नेपालमा सयभन्दा ठूला दरका भारु नोट चलाउन भारतको अनुमति

सन् २०१६ मा भारतले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सय दरका नोट नेपाल ल्याउन अनुमति दिए पनि भारत लैजान छुट दिएको थिएन।

मंसिर १९, २०८२

यज्ञ बञ्जाडे

India allows Nepal to use Indian rupee notes of denominations higher than 100

What you should know

काठमाडौँ — नेपालमा एक सयभन्दा ठूला दरका भारतीय नोट चलनचल्ती (सटही) का लागि बाटो खुलेको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) का लागि अनुमति दिएको हो । हाल नेपालमा सयका भारु मात्र चलनचल्तीमा छ । भारतले अनुमति दिएपछि सयसँगै पाँच सय र दुई हजारका भारु नोट चलाउन पनि पाइने भएको हो । 

भारतले विदेशी मुद्रा सटही (मुद्राको आयात तथा निर्यात) विनियमावली, २०२५ संशोधनमार्फत भारतीय केन्द्रीय बैंकले नेपाल र भुटानमा २५ हजार भारुसम्म ओसारपसार (आयात–निर्यात) गर्न अनुमति दिएको हो । ‘भारतीयसहित नेपाल र भुटानका नागरिकले भारु २५ हजार बराबरका सयभन्दा ठूला दरका नोट भारत ल्याउन र यहाँबाट नेपाल लैजान सक्नेछन्,’ आरबीआईले जारी गरेको नयाँ विनियमावलीमा भनिएको छ । 

तर यो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले परिपत्र (निर्देशन) जारी गर्नुपर्नेछ । किनकि राष्ट्र बैंकको निर्देशनकै कारण हाल सयभन्दा ठूला दरका भारु सटही सुविधा छैन । सयभन्दा ठूला दरका भारु पनि भारतबाट नेपाल ल्याउन र यहाँबाट भारत लैजान आरबीआईले अनुमति दिएपछि दुवै देशका नागरिकलाई सुविधा हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् । 

‘भारत सरकारले विदेशी मुद्रा व्यवस्थापन नियमनसम्बन्धी नयाँ व्यवस्था गरेको छ, जसअनुसार भारु सयभन्दा ठूला दरका नोट अधिकतम २५ हजारसम्म नेपाल ल्याउन र नेपालबाट पनि लैजान पाइनेछ,’ उनी भन्छन्, ‘भारतले नोटबन्दी गर्नुअघि पनि यस्तै व्यवस्था थियो तर नोटबन्दीपछि भारतले रोक लगाएकाले नेपालले पनि सयभन्दा ठूला दरका भारु सटही सुविधा नदिने निर्णय गरेको थियो ।’ 

यस्तो व्यवस्थाले नेपाल आउने भारतीय पर्यटक, विद्यार्थी, व्यवसायी र बिरामीलाई मात्र नभएर भारत जाने नेपाली पर्यटक, विद्यार्थी सबैलाई सुविधा पुग्ने प्रवक्ता पौडेल बताउँछन् । भारतले पटकपटक गरेर तीन पटक नोटबन्दी गरिसकेको छ । तर फेरि पनि नोटबन्दी गर्ने जोखिम कायमै रहेकाले नेपाली नागरिकलाई अनावश्यक रूपमा भारु संकलन नगर्न प्रवक्ता पौडेलको सुझाव छ । 

‘नयाँ व्यवस्थाअनुसार नेपाली नागरिकले आवश्यक भारु उपयोग गर्न सक्नुहुन्छ तर काम नपरेका बेलामा आफूसँग भएको भारु नेपाली रुपैयाँमा सटही गरिहाल्नुपर्छ,’ उनले भने, ‘धेरै भारु जम्मा गरियो, त्यही बेला भारतले नोटबन्दी गर्‍यो भने नसाटिने जोखिम पनि छ ।’

अहिले भारतले २५ हजार भारुसम्म ल्याउन–लैजान सुविधा दिएको हो । खासगरी सन् २०१६ मा ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सय दरका नोट भारतबाट नेपाल ल्याउन अनुमति दिए पनि भारत लैजान छुट दिएको थिएन । यही कारण नेपाल सरकारले पटकपटक तोकिएको सीमा बराबर भारु भारत पनि लैजान पाउने व्यवस्था गर्न आग्रह गर्दै आएको थियो । तर उक्त आग्रह भारतले मानेको थिएन । 

नोटबन्दीपछि भारत सरकारले नेपालमा रहेका ५ सय र हजार दरका नोट अझै सटही गरिदिएको छैन । यही कारण राष्ट्र बैंकले आरबीआईसँग भारु नेपाल ल्याउन मात्र नभई लैजान पनि पाउने व्यवस्थाको सुनिश्चितता खोजिरहेको थियो । अहिले आरबीआईले सोही व्यवस्था गरिदिएपछि राष्ट्र बैंकले पनि छिट्टै सयभन्दा ठूला दरका भारु पनि सटही गरिदिने आशयको परिपत्र जारी गर्नेछ । 

हाल भारतमा सय, २ सय, ५ सय र २ हजार दरसम्मका नोट चलनचल्तीमा छन् । सन् २०२३ देखि भारतले २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ । त्यसअघि छापिएका २ हजार दरका नोट पनि फिर्ता ल्याउन नागरिकलाई सूचना जारी गरेको छ । २ हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको भने छैन । यसकारण आरबीआईले गरेको नयाँ व्यवस्थाले उल्लिखित सबै दरका भारु नोट नेपालमा सटहीका लागि बाटो खुलेको छ । 

सन् २०१६ मा भारतले तत्कालीन ५ सय र सय दरका नोट चलनचल्तीबाट हटाएपछि नेपालमा भएका ती दरका नोट अझै साटिएका छैनन् । राष्ट्र बैंकले ठूला दरका भारु चलनचल्तीमा नल्याउने (सटही नगर्ने) निर्देशन जारी गरेको थियो । अहिले भारतले भारु २५ हजारसम्म नेपाल र भुटान ल्याउन/लैजान (आयात/निर्यात) अनुमति दिएको हो । यसअघि भारु २५ हजारसम्म भारतबाट ल्याउन अनुमति भए पनि लैजान पाउने व्यवस्था थिएन । 

यस्तो व्यवस्थाले नेपाल र भारत दुवै देशका नागरिकलाई सुविधा पुग्ने राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले जनाए । खासगरी नेपाल भ्रमणमा आउने भारतीय पर्यटक र भारत भ्रमणमा जाने नेपालीका लागि यो सुविधाले विशेष राहत पुग्ने उनको भनाइ छ ।

नोटबन्दीले रोकिएको ५ करोड भारु अझै साटिएन

छिमेकी मुलुक भारतले करिब ९ वर्षसम्म पनि नेपालको बैंकिङ प्रणालीमा रहेको पुराना ५ सय र हजार दरका भारु नोट साटिदिएको छैन । नेपालसँगको सम्बन्धलाई विशेष महत्त्व दिँदै आएको दाबी गर्ने भारतले भुटानलगायत राष्ट्रमा रहेका भारु सन् २०१८ सम्म सटही गरिदिँदा पनि नेपालको सटही गरिदिएको छैन । नेपाल सरकार र राष्ट्र बैंकले हरेक उच्चस्तरीय भ्रमणमा भारु सटहीको एजेन्डा उठाउँदै आए पनि भारतले बेवास्ता गर्दै आएको छ ।

भारत सरकारले कालो धन र नक्कली मुद्रा नियन्त्रण गर्न भन्दै ८ नोभेम्बर २०१६ मा त्यतिबेला प्रचलनमा रहेका भारु ५ सय र हजार दरका नोट खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको ९ वर्ष पूरा भएको छ । हरेक वर्ष जस्तो नेपालले उक्त मुद्रा सटहीका लागि आग्रह गर्दै आएको छ । तर त्यसबारे भारतले चासो नदिएको जानकार बताउँछन् ।

आरबीआई र राष्ट्र बैंकबीच सहकार्यका लागि गठित ‘जोइन्ट टेक्निकल कोअर्डिनेसन कमिटी’ मा पनि पटकपटक राष्ट्र बैंकका तर्फबाट भारु सटहीको कुरा उठ्ने गरेको दाबी नेपालका अधिकारीको छ । 

राष्ट्र बैंकका अनुसार हाल नेपालको वित्तीय प्रणालीमा करिब ८ करोड १० लाख ८ सय रुपैयाँ बराबरका ५ सय र हजार दरका भारु नोट छन् । ६८ हजार १ सय ४८ वटा ५ सय दरका ३ करोड ४० लाख ७३ हजार ५ सय भारु राष्ट्र बैंकमा छ । १६ हजार ५ सय ५२ वटा एक हजार दरका १ करोड ६५ लाख ५२ हजारसहित कुल ५ करोड ६ लाख २५ हजार ५ सय भारु राष्ट्र बैंकमा छ ।

भारत सरकारले भारु ५ सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाउँदा नेपाली वित्तीय प्रणालीमा करिब ७ करोड ८५ लाख भारु नोट रहेको बताएको थियो । तर सबै निकायसँग रहेको भारु संकलन गर्दा करिब ५ करोड भारु जम्मा भएको हो । यसबीचमा सम्बन्धित निकायले विभिन्न माध्यममार्फत केही भारु सटही गरिसकेका छन् । यसबाहेक सर्वसाधारणसँग भएको प्रतिबन्धित भारुको यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन । यद्यपि हामीसँग रहेको पाँच सय र हजार दरका भारु सटहीका लागि निरन्तर प्रयास जारी रहेको राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully