुङमार्गको काम ?

पहिरो जाने स्थानमा सडकमाथि आरसीसी ढलान वा स्टिलको भिरालो आकारको बलियो छाना बनाइन्छ । यसरी निर्माण गरिएको ‘रक सेड’मा खसेका पहिरो छाना हुँदै खोला वा भीरमा पुग्नेछ ।

मंसिर १९, २०८२

माधव अर्याल

How is the work on the Siddha Baba Tunnel progressing?

What you should know

पाल्पा — सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएको छ ।

गत भदौ २९ गते सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले सार्वजनिक गरेको भौतिक र वित्तीय प्रगतिमा मंसिर दोस्रो सातासम्म १.६९ प्रतिशत मात्र बढेको छ । झन्डै तीन महिनाको अवधिमा कम मात्र प्रगति देखिएको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा सुरुङमार्गको मंसिर १५ गतेसम्म ६२.७५ भौतिक र ५३.०९ प्रतिशत पुगेको योजना कार्यालयले जनाएको छ । गत भदौ अन्तिममा सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६१.०६ प्रतिशत थियो । वित्तीय प्रगति ५१.०१ प्रतिशत रहेको थियो । सुरुङ अन्तर्गत मुख्य टनेलको लाइनिङको काम सकिएको छ । १,१२६ मिटर टनेलमध्ये सुरुङ १,०८९ मिटर रहेको छ । बाँकी काम उत्तर र दक्षिण ‘पोर्टल’ रहेको छ ।

मुख्य टनेलको भित्री सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लेपन (लाइनिङ) को काम सकिएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी सूचना अधिकारी सविता ज्ञवालीका अनुसार पछिल्लो समयमा निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले कल्भर्ट र पोर्टलको काम गरेको छ । सुरुङको उत्तर र दक्षिणतर्फको ३७ मिटर पोर्टलको काम अहिले भइरहेको उनले बताइन् ।

उत्तरतर्फ १७ र दक्षिणतर्फ (सिद्धबाबा मन्दिर) १९ मिटर पोर्टलको काम भइरहेको हो । सुरुङभित्र युटिलिटी डक्टको काम भइरहेको छ, जसअनुसार पाइप बिछ्याइएको छ । तर निर्माण कम्पनीले अहिलेसम्म विद्युत्‌को काम सुरु गरेको छैन । कुल निर्माण गर्नुपर्नेमध्ये ९ वटा कल्भर्टको काम अन्तिम चरणमा पुगेको छ । 

रक सेड र रक फल ब्यारियरको फाइनल डिजाइन प्रपोजल पेश नगरेकाले अझै काम सुरु नभएको सूचना अधिकारी ज्ञवालीले बताइन् । ‘अझैसम्म रक सेड, रक फल ब्यारियरको डिजाइन छलफलमै छ,’ उनले भनिन्, ‘अहिलेसम्म स्वीकृत नभएकाले काम अघि बढेको छैन । रक नेटको पनि फाइनल प्रपोजल निर्माण कम्पनीले ल्याएको छैन ।’

इन्जिनियर तथा सूचना अधिकारी ज्ञवालीका अनुसार निर्माण कम्पनीले विद्युत् लगायत अन्य सामान ल्याउनका लागि अर्डर गरिसकेको छ । निर्माण कम्पनीले भित्रबाट गाडी गुडाएर मात्र बाहिरको काम गर्ने जनाएको छ ।

मुख्य सुरुङको भेन्टिलेसन, विद्युत् र फायर फाइटिङ् लगायतका काम गर्न बाँकी नै रहेको उनले बताइन् । सुरक्षाको दृष्टिले पनि सबै सामान जडान नभईकन सवारीसाधन गुड्न दिन नहुने उनले बताइन् । सुरुङभित्रको पर्खाललाई कङ्क्रिट, सटक्रिट, ब्लक वा अन्य सामग्रीले छोप्ने काम सकिएको छ । मुख्य सुरुङको भुइँ भागको ढलान (इनभर्ट) को काम यसअघि नै सकिएको छ । इनभर्टको काम पनि सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ । 

उत्तरतर्फ फाउण्डेसन तयार गरिएको र दक्षिणतर्फ पनि फाउण्डेसनसहित पोर्टलको काम सकिन लागेको छ । बीचमा कुनै अवरोध वा अन्य केही समस्या नआउने हो भने चैतसम्म मुख्य टनेलबाट सवारीसाधन गुडाउन सकिने योजना रहे पनि सबै काम सकिन समय लाग्ने भएकाले केही ढिलाइ हुने आयोजना कार्यालयले जनाएको छ ।

यहाँ रहेका तीनवटा बाइपासमा पनि लाइनिङ र इनभर्टको काम भइरहेको छ । बाइपास १ अन्तर्गत १५१, बाइपास २ मा १६१ र बाइपास ३ मा १३० मिटर लम्बाइ रहेको छ ।

बाइपास १ मा इनभर्टको काम १४५ मिटर सकिएको छ । लाइनिङको काम पनि १४४.५ मिटर भइसकेको छ । बाइपास २ मा इनभर्टको काम १५७.८ मिटर भइसकेको छ भने लाइनिङको काम १५७.८ मिटर भइसकेको छ । बाइपास ३ मा इनभर्टको काम १२५ मिटर भइसकेको छ । लाइनिङको काम पनि ११७.६ मिटर सकिएको आयोजना कार्यालयले जनाएको छ ।

बाहिर भीरपाखा र तल्लो भागमा खोला भएकाले काम गर्न समस्या हुने भएकाले पहिले मुख्य टनेलबाट सवारीसाधन गुडाउनेयोजना कार्यालयको छ । दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर छ । सुरुङमार्गको निर्माण ‘एसियन हाइवे स्ट्यान्डर्ड’मा भइरहेको छ । सिद्धबाबाको अति जोखिम झन्डै ५ किलोमिटर क्षेत्रमध्ये सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सुरुङ निर्माण भइरहेको हो ।

How is the work on the Siddha Baba Tunnel progressing?

सिद्धबाबा क्षेत्रको जोखिमयुक्त क्षेत्रमा स्लोप स्टेबलाइजेसन र रक ब्यारियर विधि प्रयोग गरेर सडक सुरक्षित बनाउने कामसमेत अघि बढेको छ । सम्भावित दुर्घटनाको क्षेत्रमा ढुंगाहरू हटाइनेछ भने पहाडको माथिल्लो भागमा बलियो तारजालीसमेत बिछ्याउने कार्य हुनेछ । जसबाट पहिरो सम्भावित क्षेत्रलाई स्लोप प्रोटेक्सनको काम गरिएको छ । योजना अन्तर्गत नै पहाडमा रक ब्यारियर हुनेछ । सुरुङ क्षेत्रको दक्षिणतर्फ २,३०० मध्ये १,४९५ मिटर स्लोप प्रोटेक्सनको काम भइसकेको छ । 

उत्तरतर्फ १,१०० मध्ये ४९५ काम सकिएको छ । एमआर वन माउन्टेन साइड ९,६२० मध्ये ४८१ मात्रै भएको छ । एमआर टु माउन्टेन साइड ७,४४० मध्ये १,४१४ स्क्वायर मिटर काम भएको आयोजना प्रमुख अधिकारीले बताए । एमआर वन रिभरसाइड १,३६० र एमआर टु रिभरसाइड ५०० मिटरको काम प्रगति भएको छैन । 

आयोजनाअन्तर्गत निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले योजनाको प्याकेजअन्तर्गत चिडियाखोला–सिद्धबाबा मन्दिर र सुरुङको उत्तरी मोहोडादेखि दोभानसम्मको सडकमा समेत आधुनिक प्रविधिबाट जोखिम न्यूनीकरणको काम हुनेछ ।

सडक पूर्वाधारको इतिहासमा सिद्धबाबा क्षेत्रमा ‘रक सेड’ निर्माण हुँदा पहिलो हुने दाबी छ । सुरुङमार्गको निर्माण हुन लागेको ‘रक सेड’को डिजाइन अन्तिम तयारीमा रहेको योजनाकी सूचना अधिकारी ज्ञवालीले बताइन् । ‘रक सेड’ सवारी र सडकलाई पहिरोबाट सुरक्षित गर्ने प्रविधि हो । पहिरो जाने स्थानमा सडकमाथि आरसीसी ढलान वा स्टिलको भिरालो आकारको बलियो छाना बनाइन्छ । यसरी निर्माण गरिएको ‘रक सेड’मा खसेका पहिरो छाना हुँदै खोला वा भीरमा पुग्नेछ ।

यसले गर्दा सवारीसाधन, चालक, यात्रु तथा सडकलाई कुनै असर गर्दैन । छानामुनिबाट निर्वाध रूपमा सवारीसाधन आवागमन हुने इन्जिनियर ज्ञवालीले बताइन् । सुरुङमार्गको दुवै पोर्टलमा धेरै पहिरो जाने भएकाले सुरुमा पोर्टलसँगै ‘रक सेड’ निर्माण गर्न लागिएको हो । सिद्धबाबा क्षेत्रमा ७८० मिटर लामो ‘रक सेड’ निर्माणको डिजाइन अघि बढेको छ । 

योजना कार्यालयका अनुसार बलियो तारजालीले ५,००० किलोसम्मका ढुंगालाई थाम्न सक्षम हुने अपेक्षा गरिएको छ । सुरुङमार्गको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ मूल्य अभिवृद्धि करसहित लागतमा बनाउने ठेक्का सम्झौता गरेको छ । यो आयोजना २०७८ फागुनमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । ठेक्का सर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्नेछ ।

सिद्धबाबा सडक तराईबाट पश्चिम पहाड जोड्ने मुख्य राजमार्गअन्तर्गत पर्छ । सुरुङमार्ग सम्पन्न हुँदा लुम्बिनी र गण्डकी प्रदेशका दर्जन बढी जिल्लाका नागरिकले सुरक्षित यात्रा गर्न पाउने अपेक्षा लिइएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully