पूर्वपश्चिम राजमार्गको तिनाउमा पुरानो पुल नहटाई दायाँबायाँ २/२ लेनको पुल बनाउने प्रक्रिया सुरु ।
What you should know
बुटवल — पूर्वपश्चिम राजमार्गको निर्माणाधीन बुटवल–गोरुसिंगे सडक खण्डको बुटवलस्थित तिनाउ खोलामा ४ लेनको नयाँ पक्की पुल निर्माण हुने भएको छ।
सडक विभागले नयाँ डिजाइनसहितको पुनः निर्माण प्रक्रिया अघि बढाएको हो। यसअघि तिनाउ खोलामा ‘सिग्नेचर ब्रिज’ निर्माण हुने चर्चा चलेको थियो। तर विभागले त्यस्तो ठ्याक्कै डिजाइन नभए पनि नेपालकै ‘नमुना’ पुल निर्माण हुने जनाएको छ। विभागले पुरानो पुललाई यथावत् राखेर त्यसको दायाँबायाँ २/२ लेनको पुल ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामा निर्माण गर्ने गरी शुक्रबार टेन्डर आह्वान गरेको छ।
सरकारले पूर्वपश्चिम राजमार्गको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक खण्डलाई चार लेनमा स्तरोन्नति गर्दै वन्यजन्तु–मैत्री डिजाइनसहित निर्माण गरिरहेको छ। पहिलो खण्डमा बुटवल–गोरुसिंगे सडक विस्तारको काम तीव्र गतिमा भइरहेको छ। त्यही सडक विस्तारको दोस्रो खण्डको रूपमा तिनाउ खोलामा पुल निर्माणको प्रक्रिया अघि बढेको हो। तेस्रो खण्डको रूपमा गोरुसिंगे–चन्द्रौटा सडक विस्तार हुनेछ।
तिनाउ खोलामा नेपालकै नमुना पुल निर्माणको लागि पूर्व अर्थमन्त्री विष्णु पौडेलले पहल गर्दै आएका थिए। पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल–गोरुसिंगे सडक विस्तारकै क्रममा पुल निर्माण हुने चर्चा चले पनि बजेट अभावमा प्रक्रिया नै सुरु हुन सकेको थिएन। पौडेलले चालु आवका लागि प्रस्तुत गरेको बजेटमा पनि तिनाउ खोलामा ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने उल्लेख गरेका थिए। तर अहिले बजेटको स्रोत सुनिश्चित गरेर विश्व बैंकको ऋण सहयोगमा पुल निर्माणको प्रक्रिया अघि बढेको पूर्व अर्थमन्त्री पौडेलले बताए।
‘पूर्वपश्चिम राजमार्गको बीच खण्डमा पर्ने तिनाउ खोलामा निर्माण गर्न लागिएको पुल बुटवल र यस क्षेत्रको पहिचान दिने र पर्यटकीय नगरीको रूपमा बुटवललाई विकास गर्ने परिकल्पना गरेका थियौँ,’ उनले भने, ‘विश्व बैंकको ऋण सहयोगमा अहिले त्यो पुल निर्माणको प्रक्रिया अघि बढेको हो।’ तिनाउ खोलामा निर्माण हुने पुल नेपालको अन्य कुनै पनि खोलामा निर्माण नहुने डिजाइन भएकाले त्यसलाई ‘सिग्नेचर ब्रिज’ नामकरण गरिएको उनले बताए। ‘यो नेपालको एक मात्र नमुना पुल हुनेछ,’ उनले थपे।
सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले अहिले रहेको २ लेनको पुरानो पुललाई यथावत् राखेर त्यसको दायाँबायाँ दुवै तर्फ २/२ लेनका दुई वटा पुल निर्माण गर्न लागिएको बताए। पुल २४० मिटर लम्बाइको हुनेछ। ‘पुलको प्रारम्भिक अनुमानित लागत २ अर्ब ५० करोड रहेको छ,’ उनले भने, ‘विश्व बैंकको ऋण सहयोगमा बुटवल–गोरुसिंगे सडकको अर्को महत्त्वपूर्ण कम्पोनेन्टका रूपमा पुल निर्माणको प्रक्रिया अघि बढेको हो।’
सम्झौता भएको मितिले ७ महिनाभित्र पुलको डिजाइन तयार हुने र ३ वर्षभित्र सम्पन्न गर्ने गरी एउटै निर्माण कम्पनीले डिजाइन र निर्माणसमेतको ठेक्का पाउने व्यवस्था टेन्डरमा गरिएको उनले बताए।
पौडेलका अनुसार पुलको कन्सेप्ट विभागले नै तयार गरेको छ। त्यसका आधारमा टेन्डर प्रक्रिया मार्फत ठेक्का पाउने कम्पनीले सम्झौता भएको ७ महिनाभित्र डिजाइन तयार गर्नेछ। विभागले स्वीकृति दिएपछि मात्र निर्माण अघि बढ्ने उनले बताए।
महेन्द्र राजमार्गको तिनाउ पुल आसपासमा अहिले घर भरिएका छन्। पुरानो पुल यथावत् राखेर त्यसको दायाँबायाँ २/२ लेनका दुई पुल निर्माण गर्दा सडक सीमाभित्रको ३० मिटर क्षेत्र पुरै ओगट्ने विभागको तयारी छ। यसरी पुल निर्माण गर्दा आसपास रहेका धेरै घर–टहराहरू हटाउनुपर्ने चुनौती छ। तर त्यसका लागि पनि विभागले तयारी गरेरै काम अघि बढाउने इन्जिनियर पौडेलले बताए। ‘सडक सीमाभित्रका संरचना हटाउनै पर्छ, यो प्राविधिक अनिवार्यता हो,’ उनले भने, ‘तर हल्ला भएजस्तो भयावह अवस्था आउँदैन।’ घर–टहराहरूको उचित व्यवस्थापन गरेर पुल निर्माणको काम अघि बढ्ने उनले बताए।
