प्रभु बैंकलाई हानीनोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूका नाममा रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने, गराउने कसुरमा संलग्न रहेको भन्दै सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौँ — प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यको बैंकिङ कसूर मुद्दाको अनुसन्धानका लागि दोस्रो पटक दुई दिन म्याद थप भएको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासका न्ययाधीशहरू सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको इजलासले थप दुई दिन म्याद थप हुने आदेश गरेको हो ।
राष्ट्र बैंकबाट भएको निर्देशन तथा प्रचलित कानुनविपरीत काम गरी प्रभु बैंकलाई हानीनोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूका नाममा रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने, गराउने कसुरमा संलग्न रहेको भन्दै सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो ।
सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।
सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत हुन् । ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
