कोषले स्वास्थ्य बिमा दाबी व्यवस्थापन, कल सेन्टर र अन्य प्रशासनिक कार्यलाई छरितो बनाउन आफ्नो कोर बिजनेस सफ्टवेयर ‘सोसिस’ मा एआई समावेश गरी परीक्षण तथा कार्यान्वयन प्रक्रिया सुरु गरेको हो ।
What you should know
काठमाडौँ — सामाजिक सुरक्षा कोष (एसएसएफ) ले सेवा प्रवाह र आन्तरिक कार्यक्षमता अभिवृद्धि गर्न भन्दै आफ्नो डिजिटल प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि समावेश गर्न थालेको छ । कोषले स्वास्थ्य बिमा दाबी व्यवस्थापन, कल सेन्टर र अन्य प्रशासनिक कार्यलाई छरितो बनाउन आफ्नो कोर बिजनेस सफ्टवेयर ‘सोसिस’ मा एआई समावेश गरी परीक्षण तथा कार्यान्वयन प्रक्रिया सुरु गरेको हो ।
कोषका अनुसार एआईको प्रयोगले खासगरी योगदानकर्ताहरूको बिमा दाबीसँग सम्बन्धित सेवा सजिलो र प्रभावकारी हुनेछ । ‘हाल अस्पतालहरूबाट दैनिक हजारौं संख्यामा बिमा दाबी सिधै कोषमा आउने गरेको छ,’ कोषका सूचना अधिकारी रोशन कोजु भन्छन्, ‘यी दाबी कहिलेकाहीँ सक्कली–नक्कली वा चाहिने–नचाहिने पनि हुन्छन्, त्यसलाई एक–एक गरी व्यवस्थापन गर्न हामीलाई चुनौतीपूर्ण भइरहेको छ । यसलाई अब एआईले भेरिफाई गर्नेछ ।’
कोजुका अनुसार कोषमा जम्मा १० देखि १२ जना मात्र मेडिकल कर्मचारी रहेकाले एक जनाले दिनमा लगभग ३ सय वटाभन्दा धेरै ‘क्लेम’ हेर्नुपर्ने भार छ । यसै चुनौतीलाई सम्बोधन गर्दै एआईले बिमा दाबीहरूको रिभ्यु (परीक्षण) गर्न सहज बनाउने उनले जनाए । एआईले सुरुमा ‘क्लेम’ हरू जाँच गरी सुझाव प्रदान गर्ने र त्यसपछि मेडिकल टिम (चिकित्सक, पारामेडिक्स) ले त्यसलाई हेरेर प्रक्रिया अघि बढाउने कोजुले बताए ।
एआईको दोस्रो प्रयोगचाहिँ कोषको कल सेन्टर व्यवस्थापनमा गर्न लागिएको छ । सामाजिक सुरक्षाको प्रचार बढ्दै जाँदा मानिसहरूको जिज्ञासा पनि बढेको र कल सेन्टरमा धेरै फोन आउने कोषका कर्मचारी बताउँछन् । यसले गर्दा फोन व्यस्त हुने र प्रतिक्रिया नपाउने समस्या छ । यही समस्या समाधानका लागि निश्चित प्रश्नहरूको उत्तर एआईले नै दिने गरी प्रविधि इन्टिग्रेट गर्ने तयारी भइरहेको छ । प्रश्नहरू एआईको ‘पुल’ (निश्चित प्रश्नहरूको दायरा) भित्र परे मेसिनले नै जवाफ दिनेछ । एआईले नजानेका विषयमा भने कर्मचारीले जवाफ दिने गरी प्रविधि निर्माण गरिँदै छ ।
कर्जा प्रवाह, रकम भुक्तानीलगायत प्रक्रियालाई सहज बनाउन ‘बट’ प्रयोग भइरहेको कोजुले जानकारी दिए । यी प्रक्रियाहरूमा प्रमाणीकरण वा ‘युजर भेरिफिकेसन’ का लागि एआईले सहजता ल्याएको उनले बताए । कोषले हाल आफ्नो कोर बिजनेस सिस्टम ‘सोसिम’ मा नयाँ प्रविधिले काम गर्छ कि गर्दैन भनेर परीक्षण वा ‘प्रुफ अफ कन्सेप्ट’ मा गरिरहेको छ । ‘ओपन इमिस’ प्रणालीमा पनि एआई प्रयोग गर्ने तयारी रहेको कोषको दाबी छ । सम्पूर्ण प्रणाली नेपालकै आईटी कम्पनी र नेपाली आईटी जनशक्तिले तयार गरिरहेको उनले बताए । यसका लागि कोषले कतिपय काम ‘आउटसोर्सिङ’ मार्फत गर्दै आएको छ ।
‘हामीले तीन वटा क्षेत्रमा एआई प्रयोग गर्न खोजिरहेका छौं, एउटा बिमा दाबी व्यवस्थापन, दोस्रो कल सेन्टर र तेस्रोचाहिँ नन–मेडिकल प्रयोजनका सेवामा युजर भेरिफिकेसनका लागि बट प्रयो गरिरहेका छौं,’ कोजुले भने, ‘सरकारी तहमा एआई प्रयोग गर्ने सन्दर्भमा हामी अग्रणी नै छौं ।’ कोषले चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म एआई प्रणालीमा थप काम गर्ने र कैयौं योजनाहरूलाई मूर्त रूप दिने गरी प्रक्रिया अघि बढाएको कोजुको भनाइ छ ।
चालु आवको बजेटमा सरकारले डिजिटल रूपान्तरण र एआई प्रविधिको विकासमा जोड दिने उल्लेख छ । एआई र मेसिन लर्निङको अनुसन्धान, प्रयोग र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्नुका साथै एआईको व्यावसायिक प्रयोगलाई प्रवर्द्धन गर्न सहजीकरण गरिने भनिएको छ ।
बजेटले सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम प्रविधिहरूको खोज, अनुसन्धान, विकास र नवप्रवर्तनमा जोड दिने लक्ष्य राखेको छ । तथापि एआईजस्ता नवीन प्रविधिको कार्यान्वयनमा नीतिगत र संरचनागत अवरोधहरू मुख्य चुनौतीका रूपमा रहने सामाजिक सुरक्षा कोषका अधिकारीहरूको अनुभव छ ।
‘कोषले सञ्चालन गर्ने अस्पतालको सेवा र वैदेशिक रोजगारीको सेवा एकदमै क्रिटिकल सेवा हुन्,’ कोजुले भने, ‘प्रणाली डाउन भयो र सेवा दिन सकिएन भने मान्छेको ज्यान नै जान सक्छ । त्यसैले प्रणालीलाई चौबीसै घण्टा सञ्चालनमा राखिराख्नुपर्छ । तर, हामीले नेपाली नागरिकसँग जोडिएका डेटा क्लाउडमा राख्न नमिल्ने वा स्थानीयस्तरमै राख्नुपर्ने नीति भएकाले केही गरी सिस्टम डाउन भए हाम्रो सेवा अवरुद्ध हुने जोखिम छ ।
डेटा सेन्टर डाउन हुँदा सेवाग्राहीहरूले सेवा नपाउने र उनीहरूको आक्रोश भोग्नुपर्ने अवस्था आउँछ ।’ खरिद प्रक्रियामा लाग्ने लामो समयावधि पनि अर्को चुनौती भएको कोजु बताउँछन् ।
